काठमाडौं– सरकारको नीति तथा कार्यक्रममा सांसदसँग प्रश्नोत्तर गर्ने दिन शुक्रबार बसेको प्रतिनिधिसभा बैठक प्रतिपक्षी एमालेका कारण अवरुद्ध भयो। एमाले सांसदले आफ्ना अध्यक्ष केपी ओलीलाई पशुपतिनाथमा चढाएको जलहरीका विषयमा सत्तारुढ माओवादी सांसदबाट व्यक्त विचारको विरोध गर्दै हिजो दिनैभर संसद् अवरुद्ध गरिरह्यो।
सभामुख देवराज घिमिरेले बेलुकी ६ बजे बोलाएको प्रतिनिधिसभा बैठकसमेत एमाले अवरोधका कारण बस्न सकेन। हिजो दुई–दुई पटक संसद् बैठक अवरुद्ध भएपछि आज प्रधानमन्त्री पुष्पकमल दाहालले संसद् खुलाउन प्रतिपक्षी ओलीसहितका एमाले नेताहरुले प्रशासनिक मुकाम सिंहदरबार बोलाएका थिए।
आजको सिंहदबार बैठकमा सत्तारुढ कांग्रेस, नेकपमा माओवादी केन्द्र र एमाले नेताहरुको जमघट थियो। बैठकमा जलहरीको विषयमा सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको छ। प्रतिनिधिसभाको बैठकअघि प्रधानमन्त्री प्रचण्डले सहमतिका लागि एमाले अध्यक्ष ओलीलाई बोलाएर सिंहदरबारमा बसेका हुन्।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमालेबाट प्रमुख सचेतक पदम गिरीलगायत सहभागी छन्।
पशुपतिनाथमा हालिएको सुनको जलहरीमा भ्रष्टाचार भएको आरोप लागेपछि एमालेका सांसदले गरेको अवरोधका कारण शुक्रबार विषय प्रवेश नगरी स्थगित प्रतिनिधिसभाको बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ।
यसअघिको संसद् बैठकमा नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले पशुपतिनाथको जलहारीमा सुन भनेर पित्तल राखेर ओलीले भ्रष्टाचार गरेको दाबी गर्दै छानबिन मागेका थिए।
उनको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन वा भ्रष्टाचार गरेको प्रमाण दिन माग गर्दै एमालेले संसद बैठक सुरु हुनेबित्तिकै अवरोध गरेको थियो। एमालेको निरन्तरको अवरोधपछि बैठक स्थगित भएको थियो।