बिहीबार, वैशाख १३, २०८१

एमाले सांसदको नाराबाजीका कारण संसद् बैठक स्थगित

 |  शुक्रबार, जेठ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

नेकपा एमालेका सांसदको नाराबाजीका कारण संसद् बैठक स्थगित भएको छ। एमालेले प्रतिनिधिसभा बैठकको नियमित कार्यसूचीमा अवरोध गरेपछि सभामुखले २० मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

triton college

हिजोको संसद् बैठकमा सत्ता पक्षका एक सांसदले पशुपतिनाथ मन्दिरको गजुरमा जलहरी लगाउँदा एमाले सरकारले भ्रष्टाचार भएको बताएपछि त्यसको विरोधमा एमालेले सदन अवरोध गरेको हो। ती सांसदले केपी ओली प्रधानमन्त्री भएका बेला पशुपतिमा सुनको भनेर नक्कली जलहरी हालिएको आरोप लगाएका थिए। माओवादीका सांसद लेखनाथ दाहालले एमालेप्रति लक्षित गर्दै 'पशुपतिमा सुनको जलहरी राख्ने भनेर पित्तलको जलहरी राखी भ्रष्टाचार गरेको' आरोप लगाएका थिए।

सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरु टेबुल बजाउँदै उठेका थिए। सभामुखले नियमित प्रक्रियामा जान अनुरोध गर्दा पनि सांसदहरु नबसेपछि त्यसपछि एमाले सचेतक पदम गिरीलाई सभामुखले समय दिएका थिए। गिरीले पशुपति मन्दिरको गजुरका विषयमा एमालेलाई आधारहीन आरोप सत्तापक्षीय सांसदले लगाएकोमा उक्त रेकर्ड हटाउनुपर्ने र सांसदले माफी माग्नुपर्ने अडान राखेका थिए।

‘एमाले नेतृत्वकाे सरकारले पशुपतिनाथमा सुनकाे साटाे पित्तल लगाएकाे भने आराेप लगाइएकाे छ। याे आरोप कसरी आएको छ? प्रमाण र तथ्यबेगर स्वीकार्य हुँदैन। यदि पशुपतिनाथको जलहरी सुन होइन पित्तल हो भने यो सरकारले जवाफ दिनुपर्छ। जवाफ नआएसम्म सदन अगाडि बढ्न सक्ने छैन। माफी माग्नुपर्छ र रेकर्डबाट हटाउनुपर्छ,’ गिरीले भने। 

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सदन अवरुद्ध गर्ने दलको रहर नभई जिम्मेवार दलका जिम्मेवार सांसदले लगाइएको मिथ्या आरोप गम्भीर भएको बताए। सत्ता पक्षका सांसदले आफूहरुलाई सुनको जलहरीको सट्टा पित्तलको चढाएर भ्रष्टाचार गरेको भनी गम्भीर आरोप लगाएको भन्दै दुःख व्यक्त गरे। सुनको जलहरी हो, होइन दूधको दूध पानीको पानी हुनेगरी छानविन गर्न उनले माग गरे।

corrent noodles
Metro Mart

सभामुख घिमिरेले आसन ग्रहण गर्न पटक–पटक आग्रह गर्दै बैठक संसदीय प्रक्रियाअनुसार अघि बढाउनका लागि सहयोग गर्न आग्रह गरेका थिए। सभामुखको आग्रह गरे पनि एमाले सांसदहरुले रोष्टम घेराउ गर्नुका साथै नाराबाजी गरेका थिए। करिब पाँच मिनेटको नाराबाजीपछि पनि सभामुखको आग्रह सुनुवाइ नभएपछि उनले २० मिनेटका लागि बैठक स्थगित भएको हो।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने र उठेका प्रश्नबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यक्रम थियो।

प्रकाशित: May 26, 2023| 12:44 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्