काठमाडौं- नेकपा एमालेका पूर्व नेता वामदेव गौतमले औपचारिक प्रस्ताव आए नेकपा एमाले फर्कन तयार रहेको बताएका छन्। पूर्वगृहमन्त्रीसमेत रहेका गौतमले बुधबार संघीय संसद भवनबाट बाहिरिँदै गर्दा पत्रकारहरुसँग कुरा गर्दै गौतमले एमालेले ७० वर्षे उमेर हदको व्यवस्था निलम्बन गरेकाले औपचारिक प्रस्ताव आए फर्कने बताए।
गौतमले अहिले पनि आफू एमालेकै पार्टी सदस्य भएको पनि खुलाए। ‘मेरो पार्टी सदस्यता नेकपा एमालेमै छ। पोहोरसम्म सदस्यता शुल्क तिरिसकिएको थियो। अहिले सदस्यता शुल्क तिर्न म आफैं जाँदिन’, गौतमले भने, ‘मेरो श्रीमती र म पार्टी सदस्य हो, उनलाई पठाउँछु र पार्टी सदस्यता नवीकरण गरेर आउँछिन्।’
एमालेले पार्टी सदस्यता खारेज नगरेकाले नवीकरण गर्ने गौतमले बताए। एमाले फर्कन आफूले अध्यक्ष केपी शर्मा ओलीसँग तीन पटक उमेर हदको व्यवस्था हटाउन छलफल गरेको पनि बताए।
‘उहाँहरुले मलाई नै रोक्नका निम्ति उमेर हद ल्याउनुभएको हो’, गौतमले भने, ‘चार-पाँच वर्षमा ७० वर्ष पुग्ने १०-१२ जना नेता छन्, हट्यो भने (उनीहरु नै) अध्यक्ष पनि बन्न पाउँछन्, महासचिव पनि बन्न पाउँछन्।’
एमालेमा फर्केर अध्यक्ष, महासचिव केही पनि नबन्ने गौतमले बताए। एमालेमा ओली नै अझै १५ वर्षसम्म अध्यक्ष रहने पनि गौतमले बताए।
‘मेरो मूल्यांकन के छ भने यो कार्यकाल सकिएपछि एघारौं महाधिवेशन हुन्छ, १२औं महाधिवेशनसम्म बाँचिरहनुभयो पनि केपी ओली नै हो अध्यक्ष। अर्को व्यक्ति त्यहाँ छैन’, गौतमले भने। २०७१ को नवौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित ओली २०७८ मंसिरको दशौं महाधिवेशनबाट फेरि दोहोरिएका छन्।