काठमाडौं- राजनीतिक दल बूढाहरूको क्लब बनिरहेको आरोप लागेका बेला एमालेभित्र फेरि केपी ओलीलाई आजीवन अध्यक्ष बनाउने गरी विधान निलम्बन गरिएको छ।
हाललाई माधव नेपाल नेतृत्वको नेकपा एसबाट एमाले हाम फालेका मुकुन्द न्यौपानेलाई केन्द्रीय समितिमा ल्याउन एमाले सचिवालयबाट विधान व्यवस्था निलम्बन गरिएको भनिए पनि पुनः अध्यक्ष दिने गरी केन्द्रीय समिति हुँदै महाधिवेशनबाट अनुमोदन गराउन ओलीका विश्वासपात्रले योजना अगाडि बढाएको देखिएको छ।
यसो गरिए ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने बाटो खुला हुनेछ। अहिले एमालेमा रहेको ७० वर्षे उमेरहद व्यवस्था रद्दीको टोकरीमा हुइँक्याइनेछ।
उमेरहद हटाएसँगै एमालेमा बुढ्यौली लागेका कारण आगामी महाधिवेशनबाट ‘बाई बाई’ हुन लागेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापालगायतका नेतालाई पनि पार्टी नेतृत्वमा रहिरहन कसैले छेकबार लगाउने छैन। हाल पोखरेल, शाक्य र ज्ञवाली ७०, नेम्वाङ ७१, थापा ६८ वर्ष पुगेका छन्। ओलीलाई फेरि अध्यक्ष बनाउने गरी भएको यो निर्णयले एमालेमा पुस्तान्तरण पछि धकेलिने निश्चित छ।
एमालेमा अध्यक्ष ओली निकट मानिने उपमहासचिव प्रदीप ज्ञवालीले कार्यकारी पदका लागि उमेरहद व्यवस्था नहटाइसकिएको भने पनि अध्यक्षलाई निरन्तरता दिन यो व्यवस्था गरिएको बुझ्न कठिन छैन। यद्यपि यसलाई ज्ञवाली अस्वीकार्छन्। उनी भन्छन्, ‘हामीले यो प्रावधान हटाउने प्रस्ताव गरेका हौं, हटेसकेको छैन। लामो समय एमालेमा रहेर बाहिरिएकालाई पुनः पार्टीमा भित्र्याउन उमेरहदलाई हटाउन चाहेको हो। उमेर र विधानको प्रावधानका कारण पार्टीमा सक्रिय रूपमा काम गर्न सम्भव नदेखिएपछि बाहिरिएका साथीहरूलाई तत्काल समेट्न उमेरहदको प्रावधान हटाउने प्रस्ताव गरेका हौं।’
एमालेमा उपाध्यक्षद्वय विष्णु पौडेल ६४ र सुरेन्द्र पाण्डे ६३ तथा महासचिव शंकर पोखरेल ६१ लाई भावी अध्यक्षका रूपमा हेरिएको थियो। पुनः अध्यक्ष हुने गरी विधान निलम्बन गरिएकाले ओलीले तेस्रो कार्यकालको जिम्मेवारीमा रहेर एमाले कब्जा गर्न सहज बनाइँदै छ।
ज्ञवालीले भनेझैं उमेरहदको प्रावधान हटाइएपछि ओलीलाई पुनः अध्यक्ष बन्न बाटो खुल्नेछ भने ७४ वर्षमा हिँडेका वामदेवहरू पुनः एमालेमै फर्किने संकेत देखिएको छ।
पार्टी संगठनभित्र ओलीराजलाई निरन्तरता दिन उमेरहद प्रावधान निलम्बन गरिएपछि एमाले बूढाखाडाहरूको क्लब बन्ने निश्चित। पार्टी पुस्तान्तरणमा अवरोध।
१९ जेठमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले उमेरहद प्रावधानलाई लात हानेपछि नेकपा एसबाट एमाले भित्रिएका ७३ वर्षीय मुकुन्द न्यौपाने केन्द्रीय सदस्य मनोनीत भइसकेका छन्। एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष वामदेवसहित उनको समूह र नेकपा एसका थप नेताहरू मूलघर पार्टी संगठनभित्र जिम्मेवारी पाउनेछन्। एमालेमा एघारौं महाधिवेशनले उमेरहदलाई स्वीकारेका बेला फेरि पार्टी कब्जाका लागि प्रणाली खलबलाइएको हो।
राष्ट्रिय सभाका सांसदसमेत रहेका पूर्वउपप्रधानमन्त्री वामदेवले ७० वर्षे उमेरहदको व्यवस्था खारेज भएसँगै एमाले प्रवेश गर्ने बताइसकेका छन्। बुधबार अपराह्न संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले एमालेमा फर्कन तयार भएको बताएका हुन्। त्यसका लागि अध्यक्ष ओलीले ग्रिन सिग्नल दिनुपर्ने सर्त वामदेवले अगाडि सारेका छन्। वामदेवको सर्तलाई ओलीले स्वीकारिसकेका छन्।
