काठमाडौं- प्रतिनिधिसभाको सोमबारको बैठकमा ‘भैंसी चढेर आएको’ भन्ने अभिव्यक्तिले एकछिन संसद्मा तनाव सिर्जना गरायो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले ‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्किँदा प्लेन चढेर आफैंले उद्घाटन गरेको पोखरा विमानस्थल आउनुहुन्छ होला भन्ने सोचेको दुर्भाग्यवश भैंसी चढेर आउनुपरेको कुराहरु आए’ भनेका थिए।
सांसद् खनालको अभिव्यक्तिप्रति माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले 'भैंसी चढेर आएको' भन्ने असंसदीय शब्द प्रयोग गरेको भन्दै रेकर्डबाट मेटाउन माग गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले ‘भैंसी चढेर आएको’ भन्ने शब्द संसदको रेकर्डबाट हटाउन सचिवालयका कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।
तर उक्त शब्द हटाउन निर्देशन दिएकामा एमाले र रास्वपाका सांसदहरुले विरोध जनाए। एमाले सांसद रघुजी पन्तले भैंसी चढेर आएको भन्ने शब्द पहिले प्रधानमन्त्रीले नै प्रयोग गरेको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिबाट पनि उक्त शब्द हटाउनुपर्ने माग गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले पनि प्रधानमन्त्रीले प्रयोग गरेपछि आफ्नो पार्टीका सांसदले व्यंग्यस्वरुप उक्त शब्द प्रयोग गरेको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिबाट पनि भैंसी चढेर आएको भन्ने शब्द मेटाउन माग गरे।
त्यसपछि सभामुख घिमिरेले भैंसी चढेर आएको भन्ने शब्द जसले बोलेको भए पनि रेकर्डबाट मेटाउन निर्देशन दिए। सभामुख घिमिरेले देशको प्रधानमन्त्री भारतबाट आउँदा भैंसी चढेर आएको भन्ने शब्द संसदको रेकर्डमा रहनु उचित नहुने भन्दै त्यसलाई मेटाउनु उचित हुने बताएका थिए।
संसद्को रेकर्डबाट उक्त शब्द हटाइएपछि प्रधानमन्त्रीको जवाफपछि सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने पुन: रेकर्ड गराएका हुन्। उनले भने, 'हुन त यहाँ राँग चढेको कुरा फेरि 'ओमिट हुने' (मेटाइने) होला। ओमिट भए पनि सभामुख महोदय, म किशोर हुँदा राँगाका पिठ्यूँमा भढेर राँगा चराउँथे। मेरो एकपल्ट पूर्व राष्ट्रपति रामवरण यादवसँग कुरा चल्दा राष्ट्रपतिज्यू म त राँगाका पिँठ्यूमा चढेर राँगा चराउँथे भने, उहाँले पनि म त झन तराईंको मान्छे राँगा-भैँसीका पिँठ्यूमा चढेर कति चराइयो, चराइयो भन्नुभयो। रेकर्डमा राख्नु-नराख्नु सभामुखज्यू यहाँको कुरा हो।'
उनले तराईंमा अझै पनि राँगाको पिँठ्यूमा चढ्ने गरेको प्रसंग उल्लेख गर्दै भने, 'पशुपति नाथ त साँढेका पिँठ्यूमा चढ्नुहुन्थ्यो, साँढे बाहन थियो। विवाद यी कुराको होइन, राँगाको पिँठ्यूमा चढेर आयो कि भैँसीको पिँठ्यूमा चढेर आयो। राँगा नाम गरेको जेट हो कि? मकालु नाम गरेको विमान हुन्छ, यति नाम गरेको विमान हुन्छ। यतिमा चढेर आयो भन्दा के हुन्थ्यो? विवादको विषय यो होइन, विवादको विषय भारत गएर यहाँले जुन फितलो प्रदर्शन गर्नुभयो, नेपालको शीर ठडिने गरी काम गर्नुभएन, कुरा त्यसको हो।'
प्रधानमन्त्रीको भारत भ्रमणपछि भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी दिएको उल्लेख गरेको थियो। उक्त विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड ट्रोल बनेका हुन्।