शनिबार, साउन ३०, २०८३

बुहारीको हत्या आरोपमा कैलालीमा सासू-ससुरा पक्राउ

 |  आइतबार, जेठ २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २८, २०८०

कैलालीमा बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन जना पक्राउ परेका छन्। गौरीगंगा नगरपालिका–२ की कविता बुढाको हत्या आरोपमा उनीहरु जना पक्राउ परेका हुन्।

कविताको शव सामुदायिक वनमा खाल्डो खनेर पुरेको अवस्थामा फेला परेको थियो। घटनाको अनुसन्धानका क्रममा प्रहरीले कविताका ससुरा ५२ वर्षीय डिल्लीसिंह बुढा, उनकी श्रीमती ५० वर्षीया लहरी बुढा र ज्वाइँ नाता पर्ने भजनी नगरपालिका–४ का ४१ वर्षीय जयवीर बुढालाई पक्राउ गरेको हो। घटनाका मुख्य अभियुक्त डिल्लीसिंह बुढालाई नेपालभारत सीमावर्ती इलाकामा फेला पारिएको थियो।

डिल्लीसिंह र उनकी श्रीमतीले घरायसी विवादमा बुहारी कविताको हत्या गरेर शव जंगलमा गाडेको र ज्वाइँ नाता पर्ने जयवीरले उनीहरूलाई सहयोग गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले बताएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा १८ जेठमा पारिवारिक विवादका क्रममा ससुरा डिल्लीसिंहले भान्सा कोठामा रोटी पकाइरहेकी कवितालाई चिर्पटले हानेर हत्या गरेको देखिएको प्रहरीको भनाइ छ।

कविताको शव घरभन्दा करिब तीन किलोमिटर टाढा पर्ने गौरीगंगा नगरपालिका–१ को केदारेश्वर सामुदायिक वनमा फेला परेको थियो। शव गाडिसकेपछि उनीहरूले बुहारी हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए। त्यसपछि उनीहरू फरार भएको प्रहरीको भनाइ छ ।

मृतक कविता बुढाका श्रीमान् अर्जुन कान्छी श्रीमती साथमा लिई भारतको बैंगलोरमा बस्दै आएका छन्। घटनापूर्व पनि घरायसी झगडाका विषयमा इलाका प्रहरी कार्यालय चौमालामा गई मेलमिलाप गराइएको थियो।
 

 

प्रकाशित: Jun 11, 2023| 10:56 आइतबार, जेठ २८, २०८०
प्रतिक्रिया दिनुहोस्