सोमबार, वैशाख २८, २०८३

साहस र संकल्पले असम्भव कुरा पनि सम्भव हुन्छ : अध्यक्ष ओली

 |  आइतबार, जेठ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १४, २०८०

काठमाडौं- नेकपा एमालेले अपाङ्गता भए पनि सगरमाथाको शिखर सफल आरोहण गरेका रोल्पाका हरिबहादुर बुढामगरलाई सम्मान गरेको छ। 

National life

ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा आज एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई खादा र पुष्पगुच्छासहित सम्मान गरेका हुन्। अध्यक्ष ओलीले उनको सगरमाथाको सफल आरोहण अपाङ्गता भएका व्यक्तिहरूको मात्रै नभएर सबै नेपाली र विश्वकै लागि पनि प्रेरणादायी रहेको बताए।  

उनले बुढामगरको सफलता नेपाल र नेपालीको मात्रै सफलता नभएर विश्वकै सफलता भएको पनि उल्लेख गरे। ‘हरि बुढामगरको सगरमाथाको सफल आरोहण हामी सबैका लागि प्रेरणादायी छ। मानिसले साहस र  सङ्कल्प गरे असम्भव देखिएका चिज पनि सम्भव हुन्छन’, उनले भने, ‘उहाँ अपाङ्गता भएर यताउता हिँड्न नसक्ने हुनुहुन्छ। तर सगरमाथा चढेर आउनुभयो।’

अध्यक्ष ओलीले मगरले शारीरिक अपाङ्गता भएका मानिसको उचाइ सगरमाथामाथि थप्नुभएको भनाइ राख्नुभयो। ‘सबैका लागि उहाँ प्रेरणाको स्रोत बन्नुभएको छ। यो सफलता हामी सबै नेपालीको सफलता हो।  विश्वकै साहस र सङ्कल्पको सफलता हो। केही गर्छु भन्ने अठोटको सफलता हो’, ओलीले भने।  

कार्यक्रममा उपमहासचिव प्रदीप ज्ञवालीले दुवै खुट्टा नभएर विश्वको सर्वोच्च सगरमाथा चढेर मगरले नेपालका लागि खुसी र गर्वको विषय बनाएको बताए। 

सफल आरोही मगरले अपाङ्गता भएका व्यक्तिलाई सहयोग र अवसर दिन आग्रह गरे। उनले नेपाल र नेपालीको शिर सगरमाथा जस्तै उच्च राख्न सकेको बताए। 

सगरमाथाको चुचुरोमा अपाङ्गता भएका व्यक्तिलाई पनि पुर्‍याइएको आफूलाई अनुभव प्राप्त भएको उनको भनाइ थियो। उनले अपाङ्गता जनजागरण ल्याउने र अपाङगता भएका व्यक्तिको सेवामा खटिने बताउनुभयो। 

रोल्पाको थबाङस्थित मिरुल घर भएका दुवै खुट्टा गुमाएका बुढामगरले यही जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए। 
 

प्रकाशित: May 28, 2023| 18:54 आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्