काठमाडौं- राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना शनिबार राति चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने भएका छन्।
तिब्बतको ल्हासामा आयोजना हुने पाँचौ चाईना तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोमा सहभागी हुन ९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष तिमिल्सिना शनिबार राति चीन प्रस्थान गर्न लागेका हुन्।
अध्यक्ष तिमिल्सिना नेतृत्वको नेपाली प्रतिनिधिमण्डल शनिबार राति १२.०५ बजेको चाइना साउर्थन एयरलाइन्सको उडानबाट ग्वाञ्झाओ हुँदै बेइजिङतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जानकारी गराएको छ।
तिब्बतमा जुन १६ र १७ मा आयोजना हुने एक्स्पोलाई अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ। उक्त प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्यहरु जीवन परियार, धवल शमशेर जंबरा, प्रदिप यादव तथा राष्ट्रिय सभाका सदस्यहरु उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरी एबम अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र संघीय संसद सचिवालयका उपसचिव रामहरि थापा सहभागी हुने सचिवालयका सहसचिवसमेत रहेका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
भ्रमणका क्रममा बेइजिङमा अध्यक्ष तिमिल्सिनाले बेइजिङमा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समिति(स्टाण्डीङ कमिटी अफ द नेशनल पिपुल्स कंग्रेस) का अध्यक्ष चाओ लिजी, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन(चाईनिज पिपुल्स पोलिटिकल कन्सुल्टेटिभ कन्फरेन्स) का अध्यक्ष वाङ हुनिङ संग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ।
भ्रमणको क्रममा प्रतिनिधिमण्डलले बेइजिङमा बाइडु ग्रुप, स्टेट ग्रिड कर्पोरेसन, संघाईमा साईयाक भोल्क्स्वाजेन न्यु इनर्जी उद्योग, सांघाई योजना प्रर्दशनी केन्द्र लगायतका स्थलहरुको अवलोकन भ्रमण गर्ने छन्। औपचारिक भ्रमण सम्पन्न गरी अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डल २१ जुन २०२३ मा नेपाल आइपुग्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता गिरीले जानकारी गराएका छन्।