काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धि १५ वटा राँगामात्र भएको व्यंग्य गरेका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा उनले यस्तो व्यंग्य गरेका हुन्। उनले प्रधानमन्त्रीले भारत भ्रमणमा नयाँ केही कुरा नभएको टिप्पणी गरे।। पञ्चेश्वर, पेट्रोलियम पाइपलाइन, इन्टिग्रिटी चेकपोष्ट आफ्नै पालामा अघि बढेको दाबी गर्दै उनले पुरानै कुरा उद्घाटन र शिलान्यास गरेको बताए।
साथै उनले भ्रमणमा भएका छलफलमा प्रोटोकलका आधारमा परराष्ट्रमन्त्री वा कूटनीतिक व्यक्ति हुनुपर्नेमा छोरी उपस्थित गराएकोमा आपत्ति जनाए। उनले भारत भ्रमणमा प्रधानमन्त्रीले कमजोर प्रस्तुति गरेकोले मुलुकको शिर झुकेको आरोप लगाउँदै उनी कम्फर्टेबल हुन खोजेको आरोप लगाए।