‘सञ्जीवना रे ! सञ्जीवना ! तु इसको काटके दामुल पर काहे नहीँ चढा रे ?’
‘दामुल’ चलचित्रको अन्तिम संवाद हो यो। दामुल शब्दलाई फाँसीको अर्थमा लिन सकिन्छ। चलचित्रका प्रमुख पात्र सञ्जीवनाकी पत्नीको संवाद हो यो। फाँसीमा चढाइएका आफ्ना निर्दोष श्रीमान् सञ्जीवनालाई सम्बोधन गर्दै उनी भन्छिन्, ‘यसलाई काटेर किन फाँसीमा चढिनस् ?’ यति संवादले वस्तुस्थितिको आकलन गर्न सकिन्छ।
दामुल सन् १९८५ मा निर्माता–निर्देशक प्रकाश झाले बनाएको चलचित्र हो। भारतको बिहार प्रान्तका गाउँको कथा–व्यथामाथि बनाइएको उक्त चलचित्र यति वास्तविक लाग्छ मानौं हामी त्यही गाउँका बासिन्दा हौं र यो कथा हाम्रै गाउँठाउँ र परिवेशको हो। बिहारका लेखक ‘शैवाल’को लघुकथामाथि यो चलचित्र निर्माण गरिएको हो।
बलिउडका निर्माता–निर्देशक प्रकाश झाको ‘दामुल’ दोस्रो चलचित्र हो। यसअघि सन् १९८४ मा ‘हिपहिप हुर्रे’ बाट उनले फिचर फिल्ममा हात हालेका थिए। ‘दामुल’मा भारतको बिहार प्रान्तको समाजको सामन्ती प्रथा र जातीय दलनको विषयलाई उठाइएको छ। उनको दोस्रो चलचित्रले नै राष्ट्रिय पुरस्कार दिलायो भने उनलाई एक सफल निर्माता/निर्देशकको रुपमा स्थापित गरायो।
निर्देशक झाले आफ्ना प्रायः चलचित्रमार्फत विषयको अन्तरवस्तु खोतलेर पस्किने गरेका छन्, जो बेलाबेला समाज र व्यवस्थालाई अपाच्य पनि हुने गरेको छ।
प्रकाश झाको विषयवस्तुको रोजाइ कठिन खालको हुन्छ। तर उनले निर्माण गर्ने चलचित्र भने वास्तविकताको धेरै नजिक पुगेको दर्शकहरुले आभाष पाउन सक्छन्। निर्देशक झाले कमर्सियल चलचित्र बनाए पनि उनको विषयको चयन भने आफ्नै पाराको छ। उनी प्राय: राजनीतिक विषयवस्तुमाथि चलचित्र निर्माण गर्ने निर्माताको रुपमा चर्चित रहे पनि उनको चलचित्रले देश–समाज, परिवेष र त्यसभित्रको व्यवस्थालाई मिहिन ढंगले प्रस्तुत गरिरहेको हुन्छ। समग्रमा भन्दा उनले अदृष्य कथाहरुको पनि कथा भन्न रुचाउने फिल्ममेकर हुन्। उनले जुन विषयमाथि चलचित्र बनाए पनि ती विषयभित्रको नांगो तथ्यलाई देखाइदिन माहिर छन्।
दामुलमा मुख्य भूमिकामा अन्नु कपुर, दिप्ती नवल, मनोहर सिंह, श्रीला मजुमदार, प्यारे मोहनलगायत कलाकार रहेका छन्। चलचित्रको सुरुवात गाउँमा हुने मुखियाको चुनावी चहलपहलबाट हुन्छ। बजारमा समेत चुनावी माहोल छ। ठूला जमिन्दार बच्चा सिंह र अर्का ठूला जमिन्दार तथा मुखिया माधव पाण्डे लामो समयदेखि एक अर्काका प्रतिस्पर्धी हुन्छन्।
निरन्तरको हारपछि जमिन्दार बच्चा सिंहले माधव पाण्डेविरुद्ध यस पटकको चुनावमा भने फरक राजनीतिक चाल चल्छ र आफ्नो ठाउँमा गाउँका दलित समुदायका हरिजन चमार गोकुललाई उठाउँछन्। उनी गोकुललाई जिताएर गाउँमा राज गर्ने सपना बुनिरहेका हुन्छन्।
जमिन्दार बच्चा सिंहले, छुवाछूत र भेदभाव गाउँका बाभन (बाहुन)हरुले बनाएका नाटक हुन्, म यस्तो कुरा मान्दिनँ, जबसम्म माधव पाण्डे मुखिया रहन्छ यस गाउँमा तबसमम केही पनि बदलिन्न, हरिजन मारिन्छन्, कुल्चिन्छ भन्ने ठूलो भाषण दिएर गाउँका हरिजन समुदायलाई आफ्नो प्रभावमा पार्छ। उनले गाउँका मुखियाले दलित र सोझा गरिबलाई कहिलेसम्म लुट्ने ? अब दलितका आफ्नै नेता उठ्नुपर्छ भन्दै भाषण गर्छ।
