सोमबार, वैशाख २८, २०८३

पार्टी जनतासँग टाढिएकोमा शेखरको चिन्ता

 |  शुक्रबार, जेठ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी जनतासँग टाढिएको स्वीकार गर्दै चिन्ता व्यक्त गरेका छन्। जनतासँग जोडिने कार्यक्रम ल्याउनु अहिलेको पहिलो आवश्यकता रहेको उल्लेख गर्दै उनले जनतासँग टाढिँदै जानु दुःखद् भएको बताए।

National life

डेमोक्रेटिक लयर्स एसोसिएसनको एघारौं महाधिवेशन उद्घाटन सत्रमा उनले राजनीतिकर्मीलाई आम नागरिकको कठघरामा उभिएर आफ्नो औचित्य प्रमाणित गर्न हम्मे हम्मे परेको बताए। उनले भने, ‘जनतालाई सही ढंगले जोड्न सकेनौं भने हामीले हाम्रो औचित्य गुमाउँदै जानेछौं।’

कांग्रेस सभापति शेरबहादुर देउवासमेत सहभागी कार्यक्रममा कोइरालाले थपे, ‘किन र के कारणले यस्तो अवस्था आयो? म चाहन्छु एकपटक हामी सबै राजनीतिकर्मीले आत्मसमीक्षा र चिन्तन गर्नुपर्ने भएको छ।’ पार्टी नेताहरु सुध्रिन तयार रहेको र पार्टी सुधार्ने प्रतिबद्धता कोइरालाले गरे।

संवैधानिक निकायहरुको क्षयीकरण भएको भन्दै उनले चिन्ता व्यक्त गरे। विभिन्न बहानामा लोकतान्त्रिक संस्थाहरु र संवैधानिक निकायहरुलाई कमजोर बनाएको उनले बताए। राजनीतिक संकट तथा निरंकुशताका समयमा खरो उत्रिएको कांग्रेस बेला बेलामा चुकेको उनले बताए। ‘कहिलेकाहीँ चुकेका पनि छौं। व्यवहारिक राजनीतिका नाममा कतिपय विषयमा आँखा चिम्लेका छौं,’ कोइरालाले भने।

गणतन्त्र दिवसको दिनमा आममाफी दिने निर्णयप्रति कोइरालाले असन्तुष्टि व्यक्त गरे। ‘न्यायालयबाट सजाय तोकेका एकजना राजनीतिकर्मी मात्र होइन, झण्डै दुई दर्जनले राष्ट्रपतिबाट आममाफी पाए।’ फरक प्रसंगमा उनले निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयको एउटा कोठामा थन्क्याउने कार्य भएको भन्दै सरकारले बजेटमा गरेको निर्णयमा आपत्ति जनाए।

प्रकाशित: Jun 09, 2023| 17:44 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्