काठमाडौं– नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष २७ हजार मानिसको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्तीजन्य पदार्थ सेवनकर्ताको मृत्युबारेको तथ्यांक केही दिनअघि सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा क्यान्सर, मुटु रोग, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग, मधुमेहजस्ता नसर्ने रोग लाग्ने गर्दछ।
राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्माले सुर्तीजन्य पदार्थको सेवन गर्दा मुख, दाँत, गिजामा समस्या आउने, उमेर नपुग्दै छाला चाउरी पर्ने सम्भावना हुने, आँखाको दृष्टि कमजोर हुने र श्रवणशक्ति कमजोर हुनेजस्ता स्वास्थ्य समस्या देखा पर्ने बताए।
अभिभावकले धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिका र परिवारका अन्य सदस्यमा श्वासप्रश्वाससम्बन्धी समस्या, मुटु रोग, क्यान्सरलगायतका स्वास्थ्य जोखिम बढाउने उनको भनाइ छ। उनले परिवारमा एक जनाले सुर्ती सेवन गरेको छ भने अन्य सदस्यलाई त्यसको असर हुने देखिएको तथ्यांक प्रस्तुत गरे।
नेपालले सन् २००३ मा सुर्तीजन्य पदार्थ रोकथामको अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरेको थियो। सन् २००६ मा नेपालले उक्त महासन्धि अनुमोदन गरेको जानकारी दिँदै त्यसकै आधारमा सन् २०११ मा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन तथा निर्देशिका जारी भएको थियो।
स्वास्थ्य सूचना केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भक्तबहादुर केसीले सरकारले अनुमोदन गरेको नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि राष्ट्रिय बहुक्षेत्रीय कार्ययोजना २०२१÷२०२५ ले नेपालमा सन् २०२५ सम्म १५ वर्षमाथिका मानिसमा व्याप्त रहेको सुर्तीजन्य पदार्थ प्रयोगमा ३० प्रतिशतले कमी ल्याउन आह्वान गरेको जानकारी दिए।
विश्व स्वास्थ्य संगठनद्वारा गरिएको नसर्ने रोगको सर्वेक्षणअनुसार विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनका कारण ८० लाख मानिसको मृत्यु हुने गरेको छ। तीमध्ये ७० लाखभन्दा बढीको मृत्यु प्रत्यक्ष सुर्तीजन्य पदार्थ प्रयोगका कारण हुने गरेको छ। धूमपान नगर्ने तर अन्य व्यक्तिले गरेको धूमपानबाट उत्पन्न धुवाँका कारण करिब १२ लाखभन्दा बढीको मृत्यु हुने गरेको छ।
विश्व स्वास्थ्य संगठनको सन् २०२२ को तथ्यांकअनुसार विश्वमा २२.३ प्रतिशत मानिस सुर्तीजन्य पदार्थको प्रयोग गर्छन्। नेपालमा धूमपान तथा सुर्तीजन्य पदार्थका कारण क्यान्सर रोगी वृद्धि हुँदै गएको क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले बताए। शिक्षण तथा स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालयको कम्तीमा १ सय मिटरभित्रको घर, पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन नपाइने व्यवस्था रहे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनको बुझाइ छ।
सुर्तीजन्य पदार्थको ऐनअनुसार नेपालमा सुर्तीजन्य पदार्थ बिक्रेताले १८ वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ नबेच्ने, बेच्न नलगाउने र चुरोट तथा बिँडीको फुटकर खिल्ली बेच्न नपाउने व्यवस्था गरेको छ।
नेपालसहित विश्वभर हरेक वर्ष मनाइने विश्व सुर्तीजन्य पदार्थरहित दिवस गत ३१ मेमा मनाइसकिएको छ।
