NadaNada
आइतबार, भदौ ८, २०८२

भारत भ्रमणबारे कनीकुथी विरोध भइरहेको छ: प्रधानमन्त्री

 |  बुधबार, जेठ २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

vianetvianet


काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणको विरोधका नाममा विरोध भइरहेको भन्दै यो उचित नभएको बताएका छन्। आफ्नो भारत भ्रमणमा भएका उपलब्धिको कार्यान्वयन प्रक्रिया अगाडि बढाउन लाग्नुपर्नेमा विरोधमात्रै गर्नु उचित नभएको उनले बताए।

बुधबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भारत भ्रमणमा धेरै उपलब्धि हासिल भएको बताउँदै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए। उनले भने, 'भारत भ्रमणमा उत्पात भयो भन्ने मेरो दाबी होइन। नयाँ सुरुआत भयो। नेपाल समृद्ध हुने ढोका खोलियो। यसमा त हामीले खुसी पो व्यक्त गर्नुपर्छ। यो बेला हो नेपालीहरूले बलियो राष्ट्रिय एकताको प्रदर्शन गर्ने हो। ठिक भएको छ र अझ ठिक हुनुपर्छ भन्ने हो। हामी सबैले एक भएर भएका सहमति, समझदारी ठिक ढंगले कार्यान्वयन होऊन् र हुन बाँकी सहमति पनि बनाउन पर्‍यो भन्नुपर्छ। त्यसो भन्यो भने पनि नेपाल बलियो हुन्छ, हामी बलियो हुन्छौं। यसमा अनावश्यक सकिनसकी विरोध गर्नुपर्ने, कनीकुथी विरोधको तरिका अपनाउनु उचित छैन।'

भारत भ्रमणका क्रममा १९५० को सन्धीदेखि हालका सीमा विवादका विषयमा प्रस्टसँग छलफल भएको प्रधानमन्त्री दाहालको भनाइ थियो। उनले दुवै मुलुकबीच छलफलको वातावरण बनाएर अगाडि बढ्नुपर्नेमा आपसी बुझाइ रहेको बताए।

उनले भने, 'नेपालमा एयररुट पहिलोपटक ऐतिहासिक नै हो। जति कुरा प्रस्टसँग राखिएको छ। सबै कुरा राखिएको छ। इतिहासदेखि थाती रहेका, १९५० को कुरा पहिलोपटक जाँदा पनि र अहिले पनि सबै समस्याहरूको विश्वासको वातावरण बनाएर समाधान गर्नुपर्छ भन्ने कुरा राखिएको छ। यस अर्थमा पनि यो भ्रमण महत्त्वपूर्ण भएको छ। दुई छिमेकीहरू राम्रो विश्वासको वातावरण बनाएर लिपुलेक, कालापानीको समस्या हल हुने हो। एकले अर्कालाई राजनीति मात्रै गरिराखेर त यो बल्झिने मात्रै हो। संवादद्वारा सकरात्मक ढंगले समाधानको उपाय खोज्ने हो। विश्वासको वातावरण बनाएर सीमाको विषय हल गर्छौं भनेको विषय अरु कसैले गर्‍यो र ? अरु कसैले गर्‍यो र ? हिजो सरकारको नेतृत्व उहाँहरूको दलले गरेको थियो ? प्रधानमन्त्री हुनुहुन्थ्यो, केही गर्नुभएको थियो ?'

प्रधानमन्त्री दाहालले मिडियामा भारतीय संसद्‌मा नेपालको भूभाग समेटिएको नक्सा राखेको समाचार आएपछि आफूले भारतीय पक्षसँग कुरा राखेको र भारतीय पक्षबाट यो कुनै राजनीतिक नक्सा नभएकाले त्यसलाई राजनीतिक रुपमा नहेर्न भनेको जवाफ आएको पनि राष्ट्रियसभामा बताएका छन्। उनले सो विषयमा भारतसँग अझ बढी अध्ययन र छलफल गर्ने बताए।

Metro Mart

उनले भने, ‘पहिलो कुरा संसद्को नक्साबारे कुरा भयो। मैले गम्भीर रुपमा नै उठाए किनकि त्यो धेरै अध्ययन भइसकेको त थिएन। तर पनि जसरी मिडियामा आएको थियो त्यो विषयमा त्यसरी नै प्रश्न गरेँ। यो के हो नयाँ संसद् भवनमा भारतले राखेको नक्साबारे विभिन्न कोणबाट चर्चा भएको छ भन्दा उहाँहरूले दिएको जवाफ मैले प्रतिनिधिसभामा पनि भनेको थिए। यो कुनै राजनीतिक नक्सा होइन। यो ऐतिहासिक र सांस्कृतिक नक्सा हो। यसलाई राजनीतिक रुपले हेर्न हुँदैन भन्ने उहाँहरूको जवाफ थियो। अब यो बारे अझ बढी अध्ययन गर्ने, छलफल गर्ने कुरा त बाँकी नै छ। त्यसकारण कुरा उठाएन केही पनि भएन भन्ने कुरा साँचो होइन।’

 

प्रकाशित: Jun 07, 2023| 14:40 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्