नेपाली साहित्यकी स्थापित साहित्यकार मनिषा गौचनले नयाँ पुस्तक ‘प्रतिवहन’ कथा संग्रह पाठकमा समर्पण गरेकी छन्। नेपाली आख्यान साहित्यकी ‘फाइटर लेखक’ भन्न सुहाउने मनिषाले आफ्नो जीवनलाई दुस्साहसपूर्वक जिएकी छन्। उनी आफ्ना शब्द र अक्षरहरुमा समेत यसरी नै पोखिएकी छन्।
२०७९ चैतमा बजारमा आएको कथा संग्रह 'प्रतिवहन'मा उनको जीवन भोगाइको केही अंश विभिन्न कथाको माध्यमबाट पढ्न पाइन्छ। लेखक स्वयंले केही कथाहरु आफ्नो जीवनसँग गाँसिएर आएको बताएकी छन्।
साहित्यमा फूलहरुको रंग छैन कविता संग्रह मार्फत दर्बिलो उपस्थिति जनाएकी मनिषाको उपन्यास ‘वल्लीको डायरी’ २०६३ मा प्रकाशित भएको थियो। यो उपन्यासको ‘ग्ल्यामर’ यस्तो रह्यो कि आज पनि उनलाई वल्लीको डायरी लेख्ने लेखिका भनेर धेरैले चिन्छन्। झण्डै १६ वर्ष अगाडि पुरुष वेश्याको विषयमा लेखिएको यो नै सम्भवतः पहिलो नेपाली उपन्यास हो। अझ महिलाले पुरुष वेश्या पात्रलाई उभ्याउनुले छुट्टै रोमाञ्चकता थपेको छ।
२०७० मा मनिषाको ‘ह्वाइट केन’ अर्थात् सेतो छडी उपन्यास प्रकाशित भएको थियो। ह्वाइट केनले मनिषालाई साहित्य क्षेत्रमा स्थापित गरायो। यी दुवै उपन्यास सशक्त छन्। झण्डै एक दशकपछि भर्खरमात्रै प्रकाशित मनिषाको चौथो कृति ‘प्रतिवहन’ र साहित्यका विविध आयाममाथि नेपाल समयका लागि विजेताले गरेको कुराकानीः
कथा संग्रह ‘प्रतिवहन’को लागि शुभकामना छ। नयाँ कृति विमोचन नै नगर्ने निर्णय लिनुभयो। अहिलेको मन्दीको अवस्थामा स्वागतयोग्य छ, तर पाठकले र बजारले समेत किताबबारे थाहा पाएनन् नि ?
किताब लेखिसकेपछि किताबले नै बोल्नुपर्छ भन्ने मान्यता हो मेरो। किताब लेख्दा लाग्ने मेहनत र परिश्रमले उत्सव गर्ने मन सबैको हुन्छ तर अहिलेको दु:खदायी परिस्थिति, आर्थिक मन्दी र युक्रेनलगायत युद्धका कुरामात्रै छ सबैतिर। एक प्रकारले ‘डार्क’ अवस्था छ। यस्तोमा म रमाउन नसकेकै कारण विमोचन नगरेको हो। समाजमा के भइरहेको छ भन्नेप्रति म संवेदनशिल छु।
नेपाली साहित्यमा गोविन्दबहादुर मल्ल गोठाले, परशु प्रधान, विजय मल्ल, मनु ब्रजाकी र वर्तमानमा राजेन्द्र पराजुली कथा फाँटका माहिर कारिन्दा हुन्, तर यतिबेला युवा सहित्यकारहरुमा उपन्यासको होड छ। यस्तोमा कथा संग्रह ल्याएर ‘रिस्क’ लिनु भएको जस्तो लाग्दैन ?
उपन्यास पनि त एउटा लामो कथा हो। मेरो कथाहरु पहिले पनि प्रकाशित भएको छ। संग्रहका कतिपय कथाहरु मेरो पूर्व प्रकाशित कथा नै हो। कथाहरु लेख्दै पनि थिएँ। मैले किताब ननिकालेको धेरै लामो समय भएको थियो र मलाई माया गर्नेहरुले नयाँ किताब कहिले ल्याउने भनेर सोधिराख्नु हुन्थ्यो। यस्तो खालको प्रश्नले पनि हौसला दिएर होला यसपालि कथा संग्रह ल्याएको। इमान्दारिताको साथ भन्नुपर्दा कथा संग्रह निकाल्दा मलाई रिस्क लिएको जस्तो लाागेको छैन। बरु उपन्यास लेख्दाखेरी विषयवस्तुको हिसाबले मैले रिस्क लिएकै हो। वल्लीको डायरीदेखि लिएर आँखा देख्ने मान्छेले आँखा नदेख्ने मान्छेको विषयमा लेख्नु बरु ठूलो रिस्क थियो मेरो लागि।
‘ह्वाइट केन’को एक संवादमा प्रमुख पात्र भाष्वतलाई, ‘भाष्वत, तिमीभित्र एउटा रहस्यमय दृष्टि छ, कोही भाग्न सक्दैन तिमीलाई छलेर।’ के वास्तवमा दृष्टिविहिन व्यक्तिहरुसँग हेर्ने फरक दृष्टि हुन्छ ?
