ज्यू,
काम गरेको मात्र थाहा छ
दुःख पाएको मात्र थाहा छ
फाटेको चोलो र जडाउरी गुनिउँ
लगाएको मात्र थाहा छ
जोवन सोध्नुभएको ?
त्यो त हजुर आएको, गएकै थाहा छैन।
खै, जान्ने सुन्नेले भनेको
मेरो जोवन त जिम्मुवालको ऊ त्यो
गहुँबारीमा सप्रिसक्यो रे
उसैको करेसाबारीको सयपत्रीमा फुलिसक्यो रे
खै, कुन्नि कस्तो अनौठो
मेरो आँखा र ओठमा नफुलेर मेरो जोवन
अर्काको सम्पत्तिमा फुल्ने रे
के भन्नुभयो, निकै हिस्सी परेकी छु रे
ज्यू, त्यो दहको पानीमा हेर्दा
त्यस्तै त्यस्तै लागेको थियो
तर के भरपर्दो हुन्छ र
पानीमुनिको छाया।
ढाँटेकी भए हजुरको मासु खाने
मेरी बास्सै
लोग्नेलाई त मैले जग्गेमा मात्र देखेकी
टोपीमा लालुपातेको फूल घुसारेर
निधारमा तीनवटा सितारा टाँसेर
गालामा अलि अलि लाली घसेर
आएको मेरो अधबैंसे दुल्हा
आरन जस्तै अँध्यारो र
खलाँती जस्तै धुस्त्रो थियो
ए, हाँस्नुभएको हजुर त
यसको गोडा पखालेको पानी खानू साँझ बिहान
यो तेरो देउता हो भनी
बूढी बज्यैले भन्दा
घुम्टोभित्र म रोएकी
खै, कसरी देखाउँ
गालामा आँसुको डोब बस्दैन हजुर
पहरामा खहरेको डोब बसेजस्तो।
ज्यू, माइत त सात खोला सात डाँडा उता छ
मैले बालखकालमा देखेकी सपना जस्तै
मेरो मुटुभित्रै भएर पनि कति कति टाढा।
जै–जन्म सोध्नुभएको ?
ज्यू इनै दुई छोरा
च्याँसे र पुन्टे, डेढ वर्षको फरक छ
ढाँटेको भए यो आगो हातैमा छ हजुर।
यो च्याँसे
मुखियाको घर बनाउने ढुंगा बोक्दा–बोक्दै पाएकी
नाम्लो त थाप्लोमै थियो गाँठे
फरियामा पोको पारेर ल्याएँ
छाप्रोमा साल–नाल काटेँ
फेरि मुखियाको धान गोड्दा गोड्दै हिलोमै जन्मियो यो पुन्टे
हिलोमा जन्मिनेहरुलाई
कहाँ लेखेको हुँदोरहेछ र सिमलको भुवा
ज्यू, हुर्काउँदैछु हजूर हुर्काउँदैछु
नाङ्गै–भुतुङ्गै
जनावरहरु जस्तै
कुकुर र सुँगुरका बच्चाहरु जस्तै।