उनले मुखियाका लागि गोकुललाई प्रतिष्पर्धी छान्छन्। गोकुल आनाकानी गर्छन्। उनी निरिह देखिन्छन्। यद्यपि सारा दलित र गरिब उनको पक्षमा देखिन्छन्। अब चुनावी माहौल तात्छ। यता भोट बाँडियो भने समस्या हुने आभाष पाएका माधव पाण्डेले अनेक प्रपञ्च रच्न थाल्छन्। सञ्जीवनीका बाबु पुनाई चमार जमिन्दार माधव पाण्डेका कमैया हुन्छन्। पाण्डेले चुनावमा प्रयोग गर्नको लागि कट्टा अर्थात् बन्दुक ल्याउन भनेर उनलाई खटाएका हुन्छन्। यता बच्चा सिंहले उनलाई चुनाव आफ्नै समुदायको चमार गोकुललाई जिताउनु पर्छ भन्दै भड्काउँछ र सबै बन्दुक हत्याउन खोज्छ। पुनाई उनको बहकाउमा आउँछन्। यहीबाट चलचित्र मूल विषयमा प्रवेश गर्छ।
यता पुनाईले आफूलाई धोका दिएको भन्दै आफ्नै जमिन्दारले उसको हत्या गराउँछ र ऋणको नक्कली तमसुक बनाई बाबुको ठाउँमा कमैयाको रुपमा उनका छोरा सञ्जीवनीलाई राख्छ। गाउँमा चुनाव हुन्छ। माधव पाण्डेको मान्छे हात–हतियार सहित चमार समुदायलाई भोट हाल्नबाट रोक्छ। शक्ति प्रयोग गरेर उनीहरूलाई घरभित्रै बन्धनमा पारिन्छ। सबैलाई एकै ठाउँमा थुनेर जमिन्दार माधव पाण्डेले चुनाव जित्छ।
निर्देशक झाले आफ्ना प्रायः चलचित्रमार्फत विषयको अन्तरवस्तु खोतलेर पस्किने गरेका छन्, जो बेलाबेला समाज र व्यवस्थालाई अपाच्य पनि हुने गरेको छ।
चमारले आफूविरुद्ध उठ्ने दुस्साहस गरेको भन्दै उ अब झन् गाउँको शोषणलाई तीब्र बनाउँदै लैजान्छ। गाउँमै जग्गाजमिन भएकी बाहुनी विधवाको भूमिकामा रहेकी ‘महत्माइन’ अर्थात् दिप्ती नवल जसको कोही पनि हुँदैन। उनलाई मुखिया पाण्डेले राति बलात्कार गर्ने गर्छन्। विधवाले विरोध गर्दा तिमी विधवा हुँदा मैले गरेको सहयोगको बापत यति त तिमीले मेरो लागि गर्न सक्छौ भन्दै उनलाई समाजको त्रास देखाउँछन्। उनलाई गर्भ तुहाउन समेत लगाउँछन्।
गाउँमा कतै पनि असल शासन देखिँदैन। यता सञ्जिवनीलाई गाउँ र अर्को गाउँहरुबाट वस्तुभाउ चोरेर ल्याउन लगाउँछ। उक्त कामका लागि मुखिया पाण्डेले पूरै गिरोह नै बनाएको हुन्छ। चोरीका गाईगोरुलाई उनले महँगो मूल्यमा बेच्ने गरेको हुन्छ।
मुखियाका भाइ जो ठेकेदारी पनि गर्छ, गाउँका श्रमिकहरुलाई लुट्नसम्म लुट्छ। दिनभरि काम गर्दा पनि पेट भर्ने ज्याला दिँदैन। मजदुरलाई यातना त दिन्छन् नै। उनीहरुका छोरीबेटी पनि असुरक्षित हुन्छन्। मुखिया र उनको भाइसँग पूरै गाउँ आजित छ।
जमिन्दार बच्चा सिंह केही गरी मुखिया जित्न नसकेको पीडामा छटपटिएको हुन्छ। उनले माधव पाण्डेसँग बदला लिने योजनाअनुरुप मजदुरलाई भड्काउन सुरु गर्छ। उनले पञ्जाबमा मजदुरी गर्यो भने खुब पैसा कमाइ हुने कुरा पूरै गाउँमा प्रचार गर्न लगाउँछ। जमिन्दारहरुको निर्मम शोषणबाट आजित मजदुरहरु, मजदुरीका लागि शहर जाने तयारीमा जुट्छन्।
यता मुखिया माधवका भाइले खेत जोत्ने किसान र मजदुरी गर्ने मजदुर नै नभएपछि कसरी यत्रो जग्गाजमिनको भोगचलन गर्ने र ठाँटका साथ बस्ने भनेर विदेश जान हिँडेका मजदुरहरुलाई आफ्नो मान्छे लगाई गोली हानी हत्या गराउँछ र सिंगो गाउँ नै जलाइदिन्छ।