आँखा नदेख्नु र देख्नुको कुरा छ नि त्यहाँ। हामीले आँखा देख्छौं र दृश्यहरुसँग अल्झिन्छौं। उनीहरु आँखा देख्दैनन् त्यहि भएर गहिरो कुराहरुसँग जोडिन्छन्। त्यो कारणले दृष्टिविहिनसँग एउटा विशेष दृष्टि हुन्छ भन्न खोजिएको हो। वास्तवमा आँखा देख्नु भनेको हाम्रो चेतको कुरा हो, त्यो चाहिँ दृष्टिविहिनहरुमा बलियो हुन्छ। आँखा नदेख्ने मेरो साथीहरु मजाले मिलाएर कपडा लगाएको हुन्छ, अझ महिलाहरुले कुर्ता–सरुवाल र सल पनि चट्ट मिलाएका हुन्छन्, त्यही कुरा आँखा देख्नेलाई अनौठो लाग्छ तर त्यो क्षमता हो नि त।
कथा संग्रह प्रतिवहनदेखि उपन्यास ह्वाइट केनमा अपागंता भएका पात्रको जीवन, संघर्ष, अनुभूति, संवेदना–संघर्ष छ। यी पात्रहरुलाई कति नजिकबाट नियाल्नु भएको छ ? बुझ्नु भएको छ ?
मैले लामो सयमदेखि नै अपांगताको क्षेत्रमा काम गरिरहेको छु। संस्थागत भनौं अथवा व्यक्तिगत रुपमा म अझै पनि अपांगता भएका व्यक्ति, भाइबहिनी र साथीहरुसँग भेटिरहेको हुन्छु। मैले संगत गरेका धेरैजना छन् जोसँग भएको गुण र क्षमतालाई मैले अरुलाई पनि चिनाउनुपर्छ भन्ने लागेर मेरो किताबमा ती पात्र र कथाहरु आएको हो। ह्वाइट केनमा पनि मेरो एउटा साथीको कथा छ। सुरुवातमा मैले उसलाई भेट्दा म पनि प्रभावित भएकै हो। त्यहि झिल्कोबाट ह्वाइट केन जन्मेको हो।
समाजमा अपांगता भएका त्यस्ता पात्र हुन्छन् जसले संघर्ष गर्छन्। आफ्नो परिचय, आत्मस्वाभिमान र सम्मानको लागि काम गरिहेका हुन्छन्। समाजमा हिरो हुन्छन् नि त्यस्तालाई ल्याउनुपर्छ। प्रतिवहनमा पनि केही पात्रहरु त्यस्ता आएका छन्, जसलाई समाजले गरेको व्यवहार र त्यसको परिणामले उत्पन्न हुने परिस्थितिको कथा छ। मेरो रचनाहरु पढेर अपागंता भएका व्यक्तिप्रतिको व्यवहारमा केही परिवर्तन आउँछ कि भन्ने मेरो अपेक्षा हो।
अपांगता भएका व्यक्ति कमजोर हुँदैनन् भन्ने कुरालाई भाष्वत र अन्य पात्रमार्फत जोडदार वकालत गर्नुभयो, उपन्यास नै लेख्नुभयो। तर के अपागंता भएका व्यक्तिप्रति उदार छ हाम्रो समाज ?
