काठमाडौं- भारतले आफ्नो नयाँ संसद् भवनमा राखेको 'अखण्ड भारत'को मुरल नेपालले स्वीकार गरिसकेको निष्कर्ष निकालेको छ।
भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीको नौ वर्षको उपलब्धि सार्वजनिक गर्ने क्रममा पत्रकारले सोधेको प्रश्नमा 'अखण्ड भारत'को मुरलबारे नेपालले स्वीकार गरिसकेको निष्कर्ष सुनाएका हुन्।
उनले भने, 'अखण्ड भारत' मुरल अशोक साम्राज्यको समयको हो। यसलाई राजनीतिक मुद्दा बनाउनु हुँदैन। हाम्रा मित्र छिमेकीहरूले यो बुझ्नेछन्। मलाई भनिएको छ कि उनीहरूले हाम्रो स्पष्टीकरणको प्रशंसा गरेका छन्।'
उनले नेपालको नाम नलिए पनि छिमेकीले मुरलको प्रशंसा गरेको बताएका हुन्। उनले यस मुरलबारे पाकिस्तानसँग बुझ्ने क्षमता नै नभएको पनि बताएका छन्। उनले भने, 'पाकिस्तानको बारेमा बिर्सौं। म पाकिस्तानले बुझ्छ भनेर आशा गर्दिनँ, किनकि पाकिस्तानसँग बुझ्ने क्षमता नै छैन।'
यसअघि भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले पनि यो अशोक साम्राज्यको समयको फैलिएको भूभाग भएको बताएका थिए। नेपाल सरकारले यसबारे कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन।
यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने यसबारे भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग गम्भीर छलफल भएको बताएका थिए। परराष्ट्रमन्त्री एनपी साउदले पनि आफ्नो भूभागको इन्च पनि कुनै मुलुकले दाबी गर्छ भने त्यसबारे सजग रहेको र वार्ता गर्ने बताएका थिए।
यसअघि भारतले उक्त मुरल सार्वजनिक गरेपछि पाकिस्तानले गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो भने बंगलादेशले स्पष्टिकरण माग गरेको थियो।