सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थमन्त्री महत र एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता

अर्थमन्त्री महत र एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता

 |  सोमबार, जेठ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ८, २०८०

काठमाडौं- मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा प्रकाशशरण महतसँग भेटवार्ता गरेको छ। 

National life

भेटका क्रममा एमसिसीले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल विकास समितिअन्तर्गत अघि बढाइरहेका परियोजना कार्यान्वयनको समग्र स्थितिबारे छलफल भएको अर्थमन्त्री महतको सचिवालयले जनाएको छ। 

एमसिसी सम्झौता कार्यान्वयनमा जाने मिति (अगस्त २०२३) नजिकै आएको र यो कार्यान्वयनमा गएको मितिले पाँच वर्षभित्र आयोजना सम्पन्न गरिसक्नुपर्ने सन्दर्भमा यसको पूर्वतयारीका अवस्थाका बारेमा जानकारी लिन एमसिसीका पदाधिकारीको भ्रमण भएको सचिवालयले बताएको छ। 

भेटघाटका क्रममा एमसिसी नायब उपाध्यक्ष ब्रुक्सले आयोजनाको जग्गा प्राप्ति, खरिद प्रक्रिया जस्ता पूर्वतयारीका काममा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरे। त्यसैगरी, सम्झौता कार्यान्वयनमा जानुपूर्व सम्पन्न भइसक्नुपर्ने बाँकी कार्यका बारेमा पनि दुवै पक्षबीच विस्तृत छलफल भएको जनाइएको छ। 

भेटका क्रममा अर्थमन्त्री डा महतले यो आयोजना पूर्वनिर्धारित समयावधिभित्रै सम्पन्न भई नेपालको आयोजना व्यवस्थापनमा उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गर्नाका साथै आयोजना चक्रमा आउने महत्त्वपूर्ण विषयहरूलाई कानूनको प्रक्रिया पूरा गरी यथाशीघ्र टुङ्ग्याउने प्रतिबद्धता जनाए। मन्त्री डा महतले एमसिएअन्तर्गतका आयोजनाको सफलता अन्य आयोजनाका लागि पनि अनुकरणीय हुने विचार व्यक्त गर्दै एमसिसीका पदाधिकारीलाई नेपाल भ्रमण गरी छलफल गरेकामा धन्यवाद व्यक्त गरे।

एमसिसी नायब उपाध्यक्ष ब्रुक्सले यसअघि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गर्दै आयोजनाको जग्गा प्राप्तिमा सहजीकरणका लागि आग्रह गरेका थिए।

मिलेनियम च्यालेन्ज नेपाल अकाउन्ट विकास समितिमार्फत करिब तीन सय १५ किलोमिटर चार सय केभी डबल सर्किट प्रसारणलाइन र करिब तीन सय पाँच किलोमिटर रणनीतिक सडक सञ्जाल विस्तार तथा मर्मतसम्भार परियोजनामा काम भइरहेको छ।
 

प्रकाशित: May 22, 2023| 21:22 सोमबार, जेठ ८, २०८०
प्रतिक्रिया दिनुहोस्