बुधबार, भदौ ११, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गर्छौं: पराष्ट्रमन्त्री साउद

भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गर्छौं: पराष्ट्रमन्त्री साउद

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा व्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात सम्बन्ध, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोगगायत मुद्दालाई अगाडि बढाइने।
 |  मंगलबार, जेठ १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १६, २०८०

vianetvianet

काठमाडौैं– भोलिदेखि दक्षिण छिमेकी भारत जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा हुने सम्झौताबारे सरकारले मुख खोलेको छ। प्रधानमन्त्री प्रचण्ड १७ देखि २० जेठसम्म भारत भ्रमणमा जाँदै छन्।  परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने जानकारी दिएका हुन।

Kumaribank

उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले क्रममा नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने बताए। उनले भ्रमणका क्रममा व्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात सम्बन्ध, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोगगायत मुद्दालाई अगाडि बढाइने प्रतिबद्धता जनाए।

भ्रमणमा नेपालमा जलविद्युत् उत्पादन बढाउने र उत्पादनमा भारतीय लगानी सुनिश्चित गर्ने कुरालाई मुख्य जोड दिइने मन्त्री साउदको भनाइ छ।उनले भारतीय भूमि प्रयोग गरी बंगलादेशमा ऊर्जा व्यापार गर्ने विषयमा दिल्लीको सहयोग लिइने भ्रमणको मुख्य विषय रहेको बताए।

साउदले भने, ‘नेपाल र भारतबीचमा घनिष्ठ मैत्रीपूर्ण सम्बन्ध रही आएको छ। यो भ्रमणमा हामीले दुई देशबीचको सम्बन्धलाई ज्यादा प्रगाढ बनाउने कोसिस गर्नेछौं र दुई देशबीचको समझदारीलाई पनि अझ बढाउँदै लैजाने हाम्रो प्रयत्न रहनेछ। हामीले भ्रमणमा ट्रेड, ट्रान्जिट, कनेक्टिभिटी, इन्फास्ट्रक्चर डेभलपमेन्ट, फाइनान्सियल को–अपरेसनजस्ता मुद्दालाई अगाडि बढाउनेछौं।’

यसबारे दुई देशबीचमा, दुई देशका सरकारका बीचमा वार्ताबाट केही ठोस निष्कर्षमा पुग्ने तयारी भइरहेको उनले बताए। मन्त्री साउदले सरकारले भारतसँग गरेका सम्झौताको पूर्ण कार्यान्वयन नहुने गरेको भन्दै यो भ्रमणमा भने सम्झौता गरेका कुराको पूर्ण कार्यान्वयन हुने ग्यारेन्टी गरे।

Metro Mart

उनले कार्यान्वयनको सुनिश्चित गर्न नसके भ्रमणमा भएका सम्झौताको कुनै अर्थ नरहने भन्दै भारतसँग बढाइएका एजेन्डाको पूर्ण कार्यान्वयन हुने अपेक्षा रहेको बताए। साउदले भ्रमणका क्रममा पञ्चेश्वर परियोजना निर्माणदेखि पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डिपिआरलाई पनि अघि बढाउन प्रस्ताव राखिने जानकारी दिए।

उनले भने, ‘कमिटमेन्ट आउने, कार्यान्वयनको पक्ष कमजोर हुने पक्ष कुनै न कुनै रूपमा दुवैतिर भइरहेको छ भन्ने अनुभवछ । हामी उच्चस्तरीय छलफलको सन्दर्भमा कुनै सहमतिमा पुगेपछि त्यसको कार्यान्वयनलाई पनि  सुनिश्चित गरेर लैजानुपर्छ। जुन एजेन्डा हामी अगाडि बढाउँदै छौं, ती एजेन्डाको कार्यान्वयन हुनेछ।’ 

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डिपिआरलाई अघि बढाउन प्रयत्न गरिने उनले बताए। एयर ट्रान्जिट, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान सेवाका इस्युलगायत विषयलाई छलफल गरेर टुंगोमा पुग्ने प्रयत्नमा सरकार रहेको मन्त्री साउदले जानकारी दिए।

मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमणमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलायमान बनाउन भारतसँगका केही असमझदमारीलाई हटाउनेबारे पनि छलफल हुने बताए। 

परराष्ट्रमन्त्री साउद, अर्थमन्त्री डा.प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल प्रधानमन्त्री प्रचण्डको भ्रमण दलमा सामेल हुनेछन्।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखड र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ।

प्रकाशित: May 30, 2023| 12:10 मंगलबार, जेठ १६, २०८०
प्रतिक्रिया दिनुहोस्