काठमाडौं- इलामका यामबहादुर कार्कीका धेरै साथीसर्कल विदेशमा छन्। साथीहरुको उन्नति-प्रगति उनी देख्छन्-सुन्छन्। उनलाई पनि साथीभाइले विदेश नबोलाएका हैनन्। यहीँ पनि घरपरिवार र साथीसर्कलले उनलाई विदेश जान हौस्याए। तर, यामबहादुर 'नेपालमा बसेर प्रगति हुँदैन' भन्ने मानसिकता राख्नेमा परेनन्।
केही वर्ष काठमाडौंमा अध्ययन र रोजगारी गरेपछि उनी जन्मथलो इलाम फर्किए। युवाशक्ति विदेशिएका कारण बाँझो बनेको जमिनलाई उपयोग गर्न सके कृषि उत्पादनले नै इलामलाई आत्मनिर्भर बनाउन सकिने सम्भावना देखे यामबहादुरले।
अध्ययन गर्दा उनले इलाममा पशुपालन व्यवसाय उत्तम हुने निष्कर्ष निकाले। त्यसमा पनि बाख्रापालन सबैभन्दा उपयुक्त लाग्यो। त्यसपछि उनले ‘अफ्रिकन बोयर’ जातको बाख्रापालन सुरु गरे। त्यसबाट उनलाई राम्रै आम्दानी भयो। व्यवसाय विस्तार गर्दै लगे। अरुलाई पनि सिकाउँदै उद्यमी उत्पादन गर्न थाले।
त्यहाँको जमिन कफी उत्पादनका लागि उपयुक्त हुने थाहा पाएपछि उनले कफी नर्सरी स्थापना गरे। गाउँका किसानलाई कफीका बिरुवा वितरण गरेर रोप्न लगाए र आफूले पनि रोपे। यामबहादुरकै प्रेरणा र अगुवाइमा अहिले ३ सय किसानले इलामको मान्सेबुङ र गजुरमुखी क्षेत्रमा कफी उत्पादन गर्छन्।
अनुग्रह ह्यान्डिक्राफ्ट'मा विभिन्न डिजाइनका ढाकाको कपडा बनाइन्छ। फरक-फरक बुट्टाका साडी, कुर्ता, सल, टोपी, कोट, टाइ, खास्टो लगायत उपलब्ध छन्। ग्राहकको मागअनुसार पनि तयार पारिन्छ। उद्यमी बन्छु भनेर कहिल्यै नसोचेकी पाँचथरकी कृष्णकुमारी पौडेलले अहिले प्रत्यक्ष रुपमा ३६ जनालाई रोजगारी दिएकी छन्। उनको उत्पादन अमेरिका, बेलायत, अस्ट्रेलिया, हङकङमा समेत नियमित निर्यात हुन्छ।
अनुग्रहका सबै कपडा हातैले बनाइन्छ। ललितपुरको नख्खीपोटमा कारखाना र पसल छ। कारखानामा दस वटा तान चलिरहन्छन्। तिनै तानमा विभिन्न डिजाइनमा ढाकाको कपडा तयार हुन्छ।
कृष्णकुमारी ढाका बुनाइको प्रशिक्षक पनि हुन्। पहिले छरछिमेक र साथीसंगीलाई मात्रै सिकाउँथिन्, अहिले व्यावसायिक तरिकाले कारखानामै सिकाउँछिन्। आफूले सिकेका कतिपय महिला उद्यमी भइसकेकोमा उनी खुसी छन्। 'मलाई आफूमात्रै उद्यमी बनुँ भन्ने कहिल्यै लागेन। धेरै महिला आत्मनिर्भर होउन् भन्ने लाग्छ। जबसम्म महिला आत्मनिर्भर हुँदैनन्, तबसम्म पुरुषको दमनमा बस्नुपर्ने बाध्यता हुन्छ। त्यसैले नेपाली समाज परिवर्तन गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सकारात्मक भूमिका निर्वाह गर्न चाहन्छु,' कृष्णकुमारी भन्छिन्।
हामी कुनै नयाँ ठाउँमा जानुपर्यो भने गुगल म्याप्स खोल्छौं। गुगल म्यापमा भएको ठाउँमा पुग्न यसले सहज हुन्छ। तर गल्ली-गल्लीमा पुग्न गुगल म्याप उपयोगी छैन। यही समस्या निराकरण गर्न राजविक्रम महर्जनको टिमले ल्यायो गल्ली म्याप्स। गुगल म्याप्समा नदेखिने गल्लीहरू म्यापिङ गरेर गल्ली म्याप्स निर्माण गरिएको हो। नेपालका लागि उपयुक्त हुने गरी नेपालीले नै बनाएको एप हो यो। महर्जनका अनुसार गल्ली म्याप्समा घर नम्बर खोज्न सकिन्छ। घर वा ठाउँलाई ३६० डिग्रीबाट हेर्न सकिन्छ। घरमा पिन गरेर आफ्नो लोकेसन अरूलाई सेयर गर्न पनि सकिन्छ।
