काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले संसद्मा माफी मागेका छन्। भारतबाट ल्याउने भनिएका मुर्रा राँगासहितका विषयमा असान्दर्भिक विषय उठाइएको भन्दै उनले क्षमायाचना गरेका हुन्।
उनले भने, 'हामीले पार्लियामेन्टको डिग्निटी राख्न कतै चुकिरहेका त छैनौं? चाहे नयाँ दलका रूपमा हाम्रा तर्फबाट हुन् वा अरूबाट आएका हुन्, हामी लज्जित छौं। यो सदन भैंसी–राँगाका विषयमा मात्र छलफल गर्ने हो भने हामीले पाँच वर्षमा गोबरमात्र प्राप्त गर्नेछौं।'
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएपछि नेकपा एमालेलगायत दलका सांसदले विभिन्न विषयमा संसद्मा विरोध जनाएका थिए। त्यही बहसमा रास्वपा पनि समाहित भएको थियो। त्यसक्रममा रास्वपाका सांसद शिशिर खनालको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइएको थियो।
'सभामुख महोदय, प्रधानमन्त्री भारत भ्रमणबाट प्लेन चढेर पोखरा झर्नुहुन्छ भनेको उहाँ त भैंसी चढेर आउनुभयो,' सांसद खनालले भनेका थिए। खनालले त्यसो भनेपछि नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए। पाण्डेको नियमापत्तिपछि एमालेसँगै उनलाई बोल्न नदिन रास्वपाका सांसदहरूले समेत हुटिङ गरेका थिए।
नियमापत्ति स्वीकार गर्दै सभामुख देवराज घिमिरेले खनालको ‘भैंसी चढेर प्रधानमन्त्री भारतबाट आएको’ भन्ने अभिव्यत्ति रेकर्डबाट हटाउन निर्देशन दिएका थिए। सभामुखले दिएको निर्देशन प्रतिनिधिसभा नियमावलीको व्यवस्था नै उल्लंघन हुने गरी सभापति लामिछानेले अवज्ञा गरेका थिए।
'सभामुख महोदय, भैंसी चढेको विषय प्रधानमन्त्रीले पहिले भनेपछि हाम्रो सांसदले भन्नुभएको हो,' प्रतिवाद गर्दै सोमबारको बैठकमा लामिछानेले भनेका थिए, 'सांसदले बोलेको हटाउने, प्रधानमन्त्रीले बोलेको नहटाउने कुरा मान्य हुँदैन।' त्यसपछि सभामुखले प्रधानमन्त्रीको पनि अभिव्यक्ति हटाउन निर्देशन दिएका थिए।
संसद्को मर्यादा नै नरहने गरी भएका गतिविधिको चौतर्फी आलोचना भएपछि चार दिनपछि लामिछानेले क्षमायाचना गरेका हुन्।