आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाली संस्कृति संरक्षणका लागि विद्यार्थीलाई अनिवार्य नेपाली टोपी

नेपाली संस्कृति संरक्षणका लागि विद्यार्थीलाई अनिवार्य नेपाली टोपी

 |  बिहीबार, जेठ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

National life
kumari

काठमाडौं- गोपाल योञ्जनको यो गीतले भनेझै ढाका टोपी पहिरिएपछि गर्वको अनुभूति हुन्छ। टोपी सौन्दर्यको साधनमात्र होइन राष्ट्रको पहिचान पनि भएकाले गौरवको महसुस हुने गरेको छ। सङ्खुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका–१ मा रहेको हिमालय माध्यमिक विद्यालयमा नेपाली टोपी अनिवार्य गरेको छ। 
राष्ट्रियताप्रतिको सम्मान र नेपाली संस्कृति संरक्षणका लागि हिमालय माध्यमिक विद्यालयमा छात्रका लागि नेपाली टोपी अनिवार्य गरेको  हो। विद्यालयले नेपाली टोपी अनिर्वाय गरेपछि हिमालय माविका छात्र शिरमा नेपाली ढाकाटोपी सजाएर आउन थालेका छन्। 
नयाँ शैक्षिकसत्रको सुरुबाटै छात्रलाई विद्यालय पोशाकमा नेपाली टोपी र छात्रालाई दुईचुल्ठी बाट्ने र कक्षागत रिबन लगाउन अनिर्वाय गरेको हिमालय माविका सूचना अधिकारी भरत कुलुङले जानकारी दिए। नेपाली पहिचान र गौरवसँग जोडिएको नेपाली टोपी सबै विद्यार्थीलाई अनिवार्य गरिएको सूचना अधिकारी कुलुङले बताए। 
सुरुआतमा ७० प्रतिशत विद्यार्थीले नेपाली टोपी लगाएर आउन थालेको उनको भनाइ छ। आर्थिक अवस्था कमजोर र नेपाली टोपी खरिद गर्न नसक्ने विद्यार्थीले लिखित निवेदनका आधारमा विद्यालयले खरिद गरेर उपलब्ध गराउने सूचना अधिकारी कुलुङले बताए।
नेपाली टोपी नलगाउने छात्र र दुईचुल्ठी कपाल नबाट्ने छात्रालाई हुने अतिरिक्त क्रियाकलापमा भाग लिन पाउँदैनन्। आधुनिकता भित्रिएसँगै विद्यार्थी आधुनिक पोशाक नै लगाउन खोज्छन्, टाइसुटमा नसजिइकनै विद्यार्थी स्कुल जानसमेत मान्दैनन्। तर पछिल्लो समय हिमालय माविका विद्यार्थी ढाका टोपीमा विद्यालय आउँछन्। विद्यालयका करिब एक हजार चार सय ५४ विद्यार्थीले नेपाली टोपी र दुईचुल्ठी कपाल बाटेर  विद्यालय प्रवेश गर्छन्।
ढाकाटोपी नेपालीको पहिचान हो। एक दशकदेखि नेपालमा टोपी दिवससमेत मनाउन थालिएको छ। टोपीले विश्व समुदायमाझ नेपालीको चिनारी बोक्ने भएकाले यसको महत्व छ। हुन त जातीय राजनीति गर्ने दलले अहिले पहिचानका धेरै बहस बाहिर ल्याएका छन्, तर नेपाली टोपीले तराईका यादव समुदायदेखि हिमालका भोटे समुदायको प्रतिनिधित्व गर्छ भन्ने कुराको हेक्का राखिएको छैन। क्षेत्री, बाहुन, नेवार, तामाङ, राई, लिम्बू, यादव सबैले लगाउने भएकाले यो टोपी बहुजातीय पहिरन बनेको छ, तर युवा भने नेपाली टोपीलाई दिवसका दिनमा मात्रै पहिरिने गरेका छन्।

प्रकाशित: Jun 08, 2023| 19:15 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्