राजविक्रमसहित अन्य दुई जना सहसंस्थापक रहेको कम्पनी एयरलिफ्ट टेक्नोलोजीले लकडाउनको समयमा यो आइडिया ल्याएको थियो। यसमा स्थानीय तहले दिएको घर नम्बर खोज्न सकिन्छ, जुन गुगल म्यापमा छैन। गुगल म्यापमा धेरै गल्ली र बाटोहरू मिसिङ छन्। त्यसले गर्दा मान्छे हिँड्ने बाटोमा गाडीको नेभिगेसन देखिएको हुन्छ। यस्ता समस्या गल्ली म्याप्सले समाधान गरेको छ। सुरुमा काठमाडौं उपत्यकाको म्यापिङ गरेको गल्ली म्याप्स टिमले विस्तारै बाहिर पनि पुग्ने योजना बनाएको छ।
माथिका तीनै उद्यमीहरुबीच एउटा साझा विशेषता छ। त्यो के भने उनीहरुको उद्यमलाई नबिल बैंकको 'नबिल स्कुल अफ सोसल आन्ट्रप्रेनरसिप' अर्थात् उद्यमशिलता कार्यक्रमले माइलेज दिएको छ।
इलामका यामबहादुर भन्छन्- नबिल एसएसईमा जोडिएपछि थाहा भयो- हामीसँग उत्पादन गर्ने सीप रहेछ तर व्यापारको सीप रहेनछ। वस्तु उत्पादन र व्यापार विल्कुल फरक काम र सीप रहेछन्। उत्पादन भएका वस्तुलाई व्यापार बनाउन पनि सीप चाहिँदो रहेछ। कामलाई निरन्तरता दिन, किसानको समूहलाई एकत्रित गर्न, गाउँलेलाई पनि आयआजर्नमा थप सरिक बनाउन छुट्टाछुट्टै सीप चाहिने रहेछ। यसअघि मलाई यी कुरा थाहा थिएन।'
नबिलले उनलाई व्यवसाय कसरी गर्ने भनेर सिकायो, सामाजिक उद्यमी हुन प्रेरित गर्यो। फेलोसिप कार्यक्रममा सहभागी भएपछि उनलाई धेरै विषय जान्ने, बुझ्ने र आफूमा निखार ल्याउने अवसर मिल्यो। उनी भन्छन्, ‘यसबाहेक पनि नबिल बैंकले सामाजिक उद्यमीलाई बैंकबाट ऋण कसरी लिने, केके डकुमेन्ट चाहिन्छ भनेर सबै कुरा सिकाउँछ। सामाजिक उद्यमीको उद्यम विकासलाई असाध्यै समर्थन गर्छ।’
नबिलको तालिम लिएपछि यामबहादुर बाख्रापालन र कफी उत्पादनमा मात्रै सीमित रहेनन्। गाउँमा किसानले उत्पादन गरेको नौनी घिउ पनि ब्रान्डिङ गरेर काठमाडौंमा बजारीकरण गरिरहेका छन्। अन्य केही परियोजना सुरु गर्ने तयारीमा छन्। उनी अन्य उद्यमीलाई पनि अध्ययन र सम्भावना हेरेर मात्र व्यवसाय गर्न सल्लाह दिन्छन्। रहरले एकै पटक लाखौं खर्चेर उद्यम गर्नुभन्दा पहिला केही हजार खर्चेर अध्ययन गर्नुपर्ने उनले बुझेका छन्।
कृष्णकुमारी पनि नबिल एसएसईकी फेलो हुन्। यो तालिमबाट व्यवसाय प्रवर्द्धनबारे धेरै कुरा सिकेको उनले सुनाइन्। उनले महिलाहरूको उद्यम तथा व्यवसाय विस्तारका निम्ति नबिल बैंकले कम ब्याजदरमा दिने 'सामाजिक उद्यमशिलता ऋण' पनि लिइन्। यो ऋण उनले आफ्नो उद्यम विस्तारमा लगाएकी छन्। आफ्नो बजार विस्तार गर्न एसएसई निकै फलदायी भएको छ उनका लागि। साथै धेरैभन्दा धेरै महिलालाई उद्यमी बनाउन पनि प्रेरणा मिलेको छ। पहिले सानो टिममा काम गर्ने भए पनि बैंकको कार्यक्रममा सहभागी भइसकेपछि व्यवसाय विस्तार गरेको उनले सुनाइन्।
गल्ली म्याप्सका राजविक्रमले पनि नबिल बैंकको सामाजिक उद्यमशिलता कार्यक्रममा सहभागी हुने मौका पाए। याे कार्यक्रमले धेरै सहयोग गरेको उनको अनुभव छ। ‘नबिल बैंकको सामाजिक उद्यमशिलता फेलोसिप नेपाललाई सुहाउँदो कार्यक्रम हो,’ उनले भने। गल्ली म्याप्सले २०७९ सालको आईसीटी अवार्डसमेत पाएको छ।
के हो नबिल एसएसई ?