मैले लेखेको किताबले गर्दा नै केही व्यक्तिको व्यवहारमा परिवर्तन आएको कुराहरु छ। मेले एक ठाउँ पढेको थिएँ, ‘ह्वाइट केन पढ्दा दृष्टिविहनिलाई हेर्ने मेरो सोच नै बदलियो’। मैले लेख्ने मात्रै नभएर बोल्ने काम पनि गरिरहेको हुन्छु। एक जनालाई बनाउँदै गरेको घरमा अपांगता मैत्री बनाउनु है भनेको थिएँ। धेरैपछि उहासँग भेट हुँदा भन्नुभयो- तपाईंले भनेको कुराले मैले बनाउँदै गरेको घरको डिजाइनै परिवर्तन गरें। यस्तो प्रतिक्रियाहरु पाइरहेको हुन्छु।
ह्वाइट केनकै पात्र भाष्वतको कुरा गर्दा उनी जन्मसिद्ध दृष्टिविहिन हुन् तर उनलाई एकदमै यौन स्वच्छन्द पात्रको रुपमा उभ्याउनु भएको छ। आफ्नो सम्पर्कमा आउने प्रायः महिलासँग उनको यौनिक आकर्षण छ ? यो कति स्वाभाविक हो ?
यो प्रश्न मैले खेप्दै आइरहेको छु, विशेष गरी केटाहरुबाट। केटी मान्छेले त, जे–जे लेख्नु भयो एकदम सही हो, यस्तो हुन्छ भने। तर सबै दृष्टिविहिन त्यस्तो हुन्छ भन्न खोजेको चाहिँ होइन। दृष्टिविहिन केही पुरुषमा ‘स्पर्श’ले त्यस्तो भूमिका खेल्छ। जहिले पनि छुनुपर्ने हुन्छ। एउटा उन्मत्त जवान केटा मान्छेले उसको सम्पर्कमा आउने महिलालाई छोइरहनु पर्यो त्यसले पनि यौन भाव जगाएको हो। भाष्वतको सम्पर्कमा आएका केटीमान्छे उसँग आकर्षित भएको हो, त्यहाँ केटीको इच्छा देखिएको छ। भाष्वत हिरो हो, उसँग आकर्षित हुनु स्वाभाविक हो।
एउटी महिला लेखकले पुरुष वेश्याजस्तो पात्र र विषयलाई उठाउनाले नै वल्लीको डायरीमा आकर्षण थपिएको धेरैको बुझाइ छ, तर उपन्यासमा एउटा पुरुषको परिवार पाल्न गर्ने दु:ख र संघर्ष छ। विदेशमा भएका श्रीमानको चिरप्रतीक्षा गर्ने श्रीमतिको वेदना र एउटी आमाको उदासिनताको कथा पनि छ। श्रीमानको विदेशी कमाइमा मोज गर्ने मनमौजी श्रीमतिहरुको कथा पनि छ, जो ओझेलमा परेको जस्तो लाग्दैन?
यो चाहिँ हाम्रो समाज कहाँ छ भन्ने कुराले नै फरक पार्छ। वल्लीको डायरीमा थुप्रै कुराहरु छन्। तर पुरुष वेश्या भन्नेवित्तिकै यौनसँग जोडियो। यौन भन्नेवित्तिकै मान्छेको आकर्षण वेश्या पात्रसँग अलि बढी भएको हो कि जस्तो लाग्छ। महिलामात्रै किन पुरुष पनि वेश्या हुन्छ। हाम्रो समाजमा पुरुष वेश्या पनि छ भन्ने देखाउन नै यो उपन्यास लेखेको हो।
प्रकाशित हुनुपूर्व वल्लीको डायरीलाई पाठकले यति मन पाराउनु हुनेछ र आफू यसरी चर्चित हुनेछु जस्तो लागेको थियो ?
यो खालको चर्चा होला, साहित्य क्षेत्रमा यसरी चिनिनेछु जस्तो लागेको थिएन। एउटा कार्यक्रममा गएको थिएँ, एकजना अग्रज दिदीलाई मेरो नाम थाहा थिएन तर वल्लीको डायरी नाम थाहा थियो। मेरो नामभन्दा मैले गरेको काम कसैले सम्झिनु मेरो लागि एकदमै ठूलो कुरा हो।
नयाँ कृति प्रतिवहनमा २१ वटा कथा छन् तर प्रायः चलन भएजस्तो शीर्ष कथा छैन। प्रतिवहन छान्नुको विशेष कारण थियो की?
केही पाठकहरुले संग्रहभित्र प्रतिवहन कथा खोज्नु हुन्छ। तर एउटा कथाको मात्रै शीर्षक छान्दा अन्य कथामा विभेद होलाजस्तो लाग्यो। त्यही भएर सबै कथाहरुलाई समेट्न सक्ने गरी एउटा नाम छान्ने विचार गरें अनि जन्मियो प्रतिवहन। विभेदविरुद्धको मेरो एउटा सोचलाई मैले यहाँ खन्याएँ।
प्रतिवहन के हो ?
