काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ भने फरक फरक स्थानमा चारजना मृत भेटिएका छन्।
प्रहरीका अनुसार महोत्तरी, बर्दिबास नगरपालिका-२ बुद्ध चोकस्थित सडकमा ज.४ प २३५१ नम्बरको मोटरसाइकल ज.१ त १७४३ नम्बरको ट्याक्टरमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक औरही नगरपालिका-२ बस्ने ६० वर्षीय ताहिर अंसारीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाईते भएका उनको बर्दिबासस्थित सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।
तनहुँ, आबुखैरेनी गाउँपालिका-५ रसौलीस्थित सडकमा ग.३ क ३९७४ नम्बरको स्काईभेटर सडकदेखि करिब १५ सय मिटर तल खोचमा खसेर शनिबार दिउँसो दुर्घटना हुँदा स्काइभेटरका सहचालक सल्यान बस्ने २५ वर्षीय खेमराज चलाउनेको घटनास्थलमै मृत्यु भएको छ। हाल फरार स्काईभेटर चालकको प्रहरीले खोजी गरिरहेको छ।
मोरङ, बेलबारी नगरपालिका-३ स्थित वन कार्यालय नजिक सडकमा ना.४ ख ६१३८ नम्बरको टयाङ्करको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेको अन्दाजी ३५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कालीकोट, शुभकालिका गाउँपालिका-६ चिसापानीस्थित बेहुली पान्तडी सडकमा लु.१ च ८४९८ नम्बरको जिप सडकबाट करिब १ सय ५० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-२ भर्ता बस्ने ३० वर्षीय हर्के कामी सहित ३ जनाको मृत्यु भएको छ।
रुपन्देही, तिलोत्तमा नगरपालिका-३ शान्तिकुन्जस्थित सडकमा बा. २० च १४३८ नम्बरको स्कारपियो अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा चालक अर्घाखाँची छत्रदेव गाउँपालिका- ८ बस्ने ३२ वर्षीय विकास श्रेष्ठको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराह हस्पिटल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो।
धादिङ, धुनिवेशी नगरपालिका-९ सिक्रखोलास्थित सडकमा बा.५४ प ३२११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक धुनिवेशी नगरपालिका-९ खत्रीपौवा बस्ने ३५ वर्षीय ज्ञान बहादुर लामाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि शिक्षण अस्पताल काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
करेन्ट लागेर मृत्यु
नुवाकोट, तादी गाउँपालिका-४ सातबिसेबजार बस्ने २१ वर्षीय सुमन तामाङको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ। सोही ठाउँस्थित निर्माण हुँदै गरेको शिब मन्दिरमा बिजुली बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानीय दुप्चेश्वर नेपाल अस्पताल सातबिसेमा उपचारको क्रममा मृत्यु भएको हो। करेन्ट लागेर घाइते भएका एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
मृत फेला
दाङ, तुलसीपुर उपमहानगरपालिका-६ गोठली बस्ने ८२ वर्षीय मित्रलाल उपाध्याय आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन्।
रुपन्देही, बुटवल उपमहानगरपालिका-८ शुक्रपथस्थित घरको पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्।
पर्वत, बिहादी गाउँपालिका-६ दलबिरेस्थित सेतिखोलामा हाल नाम, थर, वतन, उमेर नखुलेका पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्।
गोरखा, सिरानचोक गाउँपालिका-६ स्थित दरौदी खोलाको किनारमा गोरखा सिरानचोक गाउँपालिका-६ चिलाउने गाउँ बस्ने ६६ वर्षीय पुर्ण बहादुर पुलामी शनिबार मृत अवस्थामा परेका छन्।
डुबेर मृत्यु
दैलेख, डुङगेश्वर गाउँपालिका-१ खाडा बस्ने बल बहादुर खड्काको छोरा ९ वर्षीय गणेश बहादुर खड्काको सोही ठाउँस्थित लोहोरे खोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ।
सुर्खेत, गुर्भाकोट नगरपालिका-३ स्थित भेरी नदिको किनारमा रहेको धारापानी रह तालमा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने थल बहादुर बुढामगरको छोरा १४ वर्षीय कबि बुढामगरको शनिबार दिउँसो मृत्यु भएको छ।
काभ्रे, भुम्लु गाउँपालिका-९ बस्ने ज्याम्दी सुर्ता लामाको छोरा ११ वर्षीय सिम्पल लामाको आफ्नै घर नजिकै रहेको चाखोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ। पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएकोहो।