शनिबार, वैशाख १५, २०८१

'भर्जिन ल्याण्ड' खप्तडमा किन आए 'व्यापारी' रामदेव?

आध्यात्मिकसँगै पतञ्‍जलीको व्यापार प्रवर्द्धन र जडिबुटीको खानीको रुपमा रहेको नेपालमा उद्योग स्थापनाको उद्देश्यका साथ पटक-पटक नेपाल आउने गरेका अर्बपति व्यापारी रामदेव यसपटक भर्जिन ल्याण्ड खप्तड पुगेका हुन्।
 |  बुधबार, जेठ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

काठमाडौं- खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँमा मंगलबारदेखि तीन दिने खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको छ। भर्जिन ल्याण्ड भनेर चिनिने खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले पनि परिचित छ। यस क्षेत्रको पर्यटन प्रवर्द्धनको उद्देश्यले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको आयोजक खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले बताएको छ। 

triton college

सुदूरपश्‍चिम प्रदेशको पूरा क्याबिनेटलाई काठमाडौं ल्याएर पत्रकार सम्मलेन गर्दै आयोजक समितिका अध्यक्ष हर्कबहादुर सिंहले खप्तडलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनका लागि रामदेव र आचार्य बालकृष्णलाई विशेष पाहुनाको रुपमा आमन्त्रण गरिएको जानकारी गराएका थिए।

पौराणिक कालमा सिद्ध तथा ऋषिमुनिहरूले तपस्या गरेको र पुराणमा समेत खेचरादी पर्वतका रूपमा वर्णन गरिएको खप्तडमा यस्तो सम्मेलन आयोजना गरिएको यो पहिलो पटक हो। भौगोलिक विकटता र सहज पहुँचको सुविधा नभएका कारण आन्तरिक पर्यटक पनि पर्याप्त रुपमा त्यहाँ पुग्‍न नसकेको अवस्थामा पूर्वाधारको कुनै आधार तयार नगरी अन्तर्राष्ट्रिय रुपमा पर्यटक भित्र्याउने प्रचार गर्दै सम्मेलन आयोजना गरिनु नै रहस्यमय विषय हो।

सुदूरपश्‍चिम सरकारको पहलमा आयोजित सम्मेलनमा भारतीय पतञ्‍जली कम्पनीका संस्थापक रामदेव र सीईओ आचार्य बालकृष्णलाई बोलाउँदैमा सम्मेलनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्छ कि गर्दैन त्यो अर्को प्रश्‍न होला। तर, भारतको बहुराष्ट्रिय कम्पनी पतञ्‍जलीका संस्थापक बाबा रामदेव र जडीबुटी विज्ञ आचार्य बालकृष्ण खप्तड पुग्‍नुको उद्देश्य फरक रहेको देखिन्छ। 

सन् १९७९ को दशकमा हरियाणामा जन्मिएका रामकिसन यादव उर्फ 'बाबा रामदेव'ले जडिबुटीको हब नेपालमा आफ्नो कम्पनी पतञ्‍जलीको नाममा आयुर्वेदिक उद्योग स्थापना गरी यहाँको जडीबुटी सस्तो मूल्यमा कच्चा पदार्थको रुपमा प्रयोग गर्न चाहेको विषय नौलो होइन। जडिबुटीको व्यापारबाट आफ्नो करिअर सुरु गरेका रामेदव र जडिबुटी विज्ञ आचार्य बालकृष्ण आफ्नो व्यापार विस्तारका लागि विभिन्‍न बहानामा नेपाल आउने गरेका छन्। 

corrent noodles
Metro Mart

यसअघि पतञ्‍जली टेलिभिजन उद्घाटनमा सहभागी हुन उनी नेपाल आएका थिए। दर्ता नगरीकनै उक्त टेलिभिजन नेपालका प्रधानमन्त्रीबाट उद्घाटन गराएको र एक टेलिभिजनको उद्घाटनमा मुलुकको प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुसहित मन्त्रीहरु तथा राजनीतिक दलका शीर्ष नेताहरु सहभागी हुनुले पनि भारतीय सत्ता रिझाउन प्रतिस्पर्धा भएको भन्दै त्यस समय चर्को आलोचना भएको थियो। त्यही प्रवृत्ति यसपटक भू-स्वर्ग भनेर चिनिने खप्तडमा देखिने भएको छ। जसमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरुसहित दर्जनौं नेताहरु बाबा रामदेवलाई भेट्‍न खप्तड पुग्‍दैछन्। 

khaptad_1686054317.jpg
समुद्र सतहबाट ३ हजार मिटर उचाइमा रहेको र २२५ वर्गकिलोमिटरमा फैलिएको यस क्षेत्रमा ५०० किसिमका बहुमुल्य जडिबुटी पाइन्छन्। यतिमात्र नभएर २२ पाटन, ९ दह, ५२ खण्डसहितका हरिया थुम्का रहेको खप्तडमा १३९ किसिमका फूल र ५० भन्दा बढी प्रकारहका किराहरु पाइन्छन्। हालसम्म जडिबुटीको विषयमा खास अध्ययन-अनुसन्धान र निकासी नभएको खप्तड पुगेर यसबारे अध्ययन गर्ने रामदेवको उद्देश्य देखिन्छ। 

