सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • 'अखण्ड भारत'को नक्साबारे दिल्लीको भनाइमा सांसदले गरे सरकारलाई प्रश्न

'अखण्ड भारत'को नक्साबारे दिल्लीको भनाइमा सांसदले गरे सरकारलाई प्रश्न

 |  शुक्रबार, जेठ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले 'अखण्ड भारत'को नक्साको विषयमा पछिल्लो समय भारतीय पक्षबाट आएको स्पष्टीकरणमा नेपाल सरकारको धारणा माग गरेका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको धारणा र भारतीय पक्षको भनाइ कुन सही हो भन्दै प्रस्ट पार्न माग गरेका हुन्।

National life

सांसद रघुजी पन्तले नेपालले धेरै चाँडो चित्त बुझाउने गरेको भन्दै 'अखण्ड भारत"को विषयमा दिल्लीको भनाइमा चित्त बुझाएको हो भन्दै प्रश्न गरे। उनले भने, 'नेपालीको चित्त धेरै चाँडो बुझ्छ, अखण्ड भारतको नक्साको विषयमा नेपालले चित्त बुझाएको हो? भारतले सांस्कृतिक भनेर राख्ने हो र नेपालले पनि टिस्टा नदीदेखि सतलजसम्म पुगेको भूभागलाई संसद् भवनमा टाँग्ने हो भने त्यसको के हुन्छ ?'

त्यसैगरी सांसद महेश बस्नेतले भारतको नयाँ संसद् भवनमा राखिएको 'अखण्ड भारत'को नक्साको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय पक्षबाट फरक-फरक धारणा आएको भन्दै प्रस्ट पार्न माग गरेका छन्।

सांसद बस्नेतले भारतीय विदेश मन्त्रालयका प्रवक्ताले प्रधानमन्त्री दाहालको भारत भ्रमणको क्रममा त्यस विषयमा कुरा नभएको जानकारी गराएको र प्रधानमन्त्री दाहालले संसद्‍मा सबै विषयमा कुरा भएको जानकारी गराएकाले कुरा बाझिएको बताएका हुन्।

उनले भने, 'भारतका विदेशमन्त्री एस जयशंकरले नेपालले कुरा बुझिसक्यो अब विवाद हुँदैन भनेर भन्नु भएको छ। मित्रदेशहरू नेपाल र बंगलादेशले अब विवाद गर्ने छैनन् भन्नु भएको छ। कुन सत्य हो कि हाम्रो प्रधानमन्त्रीज्यूले भन्नु भएको कुरा सत्य हो। यसमा प्रस्ट पार्न जरुरी छ। हामीले कुरा बुझिसकेको हो कि होइन?'

 

प्रकाशित: Jun 09, 2023| 13:11 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्