काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका सांसद दीपक गिरीले मन्त्रीका गृहजिल्लामा बजेट खन्याइएको भन्दै सांसदहरु भने वडाध्यक्षजस्तो भएको टिप्पणी गरेका छन्।
उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उदाहरण लिँदै उनको जिल्लामा २२-२५ करोड बजेट पारिएको बताए। सत्तापक्षीय सांसद भएकाले विरोध गर्न नहुने तथा अनुशासनमा रहनुपर्ने कुरामा जानकार रहेको उल्लेख गर्दै उनले भने , ‘म सत्तापक्षीय सांसद हुँ। संसदीय मर्यादाका विषयमा जानकारी छ तर म लोकतन्त्रका लागि लडेको हुँ। यसैका लागि लडेको हुँ।’
जनताले साना-ठूला समस्याका लागि सांसदहरुलाई सम्झिने गरेको तर अधिकार कटौती हुँदै गएकोप्रति उनको आक्रोश थियो। राति १२ बजेसमेत फोनबाट गाली खाने आफू जनप्रतिनिधि रहेको बताउँदै उनले व्यंग्य गरे, ‘धन्यवाद बालेनजी, हामी झोलेलाई वडाध्यक्ष बनाइदिनुभयो। राति १२ बजे जलपान खाएको मान्छेको फोन आउँछ। अब त चिन्न छाड्नुभयो होला भन्छ। आफू पनि जलपान गरेको बेला भए झगडा पर्छ होला!’
जनप्रतिनिधिको काम कानुन बनाउने रहेको विषयमा जनता जानकार नभएसम्म आफूहरु त्यतिमै केन्द्रित हुन मात्रै नसकिने उनको भनाइ छ।