काठमाडौं– १६औं गणतन्त्र दिवस अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमसहित हर्षोल्लास मनाइँदै छ। जनताको शासन मानिने गणतन्त्र दिवस नेपालमा नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि मनाइन थालेको हो।
टुँडिखेलस्थित गणतन्त्र दिवस कार्यक्रमामा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सर्वोच्च अदालतका प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहभागी छन्। सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षलगायत उच्च पदस्थ व्यक्ति टुँडिखेलमा आयोजित गणतन्त्र दिवसमा सरिक भएका छन्।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाध्यक्षलगायत विभिन्न राजनीतिक दलका प्रमुखले गणतन्त्र दिवसलाई सम्झिएका छन्। उनीहरूले गणतन्त्र स्थापनाको आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
२०६२/६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना भएको हो। तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी)बीच भएको सहमतिअनुसार २८ चैत २०६४ मा संविधानसभाको निर्वाचन भयो।
१५ जेठ २०६५ मा संविधानसभाको पहिलो बैठकले २४० वर्षदेखि कायम शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो। गणतन्त्रलाई एउटा शासन प्रणालीमात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धतिका रूपमा लिने गरिएको छ।
सरकार प्रमुख एवं राजनीतिक दलका नेताहरुले लोकतान्त्रिक गणतन्त्रको सुन्दर प्रणालीलाई बलियो तुल्याएर गरिबी र पछौटेपनविरुद्धको लडाइँ जित्न त्यसतर्फ अग्रसर हुन सबै नेपाली जनतामा आह्वानसमेत गरेका छन्।