शनिबार, साउन ३०, २०८३

मनसुन केही दिनमै भित्रिँदै

 |  आइतबार, जेठ २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २८, २०८०

पछिल्लो डेढ साता मुलुकका धेरै स्थानमा अधिकतम तापक्रमले नयाँ कीर्तिमान राख्दा बढेको अत्यधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको छ। गर्मीका कारण तराई–मधेशमा कृषिदेखि आम मानिसको जनजीवन अस्तव्यस्त हुँदा संसद्‍देखि सामाजिक सञ्जालसम्म विभिन्न प्रतिक्रिया र आवाज उठेका छन्। सबैको एउटै जिज्ञासा छ- गर्मी कहिलेदेखि कम हुन्छ।

माैसमविद्‍का अनुसार अब केही दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्दैछ। नेपालमा मनसुन भित्रिने समय (जेठ ३०) नजिक पुग्दा त्यसका लागि अनुकूल वातावरण बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो ३० वर्षको मौसमी विश्लेषणअनुसार नेपालमा मनसुन भित्रिने समय जेठ ३० गते र बाहिरिने समय असोज १५ गते रहेको देखिन्छ।

यस वर्षको मनसुन भित्रिने पूर्वसन्ध्यामा पश्चिमी वायुका साथै बंगालको खाडीको जलवाष्पयुक्त हावा र विहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको देखिएको छ। यसले निर्धारित समयकै आसपास नेपालमा मनसुन भित्रिन्छ भन्ने सम्भावना बढेको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए।

उनले भने, 'शनिबारदेखि नै कोशी प्रदेशमा तापक्रम घटिरहेको छ, बादल बनिरहेको छ र मनसुनका लागि आवश्यक अनुकूल वातावरण बन्दै गएको अवस्था देखिन्छ।' आज कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

साथै कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशभर वृद्धि भएको अधिकतम तापक्रम आजदेखि कम हुँदै जाने र पश्चिम तराई क्षेत्रमा बढेको तापक्रम केही दिन स्थिर रहने महाशाखाको भनाइ छ।

प्रकाशित: Jun 11, 2023| 12:49 आइतबार, जेठ २८, २०८०
प्रतिक्रिया दिनुहोस्