अमेरिकी बिजनेस म्यागेजिन फोर्ब्सले रामदेव बाबा मात्र नभएर एक नामुद व्यापारी पनि रहेको २०१६ मा नै लेखेको थियो। 'भारतीय बाबा रामदेव, बाबा होइनन्' शीर्षकको समाचारमा उनले आफ्नो व्यापार प्रवर्द्धनका लागि विभिन्‍न रणनीतिहरु अपनाउने गरेको उल्लेख छ। रामदेव एक विशुद्ध व्यापारी भएको फोर्ब्सको निष्कर्ष देखिन्छ। 

समाचारमा भनिएको छ, 'पतञ्‍जलीका ब्रान्ड एम्बेसडरको रूपमा रहेका रामदेवले आफ्ना अनुयायीहरूलाई पूर्ण रूपमा भारतीय स्वामित्वमा रहेका कम्पनी पतञ्‍जलीका उत्पादनमात्र खरिद गरेर आफ्नो देशभक्ति देखाउन आग्रह गर्ने गरेका छन्। विदेशी कम्पनीहरूले भारतमा बनाएका सामानहरू योग्य छैनन् भनेर उपनिवेशवादी इस्ट इन्डिया कम्पनीसँग तुलना गर्दै विदेशी कम्पनीहरूले नाफा देश बाहिर लैजाने भएकोले स्वदेशी कम्पनीका उत्पादन खरिद गर्न आग्रह गर्छन् उनी।' 

फोर्ब्सले स्व-निर्धारित तपस्वीले जीवनमा आधुनिक व्यापार गरिरहेको पनि उल्लेख गरेको छ। आचार्य बालकृष्णले कम्पनीको उद्देश्य नै उद्योगको विस्तार गर्दै व्यापार प्रवर्द्धन गर्नु रहेको र यसका लागि आफूहरुले काम गरिरहेको बताएको फोर्ब्सले उल्लेख गरेको छ। 

यसरी आध्यात्मिकसँगै पतञ्‍जलीको व्यापार प्रवर्द्धन र जडिबुटीको खानीको रुपमा रहेको नेपालमा उद्योग स्थापनाको उद्देश्यका साथ पटक-पटक नेपाल आउने गरेका अर्बपति व्यापारी रामदेव यसपटक भर्जिन ल्याण्ड खप्तड पुगेका हुन्। नेपालको जडिबुटीलाई कौडीको भाउमा प्राप्त गर्ने रामदेवको उद्देश्य देखिन्छ। विगतमा जस्तै यसपटक पनि रामदेवको मिसनमा समर्थन गर्न नेपालका नेताहरु खप्तडमा उपस्थित हुने भएका छन्।

सम्मेलनको पहिलो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, सूदुरपश्‍चिम प्रदेशका मुख्यमन्त्रीसहितको सिंगो मन्त्रिमण्डल, पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका नेता भीम रावल, पूर्वमन्त्री शेरबहादुर कुवँरलगायत नेताहरु उपस्थित भएका थिए। त्यसैगरी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायतका शीर्ष नेताहरु पनि उक्त कार्यक्रममा पुग्‍ने र बाबा रामदेवसँग भेट गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी गराएको छ।

khaptad5461686058299.jpg
सन् २०१८ मा न्युयोर्क टाइम्सले भारतीय सत्ताका अघोषित सल्लाहकारको रुपमा चित्रण गरिएका रामदेवले भर्जिन ल्याण्ड खप्तड पुगेर अनर्राष्ट्रिय रुपमा पर्यटन प्रवर्द्धन हुने कुरा आयोजकका लागि खोक्रो महत्वाकांक्षा भए पनि उचित मूल्यमा जडिबुटी निकासीका लागि पहल गर्न सके भने नेपाललाई फाइदा नै हुन्छ। तर, रामदेव भने नेपालका नेताहरुलाई प्रभावमा पारेर यहाँको स्रोतलाई उपयोग गर्ने रणनीतिमा लागेका देखिन्छन्। 

'मोदीको उदयमा अर्बपति बाबा रामदेवको साथ' शीर्षकमा न्युयोर्क टाइम्समा प्रकाशित समाचारमा रामदेव हिन्दू धर्मको प्रचारक र भारतीय सत्ताको अघोषित सल्लाहकार भएको उल्लेख गरिएको छ। जसका कारण पनि नेपालका नेताहरुले रामदेवसँग भेट्‍ने आकांक्षा राख्‍ने गरेका छन्। उनी खुसी पार्न नेपालका राजनीतिज्ञहरुले उनलाई उद्योग स्थापनाका लागि नि:शुल्क जग्गा दिने प्रतिबद्धता पटक-पटक गरिसकेका छन्। 

