सोमबार, वैशाख २८, २०८३

कीर्तिमानी आरोही बुढामगरलाई कांग्रेसको सम्मान

आरोही बुढाले कृत्रिम खुट्टाका सहाराले सगरमाथा जितेर नेपालको पहिचानलाई विश्वभर फैलाएको सभापति देउवाको धारणा।
 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

काठमाडौं– कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही हरि बुढामगरले देशको गौरव बढाएको बताएका छन्। बिहीबार धुम्बाराहीस्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा सभापति देउवाले पार्टीका तर्फबाट आरोही बुढामगरलाई सम्मान गरे।

National life

सभापति देउवाले नेपालको पहिचानलाई विश्वभर प्रवद्र्धन हुने गरी साहसिक आरोहण गरेर कीर्तिमान कायम गरेको भन्दै बुढामगरलाई धन्यवाद दिए।उनले बुढामगरको सफलता पार्टी, राष्ट्र र नेपाली जनताका लागि गौरवको विषय भएको बताए।

उनले भने, ‘सगरमाथा आरोहण गरी बुढामगरले कीर्तिमान कायम गर्दै देशको गौरव र शान बढाउनुभएको छ। भोलिका दिनमा अझै कीर्तिमान थप्दै जानुस्। मेरो पार्टी र सम्पूर्ण नेपाली जनताका तर्फबाट हार्दिक बधाइ तथा शुभकामना दिन चाहन्छु।’

उनले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे जनचेतना अभिवृद्धिमा भूमिका खेल्न आग्रह गरे। पूर्वप्रधानमन्त्री देउवाले बुढामगरलाई कदरसहित सम्मान र पार्टीको चारतारे झन्डा पनि दिएका थिए। आरोही बुढामगरका बुबा तथा आरोहण दलका सदस्यलाई पनि सम्मान गरिएको थियो । 

आरोही बुढामगरले बाल्यकालमा गाउँमा छँदा भोगेका दुःख र संघर्षका किस्सा सुनाउँदै आफ्नो सफलताले देशको गौरव र इज्जत बढाएको बताए। उनले आफू स्वतन्त्र रुपमा देशको गौरव बढाउन विभिन्न सामाजिक काम गरेर अघि बढ्न चाहेको उल्लेख गरे।

आरोही बुढामगरले विश्व शान्ति प्रवद्र्धन र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे सचेतना अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्ने बताए। उनले भने, ‘सगरमाथाले धेरै राजनीतिक पार्टीमा परिवर्तन ल्याएको छ, निजामती प्रशासनलाई पनि झकझक्याएको छ। मैले १५ वर्ष ब्रिटिस आर्मीमा जागिर खाएँ। जहिले पनि देशका लागि के गर्ने भन्ने आकांक्षा थियो। अहिले सगरमाथा चढेर देशको गौरव बढाएको छु।’ 

आरोही बुढामगरले सगरमाथा आरोहणका क्रममा जलवायु परिवर्तनको प्रभाव परिरहेको देखेको भन्दै विश्व तापमान र जलवायु परिवर्तनको क्षेत्रमा सक्रिय भएर काम गर्न चाहेको उल्लेख गरे। घुँडासम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक बुढामगर ५ जेठमा सर्वोच्च शिखर सगरमाथाको चुचुरो पुगेका थिए।

प्रकाशित: Jun 01, 2023| 15:19 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्