वामदेवले भने, ‘ओलीले तपाईं आउनुप¥यो भन्नुभयो भने म र मसित रहेका जे–जति साथी छन्, त्यहाँ (एमालेमा) एकीकृत हुन जान्छौं। ओलीले आउनुस् भन्नुपर्छ किनभने पार्टी उहाँसँग छ। मसँग पार्टी छैन अहिले।’
ओलीले पनि गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताएर उनलाई भित्र्याउने संकेत गरेका छन्। ‘बाँकी केही छ र थप कुरा? उहाँ (वामदेव) ले एकता अभियान चलाउनुभयो। त्यो अभियान मात्रै हो। पार्टी खोलेको होइन। उहाँको पार्टी सदस्यता एमालेमै छ,’ ओलीले भने।
अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वामदेवले १८ भदौ २०७८ मा एमाले उपाध्यक्षको पदबाट राजीनामा दिएका थिए। २५ पुस २०७७ मा वामदेवले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए। तत्कालीन प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेसँगै सत्तारुढ नेकपा दुई समूहमा विभाजित भएपछि गौतमले दुवैतिर नलागी एकता अभियान चलाएका थिए।
३ चैत २०७७ मा सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता प्रक्रिया भंग गरेपछि गौतमले अभियानको नाम फेरेर एमाले एकता राष्ट्रिय अभियान चलाए पनि सफल भएनन्। तत्कालीन नेकपा विभाजन हुँदा पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ पुरानै नेकपा माओवादी केन्द्रमा क्रियाशील भए। एमाले विभाजन हुँदा माधवकुमार नेपाल र झलनाथ खनाल बाहिरिए। ईश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा बादल ओलीतिर लागे पनि वामदेव कतै खुलेका थिएनन्।
ओलीको जोडबलमै ७० वर्षे प्रावधान निलम्बन गरिएपछि वामदेवले अध्यक्षको गुणगान गाए। उनले भने, ‘मेरो मूल्यांकन के भने यो कार्यकाल सकिएपछि एघारौं महाधिवेशन हुन्छ, १२औं महाधिवेशनसम्म बाँचिरहनुभयो पनि केपी ओली नै हो अध्यक्ष। अर्को व्यक्ति त्यहाँ छैन।’
२०७१ को नवौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित ओली २०७८ मंसिरको दसौं महाधिवेशनबाट फेरि दोहोरिएका हुन््। १५ वर्षदेखि कार्यान्वयनमा रहेको उमेरहद व्यवस्था उल्टाइएपछि एमालेमा नेतृत्व विकास र पुस्तान्तरणमा धक्का लाग्नेछ।
एमालेले २०६५ मा बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट नेतृत्वको विकास र अवकाशलाई स्वस्थ र मर्यादित बनाउन उमेरहदसम्बन्धी व्यवस्था विधानमै उल्लेख गरेर कार्यान्वयनमा ल्याएको थियो। २०७५ मा पार्टी एकताका क्रममा पनि एमाले विधानमा रहेको ७० वर्षे उमेरसम्बन्धी व्यवस्था वामदेवकै जोडबलमा हटाइएको थियो। तर एमालेले दसौं महाधिवेशन निकट रहेकै बेला आयोजना गरेको विधान महाधिवेशनबाट पुरानै व्यवस्थालाई निरन्तरता दिएको थियो।
नेपालका राजनीतिक दलमध्ये कांग्रेसमा उमेरले डाँडै कट्न थालेका शेरबहादुर देउवा पार्टी सभापति छन्। नेकपा माओवादी केन्द्र पार्टी संगठनका हिसाबले निरंकुश रहेको छ। दशकौंदेखि प्रचण्डले पार्टी कब्जा गरिरहेका छन्, त्यो पनि महाधिवेशनमा अन्य उम्मेदवारलाई उठ्न वञ्चित गराएर।
एमालेले पार्टी संगठनमा रहेका ‘बूढा’नेतृत्वलाई बिदाबारी गरेर नयाँ पुस्तालाई जिम्मेवारी दिने ठानिएको थियो। सोहीअनुसार एमालेले विधान पनि निर्माण गरेको छ। तर पछिल्लो समय एमाले पार्टी संगठनको नेतृत्वमा रहेका ‘बूढा’हरूले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न नखोजेको यो घटनाले देखाएको छ।