शुक्रबार, भदौ १३, २०८२

जनसंख्या वृद्धिका हिसाबले चितवन तेस्रो

 |  बिहीबार, जेठ ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ११, २०८०

vianetvianet

चितवन- २०७८ सालको जनगणनाअनुसार जनसंख्या वृद्धिका हिसाबले चितवन तेस्रो स्थानमा छ। पहिलोमा भक्तपुर, दोस्रोमा रूपन्देही र तेस्रोमा चितवन रहेको तथ्यांक कार्यालय चितवनले जनाएको हो।

Kumaribank

कार्यालयले बिहीबार आयोजना गरेको जिल्लास्तरीय नतिजा सार्वजनिक कार्यक्रममा कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीले यसबारे जानकारी दिएका हुन्। उनका अनुसार जिल्लामा २०६८ सालको जनगणनामा जनसंख्या वृद्धिदर २.०६ थियो। २०७८ सालमा २.०७ प्रतिशत छ।

त्यस्तै २०६८ सालको जनगणनामा जनघनत्व दुई सय ६१ प्रतिवर्गकिलोमिटर थियो। अहिले बढेर तीन सय २५ पुगेको छ। जिल्लाको जनसंख्या सात लाख १९ हजार आठ सय ५९ छ। तीमध्ये महिला तीन लाख ६८ हजार ७० र पुरूष तीन लाख ५१ हजार सात सय ८९ रहेको तथ्यांकले देखाएको छ।

२०६८ सालमा जिल्लाको जनसंख्या पाँच लाख ७९ हजार नौ सय ८४ थियो। पहिलेको तुलनामा एक लाख ३९ हजार आठ ७५ बढेका छन्।

परिवारको औसत आकार ४.१ रहेको भण्डारीले जानकारी दिए। जिल्लामा एक लाख ७९ हजार तीन सय ४५ परिवार बसोबास गर्दै आएका छन्। त्यस्तै स्थायी ठेगाना भएर धेरैजसो विदेश बसोबास गर्ने ४६ हजार आठ सय ६१ परिवारका ६५ हजार ६४ छन्। तीमध्ये पुरूष ५० हजार छ सय ५५ र महिला १४ हजार चार सय नौ छन्। सोह्र हजार चार सय ९६ अपांगता भएका व्यक्ति छन्। तीमध्ये आठ हजार सात सय ६७ पुरूष र सात हजार सात सय २९ महिला छन्। जिल्लाको साक्षरता दर ८३.६८ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।

Metro Mart

बाह्रौं राष्ट्रिय जनगणनाअनुसार जिल्लाको सबैभन्दा धेरै जनसंख्या भएको पालिका भरतपुर महानगरपालिका छ। भरतपुर महानगरमा मात्रै तीन लाख ६९ हजार दुई सय ६८ बसोबास गर्छन्। सबभन्दा कम इच्छाकामना गाउँपालिकामा २७ हजार छ सय ४३ बसोबास गर्दै आएको तथ्यांकमा उल्लेख छ।

यस्तै कालिका नगरपालिकामा ५२ हजार एक सय ६४, खैरहनी नगरपालिकामा ६७ हजार तीन सय ८५, माडी नगरपालिकामा ३८ हजार दुई सय ९५, राप्ती नगरपालिकामा ६६ हजार छ सय १७, रत्ननगर नगरपालिकामा ८९ हजार नौ सय पाँच रहेको कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले राष्ट्रिय जनगणनाको तथ्यांकले नीति निर्माणमा सहयोग पुग्ने बताए। यो तथ्यांकका आधारमा नीति निर्माण तथा विकास निर्माणमा सहयोगी बन्ने भन्दै उनले यस्ता तथ्यांकको सही सदुपयोग हुन आवश्यक रहेको बताए।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यस्ता तथ्यांकलाई अझै विस्तृत रूपमा केलाउन सके समाजको विकासमा सहयोगी बन्ने बताए।

प्रकाशित: May 25, 2023| 21:37 बिहीबार, जेठ ११, २०८०
प्रतिक्रिया दिनुहोस्