सोमबार, वैशाख २८, २०८३

मुलुक सुशासनको यात्रामा हिँडिसक्योः प्रधानमन्त्री प्रचण्ड

अब ठूलाठूला एक्सन हुने र त्यसको तरंग पनि ठूलै जाने प्रधानमन्त्री प्रचण्डको दाबी।
 |  शनिबार, जेठ १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १३, २०८०

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा सुशासनको यात्रारम्भ भएको दाबी गरेका छन्।

National life

शनिबार काठमाडौंको शंखरापुरमा आयोजित प्रेस सेन्टर नेपालको १९औं साधारणसभा तथा २१औं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकमा बेथिति र विकृतिविरुद्ध लड्नुपर्नेमा जोड दिएका हुन्।

प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचार र विकृतिविरुद्धमा जनतामा एउटा नयाँ आन्दोलन, संस्कारको सुरुआत हुन थालेको महसुस हुँदै छ। यो युद्धमा मैले पनि हाम फालेको छु।  अपमानित र घेराबन्दी गर्ने काम भइरहे पनि त्यसलाई छिचोल्दै यो भूमिकामा आइएको छ। हामीसित चुनौती र अवसर दुवै छन्।’

थुप्रै अप्ठेरा एवं जटिलताबाट देश निर्माण हुने उनको भनाइ छ। माओवादीले खेलेको भूमिका र आन्दोलनको इतिहासले विकास गरेको नेतृत्वका कारण आज देशको नेतृत्व गर्न सम्भव भएको प्रधानमन्त्री प्रचण्डले बताए।

उनले विचार, वर्ग, राष्ट्र निर्माणका निम्ति संकल्प लिएर अगाडि बढेको उल्लेख गर्दै अब ठूलाठूला एक्सन हुने र त्यसको तरंग पनि ठूलै जाने दाबी गरे।

नीति तथा कार्यक्रम पारित गर्नुपर्ने र नागरिकतालगायत विषयको टुंगो लगाउनुपर्ने जिकिर गर्दै प्रधानमन्त्री प्रचण्डले कस्तो जनमत बनाउने भन्ने कुरा प्रेस सेन्टर नेपालको काँधमा रहेको र यसका लागि स्वयंसेवकका रुपमा नेतृत्वलाई साथ दिन आग्रह गरे।

उनले शंखरापुरको विकास गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले जनाए। स्व. कृष्ण सेन ‘इच्छुक’को योगदानको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले सेन बहुआयामिक र निष्ठावान् व्यक्ति भएको तथा क्रान्तिकारी विचारको पक्षमा रहने एउटा साहित्यिक स्रष्टा नेपाल समाजको प्रेरणाको स्रोत भएको बताए।

प्रकाशित: May 27, 2023| 14:10 शनिबार, जेठ १३, २०८०
प्रतिक्रिया दिनुहोस्