आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • विमानस्थलमा प्रधानमन्त्रीले भने- सीमाबारे भारतीय प्रधानमन्त्रीसँग गम्भीर छलफल भयो

विमानस्थलमा प्रधानमन्त्रीले भने- सीमाबारे भारतीय प्रधानमन्त्रीसँग गम्भीर छलफल भयो

 |  शनिबार, जेठ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २०, २०८०

काठमाडौं- भारतको चार दिने भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीचको सीमा सम्बन्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट आएको सकारात्मक अभिव्यक्तिबाट उत्साहित भएको बताएका छन्। 

National life

भारतको चार दिने भ्रमण शनिबार साँझ काठमाडौं आइपुगेका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भारतसँग सीमा सम्बन्धमा गम्भीर छलफल भएको पनि बताए। 

विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, 'भेटवार्ताका क्रममा सीमासम्बन्धी विषयमा पनि गम्भीर कुराकानी भएको छ। यो विषयलाई स्थापितक कूटनैतिक संयन्त्रमार्फत समाधान गर्न भारतका प्रधानमन्त्रीलाई गम्भीर रुपमा भनेको छु। उहाँले पनि प्रेस मिटको सन्दर्भमा यस भ्रमणको सौहार्दपूर्ण वातावरणको मर्म अनुरुप सीमा लगायत थाति रहेका सबै समस्या समाधान गरिनेछ भन्ने भावना स्पष्ट रुपमा व्यक्त गर्नुभएको छ। धेरै समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमा सम्बन्धमा आएको यो सकारात्मक अभिव्यक्तिबाट हामी उत्साहित भएका छौं।'

नेपाल भारत बीचको पूरानो सम्बन्धलाई अझै बलियो बनाउनेबारे छलफल भएको पनि प्रधानमन्त्री प्रचण्डले बताए। उनले भारती प्रधानमन्त्री मोदीसँग नयाँ दिल्लीस्थित हैदारावाद हाउसमा भएका सम्झौताहरू महत्वपूर्ण भएको बताएका छन्। 

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको पनि जानकारी गराएका छन्। आफ्नो निम्तो ग्रहण गरेपछि प्रधानमन्त्री मोदीले अनुकूल समय मिलाएर भ्रमणमा आउने बताएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।

Laxmi sunrise bank
kumari

'भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४, २०१८ र २०२२ मा नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपाल भ्रमणलाई ठूलो महत्व दिएको बताउँदै उपयुक्त समयमा भ्रमण गर्ने जवाफ दिनुभएको छ,' प्रधानमन्त्री प्रचण्डले भने।

प्रधानमन्त्री दाहाल जेठ १७ मा ४ दिने भारत भ्रमणमा गएका थिए। उनी शनिबार साँझ ६ बजे स्वदेश फर्किएका हुन्। उनले भ्रमण परिणाममुखी रहेको बताए।

प्रकाशित: Jun 03, 2023| 19:37 शनिबार, जेठ २०, २०८०
प्रतिक्रिया दिनुहोस्