सोमबार, वैशाख २८, २०८३

सांसदको प्रश्न आउट भएकोमा रघुजी पन्तको आपत्ति

 |  बिहीबार, जेठ ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ४, २०८०

नेकपा एमालेका सांसद रघुजी पन्तले संसद् बैठकमा सांसदहरुले प्रधानमन्त्रीलाई सोध्न लागिएका प्रश्नहरु आउट भएकोमा आपत्त जनाएका छन्।

National life

प्रतिनिधिसभामा जारी सांसद-प्रधानमन्त्री प्रश्नोत्तरका क्रममा उनले बरु स्कुल-कलेजका परीक्षाको प्रश्न आउट हुँदा फरक नपर्ने तर प्रधानमन्त्रीलाई सांसदले सोध्ने प्रश्न आउट हुन नहुने तर्क गरे। 

पन्तले भने, 'सांसदहरूले सोध्ने प्रश्न संसद्‍मा सोधिनुअघि नै कसले आउट गर्‍यो ? सांसदले प्रश्न नसोध्दै अखबारमा आउनु उपयुक्त होइन। आइन्दा यसरी प्रश्न बाहिर नपुर्‍याइयोस्।'

जवाफमा प्रधानमन्त्री प्रचण्डले आफूले दिने उत्तर पनि आउट भएको भए त संसद् बैठक नै बस्नु पर्दैनथ्यो भनेर व्यंग्य गरे।

सांसद पन्तले प्रधानमन्त्रीलाई ‘ह्यान्डसम र खाइलाग्दो देखिएको’ भन्दै कटाक्ष पनि गरे। पन्तले भने, ‘पाँच महिनापछि प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउने सुदिन आएको छ। प्रधानमन्त्रीज्यूलाई हेर्न विशेष समयमा बोल्नुपर्‍यो, आकस्मिक समयमा पनि बोल्नुपर्‍यो। प्रधानमन्त्रीसँग छलफल गर्न पाइयोस् भनेर पटक पटक आग्रह गरियो। जिरो आवरमा प्रधानमन्त्री कहाँ हुनुहुन्छ भनेर खोज्नुपर्ने, सूचना जारी गर्नुपर्ने अवस्था पनि आयो।’

उनले थपे, ‘आज धेरै दिनपछि देखेर हो कि मेरो आँखालाई भ्रम परेको त होइन होला। प्रधानमन्त्रीज्यू बडो ह्यान्डसम ह्यान्डसम देखिनुभएको छ। झन् दौरा सुरुवाल लगाएर होला- निकै खाइलाग्दो देखिनुभएको छ। कामना छ- भोलिका दिनमा जनता पनि प्रधानमन्त्री जस्तै छिट्टै खाइलाग्दा होऊन्।’

त्यसपछि पन्तले आफ्नो प्रश्न राखे, जुन भारतसँगको सम्बन्धका विषयमा थियो। जवाफ दिने क्रममा प्रधानमन्त्रीले आफूलाई ह्यान्डसम भनेकोमा धन्यवाद दिए। ‘माननीय सदस्यले मेरो अलि धेरै नै प्रशंसा भनौं कि व्यंग्य भनौं, म धेरै खाइलाग्दो त देखिएको छैन। मेरो तौल घटिरहेको छ। देख्दा तपाईंले राम्रो देख्नुभएको छ। त्यसका लागि तपाईंको आँखालाई पनि धन्यवाद’, प्रधानमन्त्रीले भने।

प्रकाशित: May 18, 2023| 14:12 बिहीबार, जेठ ४, २०८०
प्रतिक्रिया दिनुहोस्