नबिल बैंकले दुई वर्षअघि सुरु गरेको सामाजिक उद्यमशिलासम्बन्धी कार्यक्रम हो 'नबिल एसएसई'। बैंकले यस कार्यक्रममार्फत उद्यम गर्न चाहनेहरुलाई तालिमका साथै मेन्टरसिप पनि प्रदान गर्दै आएको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालित यो कार्यक्रमलाई स्कुल अफ सोसल आन्ट्रप्रेनरसिप इन्डियाको प्राविधिक सहयोग रहेको छ।
नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीका अनुसार उद्यमशिलताको माध्यमबाट सामाजिक समस्याहरुको दीर्घकालीन समाधान गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालनमा ल्याइएको हो। उद्यम गर्न चाहने वा गरिरहेका १८ देखि ५० वर्षसम्मका व्यक्ति यसमा सहभागी हुन पाउँछन्। पहिलो ब्याचमा विभिन्न क्षेत्रमा नवीनतम सोच भएका २० जना छनोट भएकोमा १३ जनाले कोर्ष पूरा गरेका थिए।
बैंकले तालिम अवधिभर (६ महिना) र त्यसपछिको ६ महिना गरी एक वर्षका लागि सबै सहभागीलाई मेन्टरको व्यवस्थासहित व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि सहयोग गर्दै आएको छ। कार्यक्रममार्फत समाजमा सकारात्मक परिवर्तन ल्याएर दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकको विश्वास छ। यसमा सहभागी हुन कुनै शुल्क तिर्नु पर्दैन। आफ्नो उद्यम सुरु गरिसकेका वा आइडिया भएका जोसुकैले यसमा आवेदन दिन सक्छन्। आवेदकबाट सुरुमा सर्टलिस्ट गरी अन्तर्वार्ता लिएर सहभागी छानिन्छन्। अहिले दोस्रो ब्याच छनोट भएर तालिमको चरणमा छन्।
फेलोसिप ६ महिनाको भए पनि तालिममा सहभागीलाई मेन्टरहरूले एक वर्षसम्म गाइड गरिरहन्छन्। यसले गर्दा उक्त अवधिमा विषयविज्ञसँग व्यवसायको अवस्था, आइपर्ने समस्या र त्यसको समाधानका बारेमा छलफल गर्ने प्रशस्त मौका प्राप्त हुन्छ। तालिममा सहभागीले गरेको उत्पादनलाई नबिल बैंकले विभिन्न आयोजना र आफ्नो पहुँच भएका विभिन्न प्रदर्शनीहरूमा समेत समावेश गरेर बजार विकास र विस्तारको अवसर प्रदान गर्दै आएको छ।
फेलोसिपका लागि खुला आह्वान गरेर देशभरबाट आवेदन संकलन गरिन्छ। तीमध्येबाट छानिएका उत्कृष्ट २० जनालाई एक वर्षे उद्यमशिलता तालिम कार्यक्रम सञ्चालन बैंकले गरिरहेको छ। यो कार्यक्रम केन्द्रमा मात्र सञ्चालित भए पनि नबिलले देशका सातै प्रदेशमा सर्टिफिकेट तहको अर्को कार्यक्रम सुरु गरेको छ, जसमा सातै प्रदेशका विभिन्न क्याम्पससँग सहकार्य गरी पाठ्यक्रम निर्माण गरिएको छ। यस कार्यक्रममार्फत एक प्रदेशमा एक सयका दरले सात प्रदेशमा सात सय नयाँ उद्यमी बनाउने लक्ष्य रहेको डेपुटी सीईओ ज्ञवालीले बताए। यो भने फेलोसिप नभएर सर्टिफिकेट कोर्ष हो।