काठमाडौं– २६ जेठसम्म प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा २९ वटा उजुरी परेका छन्। कार्कीविरुद्ध उजुरी दिने अन्तिम समय शुक्रबारसम्म रहेको सुनुवाइ समितिको सचिवालयले बताएको छ।
सचिवालयका अनुसार ५ वटा इमेलबाट र बाँकी व्यक्तिले आफैं उपस्थित भएर समितिमा उजुरी दिएका छन्। यीमध्ये ६ जना कानुन व्यवसायी छन्।बहालवाला न्यायाधीश श्रीकृष्ण भट्टराई, अधिवक्ता यादव कोइराला, ध्रुवबहादुर श्रेष्ठ, अभियन्ता रतन भण्डारीलगायतले प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिएका छन्।
सेवानिवृत्तपछि पूर्वप्रधानन्यायाधीशलाई राज्यबाट पाउने करोडौंको गाडी, पेन्सन, सुरक्षाकर्मीजस्ता सुविधाको लोभले कार्कीले पदका लागि लोभ देखाएको आरोप लगाइएको छ। अधिकांश उजुरीमा कार्कीलाई दल निकट रहेको आरोप लगाइएको छ। कार्की प्रधानन्यायाधीशमा असारमा नियुक्त भए पनि साउनमा कार्यकाल सकिने भएकाले रोक्नुपर्ने भनेर कतिपयले निवेदन हालेका छन्।
कार्कीलाई १५ वैशाख २०८० मा बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। संवैधानिक परिषद्ले सुनुवाइका लागि २७ वैशाखमा संसद् सचिवालयमा पठाएको थियो। कार्कीविरुद्ध परेका उजुरी छिनोफानो गर्न आगामी आइतबार सुनुवाइ समिति बैठक बोलाउने तयारी छ।
संसदीय सुनुवाइ सकिएपछि मात्र नियुक्तिका लागि बाटो खुल्छ। संसदीय सुनुवाइ समितिले अनुमोदन गरे कार्की प्रधानन्यायाधीश बन्नेछन्। विगत १५ महिनादेखि कामु प्रधानन्यायाधीशको जिम्मा सम्हालिरहेका कार्की ६५ वर्षे उमेरहदका कारण आगामी २० साउनमा अवकाशमा जाँदै छन्।