काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले माओवादीले गरेको दस वर्षे सशस्त्र द्वन्द्वबारे गम्भीर आशंका व्यक्त गरेका छन्। सोमबार आफ्नो भारत भ्रमणबारे जानकारी गराउन संसद्मा उपस्थित भएका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई एमाले सांसद सूर्यप्रसाद ढकालले सशस्त्र द्वन्द्वबारे प्रश्न गरेका हुन्।
उनले २८ वर्षअघि ४० बुँदे माग राखेर तत्कालीन माओवादीले सुरू गरेको हिंसात्मक युद्ध भारतकै इशारामा भएको हो कि भनेर प्रश्न गरेका छन्। तत्कालीन माओवादीले राखेका ४० बुँदामध्ये ९ बुँदा मागहरू भारतसँग रहेको स्मरण गराउँदै उनले ती मागहरू अहिलको भारत भ्रमणमा नराख्नुको कारण सोधे।
'प्रधानमन्त्री भारत भ्रमणमा जाँदा ती आफैंले आजभन्दा २८ वर्ष अगाडि राखेका बुँदाहरूका बारेमा किन छलफल गर्न सक्नुभएन, किन मुद्दा उठाउनु भएन? यसले के प्रमाणीत गर्छ भने कतै भारतकै इशारामा दस वर्षे युद्ध भएको त थिएन?' उनले भने।
अर्का सांसद नारायणप्रसाद आचार्यले पनि जनयुद्धका बेलामा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादका विरूद्ध बंकर र सुरूङ युद्ध लडिएको तर अहिले त्यही भारतसामु प्रधानमन्त्री प्रचण्ड लम्पसार परेको आरोप लगाए।
'त्यो युद्ध लड्दा जुन किसिमका विषय उठाइएको थियो। यति धेरै लम्पसार पर्नुपर्ने परस्थितिको किन आयो?' उनले भने।