सोमबार, वैशाख २८, २०८३

बजेट पारित हुन नदिइने माधव नेपालको चेतावनी

प्रचण्ड, देउवा, महतहरुले भौतिक पूर्वाधारको बजेट आफ्ना गृहजिल्लामा मात्रै लगेको नेता नेपालको आरोप।
 |  शुक्रबार, जेठ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

काठमाडौं– सत्तारुढ नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरु सत्तापक्षकै भए पनि आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रतिनिधिसभाबाट पारित हुन नदिइने उद्घोष गरेका छन्।

National life

आज काठमाडौंमा आयोजित नेकपा एस निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै नेता नेपालले नाम नलिईकनै बजेट नेतामुखी भएकाले पारित हुन नदिइने दाबी गरेका हुन्।

बिहीबार मात्रै नेता नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गृहनगर चितवन, कांग्रेस सभापति देउवाको गृहजिल्ला डडेल्धुरा र अर्थमन्त्री डा. प्रकाशरण शरण महतको गृहजिल्ला नुवाकोटमा धेरै बजेट छरिएको आरोप लगाएका थिए। नेता नेपालले डाडुपन्यू हातमा लिएकाहरुले बजेटलाई दुरुपयोग गरेकोसमेत आरोप लगाएका थिए।  

नेता नेपालले भने, ‘यही अवस्थामा सदनबाट बजेट पास हुँदैन। हामी प्रतिपक्षको सांसद नभए पनि बजेट पारित हुन दिँदैनौं। बजेट वितरणमा बदमासी गरिएको छ। यसो गर्न पाइँदैन।’

शीर्ष नेता र अर्थमन्त्रीको जिल्लामा भौतिक पूर्वाधारको धेरै बजेट छुट्याइएनु पक्षपातपूर्ण भएको उनको दाबी छ। सरकार छाड्नुपरे पनि अन्यायविरुद्ध लडिरहने नेता नेपालले बताए। 

राजनीति विकृत हुनुको कारण भ्रष्टाचारले काम गरेको र त्यसलाई राजनीतिक नेतृत्वबाटै मलजल हुँदै आएको नेता नेपालले सुनाए। उनले भने, ‘बिनापैसाको कुनै काम नहुने, पैसामा लोभिने, जनतालाई पीडा दिने र शोसक सामन्त, जाली फटाहा हावी हुने, इमानदार र असल पाखा पर्नुपर्ने स्थिति छ। सत्तामा भए पनि नभए पनि अन्यायविरुद्ध आवाज उठाउनुपर्छ।’

भुटानी शरणार्थी प्रकरण, मिटरब्याजी, ठूलाठूला भ्रष्टाचारमा मुछिएकालाई कारबाही नगर्दा नेपाली जनता पीडित हुनुपरेको उनले औंल्याए।

प्रकाशित: Jun 09, 2023| 12:52 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्