१७ जना सोझासाझा गाउँले मजदुर एकै चिहान हुन्छ। सबैतिर रुवाबासी र पीडामात्र छ। जमिन्दार बच्चा सिंह मौकाको पर्खाइमा हुन्छ। जमिन्दार माधवले आफ्नो भाइलाई बचाउन उनलाई भागबन्डा मिलाउनतिर लाग्छन्। मुखिया माधव भन्छन्, मसँग दोस्तीको हात बढाउ, म नहरको नक्सा बदलेर तिम्रो खेतबाट जाने बनाइदिन्छु, नहरको बाँकीको कन्ट्रयाक्ट पनि तिमीलाई भयो र महत्माइनको जग्गा तिम्रो जोतखन हुने भन्दै आफूसँग मिलाउँछ र घटनालाई सामसुम पार्छ।
घटनाको मुचुल्का उठाउने प्रहरीदेखि मुख्यमन्त्री र राजनीतिक शक्तिका अगाडि घटनालाई लुटपाटमा परिणत गरिन्छ। घटनाको जानकारी लिन गाउँ आएका मुख्यमन्त्रीलाई, डाकाहरुले यस्तो उत्पात मचाएको भन्दै दुबै जमिन्दार एक स्वर हुन्छ।
यता घटनाका बारेमा मन्त्रीलाई झुठा विवरण दिने जमिनदारहरुको विरोधमा आफू बोल्ने भन्दै सबैलाई सान्त्वना दिइरहकी महत्माइनलाई मुखिया माधवले बलात्कार गराई हत्या गराउन लगाउँछन् र मजदुरको हत्याको विरोधमा विद्रोह गर्न खोजेका सञ्जीवनीमाथि महत्माइनको बलात्कार र हत्याको आरोप लगाइन्छ र उनी जेल चलान हुन्छन्।
विधवा बलात्कार र हत्याजस्तो जघन्य अपराधको दण्डस्वरुप निर्दोष सञ्जीवनालाई दामुलमा चढाइन्छ। उनको फाँसीको सजायको घोषणा सुनेर अत्तालिएकी उनकी श्रीमती अदालतबाट भाग्छिन्।
तर उनी भागेको मात्र हुँदिन, उनले अन्यको विरुद्ध प्रतिकार गरेको देखाउँछ चलचित्रले। राति आगो ताप्दै आसेपासेसँग गफिइरहेका मावध पाण्डेको घाँटीमा अनायास उनले धारिलो हतियारले प्रहार गर्दै हत्या गरिदिन्छिन् र भन्छिन्, ‘सञ्जीवना रे ! सञ्जीवना ! तु इसको काटके दामुल पर काहे नही चढा रे ?’
चलचित्र यही समाप्त हुन्छ। तर चलचित्रले थुप्रै मुद्दाको उठान गरिदिएको छ। गाउँमा पीडित वर्ग समुदायप्रति कुन हदसम्मको राजनीति हुन्छ र कसरी सामान्य गाउँलेहरुलाई विभिन्न घटनामा फसाएर कमारो बनाइन्छ भन्ने देखाइएको छ भने राज्यबाट कसरी तिनीहरु नै अपहेलित हुन पुग्छन्। राज्य पनि ठूलाबडा र जमिन्दारकै पहुँचमा रहेको तथ्यलाई पुष्टि गरिदिएको छ।
गरिब मजदुर किसानमाथि मिलेरै शोषण गर्ने शोषकहरु कुन हदसम्म जान सक्छन् भन्ने कुराको पुष्टि दुई विद्रोही पात्र महत्माइन र सञ्जीवनीको मृत्युले देखाएको छ। दामुल चलचित्रमा रघुनाथ सेठको संगीत रहेको छ। उनको संगीतले चलचित्रलाई अर्को उचाइमा पुर्याउन मद्दत गरहेको छ। सशक्त संवाद, स्थानीय बोली र भाषा चलचित्रको सबल पक्ष हो। चलचित्रको दृश्यहरु एकदमै सुन्दर र सुहाउँदो छ भने चरित्रको लागि कलाकारको चयनमा समेत चलचित्रकर्मीहरुको मेहनत देखिन्छ।
नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको तेश्रो संकरणमा सहभागी हुन नेपाल आएका बेला निर्देशक झाले भनेका थिए, ‘हामीले भन्ने कथावस्तु दर्शकले बुझ्ने भाषामार्फत सिनेमाघरसम्म पुर्याउनुपर्छ।’ धेरै पहिले निर्माण भएको दामुलमा पनि उनले आफ्नो भनाइलाई आत्मसात गरेका छन्। ‘दामुल’, ‘मृत्युदण्ड’, ‘गंगाजल’, ‘अपहरण’, ‘सत्याग्रह’ उनका प्रतिनिधि हिन्दी चलचित्र हुन्।