प्रतिवहन भनेको विपरित दिशामा बग्ने धार हो। कहिले हामी बाध्य भएर विपरित दिशामा जानुपर्ने हुन्छ, कहिले थाहा नहुँदा नहुँदै पनि हामी विपरित दिशामा गइरहेका हुन्छौं। कहिले उल्टो बग्दा गतिलो परिणाम पनि हुन्छ भने कहिले डरलाग्दो परिणाम पनि हुन्छ। यसै सेरोफेरोमा छ प्रतिवनका सबै कथाहरु।
संग्रहभित्रका पाठेघर, ठूलो बाबा र क्याप्सुलजस्ता कथा महत्वपूर्ण छन्। कसरी जन्मिए यी कथाहरु ? ठूलोबाबा कथा कहिँ तपाईंको आफ्नै जीवनसँग जोडिएको कथा त होइन ?
पाठेघर मेरो पुरानो कथा हो। पाठेघर निकालेपछिको एउटा महिलाको जीवनमा कस्तो खालको परिवर्तन आउन सक्छ। यसले सम्बन्धमा पार्ने प्रभाव, प्रेममा पार्ने प्रभावको कुरा हो। पाठेघर सन्तान, श्रीमान र परिवारसँग जोडिएर आउने कुरा हो। यो एउटा अंगमात्रै होइन। शरीरिक रुपमा एउटा स्वास्नीमान्छे कमजोर हुनेवित्तिकै पुरुषको मानसिकतामा पर्ने असरको कुरा पनि हो पाठेघर। यो कथा संग्रहमा दुइ तीनवटा कथा मेरो जिन्दगीसँग जोडिएको छ। ठूलोबाबा चाहिँ खासमा मेरो जिन्दगीकै कथा म भन्छु तर यसमा काल्पनिक जलप पनि छ। मेरो ठूलोबाबा अहिले हुनुहुन्न तर उहाँलाई सम्झेर लेखेको कथा हो यो।
महिलाहरुका कागि केटाहरु क्याप्सुल नै हुन् त ? क्याप्सुल कथाको बारेमा बताइदिनुस् न।
क्याप्सुल कथा मेरो व्यक्तिगत विचारमा चाहिँ मलाई नै भयानक लागेको हो। पाठकलाई पढ्दा कस्तो लाग्छ त्यो पछि थाहा हुन्छ। हामी बिरामी पर्दा क्याप्सुल खान्छौं तर यो क्याप्सुल र ट्याबलेटभन्दा बेग्लै खालको क्याप्सुल हो। एउटा परिपक्व महिलाको भर्खरको युवाहरुसँगको सम्बन्ध हो। किन उसले यस्तो केटाहरु रोज्छ ? कहिँ केटाहरु उको लागि क्याप्सुल मात्रै त होइन ? भन्ने प्रश्नहरुको कारण छ कथामा।
पात्रहरुको चरित्र चित्रण जसरी कथामा भएको छ। त्यो तपाईंको विवशेषता हो। यी पात्रहरुको परिकल्पना कसरी गर्नुहुन्छ ? कि वास्तविक हुन् यी पात्रहरु ?
चरित्र निर्माण गर्दा केही न केही कुराले छोएको हुन्छ। एउटा झिल्का बलेको हुन्छ। कोही मान्छे भेटेको हुन्छु। उसले बाँचेको जिन्दगी, उसको बोलेको कुरा र उसको व्यवहारले क्लिक गरेपछि पात्रको रुपमा समेटिन्छ। कसैसँग नबोलीकनै उसको हाउभावले पनि मलाई कथा लेख्न प्रेरणा मिल्छ। समात्न सकिएका झिल्काहरु हुन् यी कथाहरु र यसका पात्रको चित्रण र भंगिमाहरु।
कथा र कथाकारको चर्चा किन कम हुन्छ ?
पहिले पहिले त कथाकै बढी कुरा हुन्थ्यो। कथाकारकै बढी प्रशंसा हुन्थ्यो, नाम सुनिन्थ्यो पनि तर पछिल्लो पटक ट्रेन्ड भनौं अथवा होडबाजीकै कारण होला। तर कथा लेख्नुको आनन्द छुट्टै छ। मैले २१ वटा पात्रको जिन्दगी बाँचेको छु नि त लेखक भएर। त्यसको मजा छुट्टै छ फेरि।
सामाजिक सञ्जालमा लेख्नु भयो, ‘समाज दर्दनाक छ, पात्रहरु भयानक छन्। यस्तो अवस्थामा संयम भएर कमसेकम आफूवरपरको वातावरण शान्त राख्न सकेसम्म प्रयास गरौं।’ के समाज वास्तवमै दर्दनाक छ ?
