सोमबार, वैशाख २८, २०८३

झलनाथ खनाल सहभागी कार्यक्रममा हुलदंगा गरेको भन्दै ९ जना पक्राउ

 |  बुधबार, जेठ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

National life

काठमाडौं- नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका कम्युनिस्ट नेता सहभागी ‘नागरिकता विधेयक र देशको सीमा रेखा’ सम्बन्धी कार्यक्रममा हुलदंगा र नाराबाजी गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ। 
मंगलबार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा नेता खनाल, नेकपा क्रान्तिकारी माओवादीका सिपी गजुरेल र पूर्वगभर्नर डा. दीपेन्द्र क्षेत्री सहभागी कार्यक्रममा हुलद‌गा र नाराबाजी गर्ने नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए। 
उनका अनुसार पक्राउ पर्ने अन्यमा धादिङ सलाङ गाउँपालिका–४ घर भई काठमाडौँ बस्ने ३० वर्षीय सन्तोष राजावादी, बाँके कोहलपुर महानगरपालिका–१ का २८ वर्षीय सतिश राजावादी, रामेछाप सुनपाती–५ का २१ वर्षीय तारा राजावादी, सिन्धुली तिनपाटा–१० का २७ वर्षीय क्षितिज चौलागाईं, पाल्पा रामपुर–५ का २० वर्षीय आकाशकुमार भट्ट, बारा निजगड–४ का २८ वर्षीय सुजन राजावादी, सोही ठाउँका २० वर्षीय अर्पण खड्का र २४ वर्षीय निश्चल राजावादी तथा रुपन्देही देवीनगर–१७ का ३१ वर्षीय रितेश केसी छन्।
उनीहरुलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ। कार्यक्रममा सन्तोष राजावादीले मञ्च कब्जा गरेर पूर्वराजाको पक्षमा भाषण गर्नुका साथै अन्यले सामूहिक रुपमा नाराबाजी गरेका थिए। 
पूर्वप्रधानमन्त्री खनालविरुद्ध उक्त समूहले आक्रोशित हुँदै नाराबाजी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: May 31, 2023| 20:40 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्