नेपालमा ‘हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन’ नारासहित विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइएको हो। सरकारले धूमपान र सुर्ती सेवन सार्वजनिक स्थलमा निषेध गरे पनि त्यसलाई पालना गर्नेको संख्या थोरै छ। सिंहदरबारभित्रै सरकारी निकायका नास्ता खाने क्यान्टिनमै खैनी, चुरोट निर्वाध बिक्री–वितरण हुने गरेको देखिन्छ। काठमाडौं महानगरले पनि सार्वजनिक स्थानमा धूमपान गरे कारबाही गरिने सूचना जारी गरेको पनि कार्यान्वयन शून्य छ।
वीर अस्पतालमा सुर्ती, चुरोट छुटाउने थेरापी
के तपाईं चुरोट, सुर्ती खैनीलगायत सुर्तीजन्य पदार्थको लत छुटाउन चाहनुहुन्छ? यदि हो भने वीर अस्पतालले चुरोट, खैनीको लत छुटाउन उपचार सेवा सञ्चालन गरेको छ। अस्पतालले विश्वभर नै विश्व सुर्तीजन्य पदार्थरहित दिवस अवसर (३१ मे) पारेर ‘निकोटिन रिप्लेसमेन्ट थेपारी’ उपचार पद्धति सुरु गरेको हो।
अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले चुरोट, खैनी, सुर्तीको कुलतमा फसेका लागि छुटाउनका लागि ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ सुरु गरिएको जानकारी दिए। थेरापीमा चुरोट सुर्ती खैनीको लतमा फसेकालाई छुटाउन निकोटिन चुइगम दिइन्छ र सोही चुइगमको सहयोगले लत छुटाउने उनले बताए।
थेरापीमा चुरोट, खैनी र सुर्तीको सट्टा मानिसलाई निकोटिन चुइगम दिइन्छ। ‘मानिसले कति चुरोट सुर्ती सेवन गर्दछ। सोहीअनुसार मात्रामा निकोटिन चुइगम दिइन्छ’, उनले भने, ‘चुइगममा निकोटिन हुन्छ। मानिसलाई लत लगाउने काम निकोटिनले गर्दछ। सोही लत हटाउन मानिसलाई चुइगम दिइन्छ।’
उनले चुरोट सुर्ती र खैनीमा निकोटिनबाहेकका तत्त्व हुन्छन् र ती तत्वले क्यान्सर रोग गराउने भन्दै तर निकोटिन मात्र भएको चुइगमले शारीरिक, मानसिक असर गर्ने भए पनि क्यान्सर रोग नगराउने बताए। मानिसमा इच्छाशक्ति भएपछि चिकित्सको परामर्शमा लत छुटाउने व्यक्तिलाई विस्तार निकोटिन चुइगमको माध्यमबाट लत छुटाउन सकिने उनको दाबी छ।
‘चुरोट, सुर्ती र खैनीको सट्टा चुइगम खान दिइन्छ। चुइगमले लत केही हदसम्म घटाउँछ। अनि विस्तारै ती मानिसलाई चुइगमको कारणले चुरोट, सुर्ती र खैनी खाऊँ, खाऊँ भन्ने बानी हराउँदै जान्छ’, उनले भने, ‘अनि विस्तार मानिसको लत हटाउन सकिन्छ।’
अस्पतालले थेरापीमा दन्त विभाग, क्यान्सर विभाग र मेडिसिन विभागका चिकित्सकको समन्वयमा लत छुटाइने गरिन्छ। दन्त विभागमा सुर्ती खाएको थाहा हुने गर्दछ। क्यान्सर विभागमा बिरामीले चुरोट खाने गरेको थाहा हुन्छ। मेडिसिन विभागमा चुरोटले गर्दा बिरामीलाई दम भएको हुन्छ। ती विभागले समन्वयमा अस्पतालले सुर्तीजन्य पदार्थको लत छुटाउन थालेको हो।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अस्पताललाई सुर्तीजन्य पदार्थको लत हटाउन ४५ हजार निकोटिन चुइगम उपलब्ध गराएको छ। निकोटिन चुइगम चिकित्सकले दिइसकेपछि निश्चित अवधिपछि पुनः अस्पतालमा बोलाएर बिरामीको अवस्था हेरेर चुइमग खान फेरि दिइने उनले बताए।
यसैगरी अस्पतालमा सुर्तीजन्य पदार्थ कति खाइरहेको छ। त्यसको आधारमा पनि लत छुटाउन परामर्श सेवा उपलब्ध गराइएको अस्पतालका निर्देशक डा. पौडेलले जानकारी दिए। अस्पतालले क्यान्सर विभागमा परार्मशका लागि छुट्टै कोठाको व्यवस्था गरेको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् गरेको सर्वेक्षणमा नेपालमा २८.९ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने पाइएको छ। तीमध्ये ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ प्रयोग गर्छन्।
डब्लुएचओको सन् २०२२ को तथ्यांकअनुसार विश्वमा २२.३ प्रतिशत मानिस सुर्तीजन्य पदार्थ प्रयोग गर्छन्। सुर्तीजन्य पदार्थको प्रयोग महिलाभन्दा पुरुषमा बढी हुने गरेको छ। महिलाको ७.८ प्रतिशत र पुरुषमा ३६.७ प्रतिशत रहेको छ।