हामीले विश्वास गर्दै आएका नेताहरुको चरित्र यतिबेला छताछुल्ल भएको देख्यौं नि त, त्यो भयानक पात्र हुन्। अर्को कुरा बलात्कारको घटना बढेको छ, श्रीमानले श्रीमति मार्ने, श्रीमतिले श्रीमान मार्ने घटनाहरु देखिरहेका छौं। त्यसले गर्दा डरलाग्दो पात्रहरु जन्मिरहेको लेखेको थिएँ। त्यसलाई कम गर्न हामी सचेत हुने कुरा हुन्छ। म सचेत हुनेवित्तिकै मेरो वरिपरीको व्यक्तिलाई सचेत हुन केही योगदान दिन सक्छु।
विश्व साहित्यमाझ नेपाली साहित्य कहिले पुग्ला ?
विदेशी लेखकले लेखेको कुरालाई हामीले पढ्न पाइरहेका छौं तर हामीले लेखेको हाम्रो अग्रज र राम्रा साहित्यकारहरुले लेखेको कुरालाई विदेशी पाठकले सजिलै पढ्न पाएका छन् त ? पाए पनि त्यो त्यहि रुपमा पाएको छैन। धेरै संघर्ष गर्नुपर्छ तर थोरै भए पनि बलियो साहित्य लेखिएको छ। विश्व साहित्यसँग प्रतिस्पर्धा गर्न बलियो प्रकाशकको हात हुन्छ, अनुवादक र सरकारको योगदान हुन्छ। तर सरकारको सहयोग केही छैन। उल्टो किताबमा कर लगाउने खालको छ हाम्रो सरकार। त्यसले गर्दा के भयो भने न त राम्रो खालको किताब पढ्नेमा पहुँच छ न हाम्रो साहित्य विदेशी बजारमा पुर्याउन सकेका छौं। विदेशमा भएका साथीभाइले मेरो किताब पढ्न खोजेका छन् तर पठाउने माध्यम नै छैन।
नेपाली साहित्य फाँटमा महिला र पुरुष साहित्यकार भनेर छुट्याउने अवस्था अझै छ ? चुनौति कति छ महिला लेखकलाई ?
महिलाले महिलालाई गर्ने सहयोग र समर्थनको कुरामा हामी पछाडि नै छौं भने पुरुषले महिलालाई गर्ने विभेदको कुरा त झन् छँदैछ। तर पहिलेको तुलनामा अहिले परिवर्तन भएको छ। चुनौति पनि थुप्रै छन्। हामीले निभाउने जिम्मेबारी कति धेरै छ। बुहारी, छोरी, आमा भएर निभाउने जिम्मेवारी त छँदैछ कोही नभए एक्लैले निभाउने जिम्मेवारीको कुरा भनिनसक्नु छ। पुरुष लेखक लेख्नको लागि एक महिना घरबाट बाहिर गएर लेख्न सक्छन् त्यो उनीहरुको लागि सजिलो छ। तर महिला लेखकलाई परिवार र घरबाट बाहिर निस्किन गाह्रो छ। लेख्ने वातावरण नै मिलाउन त हामीलाई असाध्यै गाह्रो छ। तर त्यो हुँदाहुँदै प्रयास चाहिँ गर्नुपर्छ। मलाई पनि समय मिलाउन गाह्रो छ तर मैले व्यवस्थापन गर्न कोसिस गर्छु। मैले एक हप्ता बाहिर ननिस्केको भए यो कथा संग्रह निस्किने थिएन।
अहिले के लेख्दै हुनुहुन्छ ?
धेरै पछि किताब आयो। एउटा दूरदराजको गाउँ जहाँ शिक्षाको लागि योगदान गरेको व्यक्तिको एउटा सानो वायोग्राफी लेखेर तयार भएको छ। दुई–तीन महिनामा आउँछ होला। त्यसपछि मैले आफू बाँचेको ठाउँ मुस्ताङमा फर्केर थकाली समुदायको संस्कार र संस्कृतिलाई लिएर किताब लेख्दैछु। म आफैं थकाली समुदायको भएर यस विषयमा लेख्नु चुनौतिपूर्ण नै छ। अहिले दुई–तीन वटा किताबमाथि एकै चोटी काम भइरहेको छ।
भिडियो: शिरिष महर्जन