काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा त्यहाँका अधिकारीसँग कालापानी, लिपुलेक र लिम्पियाधुरा साटफेरबारे एक शब्द नबोलेको कसम खाएका छन्।
प्रतिनिधिसभामा एमालेसहितका प्रतिपक्षी दलले प्रधानमन्त्रीको भारत भ्रमणका बेला कालापानीसित पूर्वी सीमा बंगलादेश छुने जमिन साट्न सकिने भनेर दिएको जवाफ माग्दै सदन अवरोध गरेपछि प्रचण्डले सीमाबारे नबालेको प्रस्टीकरण दिएका हुन्।
उनले सीमाबारे कहीँ पनि विकल्प नदिएको दाबी गरे। ‘भारत भ्रमणका क्रममा सीमाबारे विकल्प यो हुन्छ र यसमा जाऊँ भनेर प्रस्तावित गरेको होइन। कहीँ कोही कन्फ्युजन नहोस्। हामीले भनेका छौं–कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमिका हो। नेपालको भूमि हो भन्ने कुरा स्थापित गर्नु नै सबैभन्दा ठूलो कुरा हो भन्नेमा म स्पष्ट छु,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा आफूले कुनै जमिनबारे कुरो नउठाएको र समकक्षी मोदीसँग सीमा विवादबारे जिज्ञासा राख्द हल हुनुपर्ने आशय व्यक्त गरेको दाबी गरे।
उनले भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत समस्याको विषयमा पुरै गम्भीरता र जिम्मेवारीपूर्वक भन्न चाहन्छु। यो समस्या समाधान गर्नैपर्छ । जबसम्म दीर्घकालीन समाधान हुँदैन, नेपाल–भारतबीचको समस्या समाधान हुन सक्दैन।’
नेपालको मिचिएको सीमाबारे समकक्षी मोदीसँग प्रस्ट कुरा राखेको उनले दाबी गरे। पहिलो पटक भारतीय प्रधानमन्त्रीले नै नेपालसँग सीमा विवाद छ र त्यसलाई समाधान गर्नुपर्छ भनेर अभिव्यक्ति दिनु सकारात्मक रहेको उनको दाबी छ।