यसअघि २०७८ मा नेपाल आएका रामेदवलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा आयुर्वेद उद्योग खोल्न पूरा साथ दिने र जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि बाबा रामदेवलाई जग्गा उपलब्ध गराउन सहयोग गर्ने बताएका थिए। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्‍वासपात्र महेश बस्‍नेतले त आफू उद्योगमन्त्री हुँदा २०७१ सालमा नै बाबा रामदेवलाई नेपालमा पतञ्जलीका सबै उत्पादनहरुको एकीकृत उद्योग स्थापना गर्ने जग्गा उपलब्ध गराउने वचन दिएका थिए। 

बाबा रामदेवले यसअघि नै आफूलाई उद्योग स्थापनाका लागि २०० बिघा जग्गा आवश्यक पर्ने बताएका थिए। विशेषगरी पतञ्जली योगपीठका तर्फबाट आचार्य बालकृष्णले बारा जिल्लाको सेज (स्पेसल इकोनोमिक जोन)मा पतञ्लजीको उद्योग स्थापना गर्ने इच्छा देखाएका थिए। पछि पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि रामदेवले आयुर्वेद अस्पताल, गौशाला, जडीबुटी उद्यान र आचार्य गुरुकुल सञ्चालन गर्न २ सय बिघा जमिन माग गरेका थिए। त्यस समयमा प्रधानमन्त्री रहेका प्रचण्डले पनि दाङको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयले पतञ्‍जली योगपीठका मालिक रामदेवलाई जडीबुटी खेती तथा आयुर्वेद शिक्षण अस्पताल निर्माणका लागि दिन सकिने बताएका थिए। रामदेवको प्रस्तावअनुसार जग्गा लिजमा दिइयो भने विश्वविद्यालयमा पतञ्‍जलीको हैकम चल्ने भन्दै चर्को विरोध भएपछि प्रधानमन्त्री प्रचण्ड आफ्नो निर्णयबाट पछि हटेका थिए। 

यसरी विभिन्‍न समयमा नेताहरुसँगको भेटका क्रममा नेपालमा आफूलाई नि:शुल्क जग्गा माग गरिरहेका रामदेवले हाल कच्चा पदार्थको रुपमा जडिबुटी निकासीका लागि उपयुक्त स्थानको खोजी गरिरहेका छन्। खप्तडमा भएको बहुमूल्य जडिबुटी कौडीको भाउमा लैजाने हुन् कि भन्‍ने संशय पनि पैदा भएको छ। उसै त नेपालको जडिबुटी हालसम्म पनि कौडीकै भाउमा बिक्री हुने गरेको छ र त्यही जडिबुटीबाट बनेको औषधि नेपालले महँगोमा आयात गर्नुपर्ने बाध्यता रहेको छ। आर्थिक वर्ष २०७८/७९ को तथ्यांक अनुसार भारतसहित युरोप, चीनलगायतका मुलुकमा झन्डै २ अर्बको मात्र जडिबुटी निर्यात भएको थियो।

अध्यात्मको आडमा भर्जिन ल्याण्ड पुगेका रामदेवले त्यहाँको अमूल्य जडिबुटी सस्तो भाउमा भारत लगेर आफ्नो व्यापार प्रवर्द्धनमात्रै गर्छन् कि भन्‍ने आशंका भइरहँदा नेपाल सरकारले नै आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रममा 'जडिबुटी उत्पादन र निर्यात' का लागि वन क्षेत्र भाडामा दिने नीति लिएको छ। यता नेपालको सरकारी उत्पादक सिंहदरबार वैद्यखाना भने कोममा पुग्‍ने स्थिति सिर्जना भएको छ। औषधि व्यवस्था विभागका अनुसार हाल नेपालमा आयुर्वेदिक औषधिको बजार करिब साढे ७ अर्बको छ। त्यसमध्ये नेपाली उद्योगहरुले झन्डै २ अर्ब बराबरको मागमात्र धानेका छन् भने बाँकी साढे ५ अर्बको आयुर्वेदिक औषधि आयात हुने गर्छ। 

नेपालमै आयुर्वेदिक औषधि उद्योग प्रवर्द्धनमा चासो दिनुको साटो सरकारले विदेशीहरुलाई नेपालको आयुर्वेदिक औषधिको कच्चा पदार्थको रुपमा रहेको जडिबुटीमा 'राज' गराउँछन् कि भन्‍ने चिन्ता पनि बढेको पाइन्छ। 

सन् २०१७ मा भारतीय व्यापारी रामदेवलाई रोक्‍नका लागि चिनियाँ लगानीकर्ताहरुले नेपालमा आयुर्वेदिक प्लान्ट स्थापना गर्ने प्रस्ताव गरेका थिए। २० जना चिनियाँ लगानीकर्ताहरुले मकवानपुरको उत्तरी क्षेत्रमा १७ मिलियन अमेरिकी डलर लगानी गर्ने घोषणा गरेका थिए। त्यसअघि सन् २०१६ मा रामदेवले नेपालमा आयुर्वेदिक उद्योगका लागि डेढ अर्ब लगानी गर्ने घोषणा गरेका थिए। 

यो पनि पढ्नुहोस्

प्रकाशित: Jun 07, 2023| 07:17 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्