भैरहवा- सन् २०१९ को जुन २८ सम्म निर्माण सम्पन्न गरी सोही वर्षको सेप्टेम्बरसम्म गौतमबुद्ध विमानस्थल भैरहवामा अन्तराष्ट्रिय उडान भर्ने तयारीका साथ निर्माण सुरु गरिएको राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध विमानस्थल भैरहवाको कार्यप्रगति ५५ प्रतिशत मात्रै सकिएको छ।
सरकारले भैरहवास्थित विमानस्थल सन्चालन भएसँगै त्यहाँ आउने-जाने यात्रुलाई भैरहवा लुम्बिनी आवतजावत गराउने ध्ययेले विद्यूतिय बस सेवा सन्चालन गर्नेगरी काठमाण्डौंमा त्यसको शुभारम्भ गरिरहदा विमानस्थलमा भने निर्माण कार्य सन्तोषजनक हुन नसकेको हो। बुधबार मात्रै लुम्बिनी भैरहवामा चलाउने गरी विद्यूतिय बस सेवाको काठमाण्डौंमा अभ्यास शुरु गरिएको छ।
निर्माणको मुख्य ठेक्का पाएको चिनियां कम्पनी नर्थवेस्ट सिभिल कन्सट्रक्सन ग्रुप लिमिटेड चाइनाले असार यता खासै द्रुततर गतिमा काम गर्न सकेको छैन। असार मसान्तसम्म ५० प्रतिशत काम भएकोमा साउन , भदौं र असोज महिनामा जम्मा ५ प्रतिशत भौतिक प्रगति देखिएको छ।
कन्सलट्यान्टको जिम्मा पाएको युसीन कोरियन कन्सलट्यान्ट र आयोजना क्यानले संयुक्त रुपमा मूल्यांकन गर्दा हालसम्म अहिलेको कार्यप्रगति ५५ प्रतिशत देखिएको आयोजनाका निमित्त प्रमुख प्रवेश अधिकारीले जानकारी दिए।
३ महिनामा जम्मा ५ प्रतिशत काम देखिनुको कारण सबै कामको फिनीसिंङ नहुनु रहेको उनको तर्क छ। अधिकारीले भने , ‘काम दिनरात भईरहेको छ। आउने सोमबारबाट पेचिङको काम पनि सुरु हुन्छ। तीन महिनापछि मासिक ४ प्रतिशत कार्यप्रगति हुनेछ। किनकी धेरैजसो फीनिसिङ सकिदैं जान्छ ।’

विगतमा चिनीया कम्पनी र नेपाली कम्पनीबीच विवाद हुँदा विमानस्थल निर्माण कार्यले तिव्रता लिन सकेको थिएन तर चिनीया पक्षले केही महिना पहिले म्यानेजर परिवर्तन गरेसंगै काम रातदिन भएको हो। तथापी कामले अझै गति लिन सकेको छैन। चिनीया सरकारले कम्पनीको म्यानेजरको रुपमा सू वैगलाई पठाएको छ।
‘सबै मूल्यांकन गर्दा भौतिक प्रगति ५५ प्रतिशत र आर्थिक प्रगति ३५ प्रतिशत भएको छ। ’, अधिकारीले भने।
विमानस्थलजमा धावनमार्गको वेस कोर्षको काम सम्पन्न भएको छ। टर्मिनल विल्डिङको अराईभल पार्ट अन्तिम तल्लाको ढलान सम्पन्न भएर फीनिसिङ हुँदैछ। डिपार्चर पार्टको अन्तिम तल्लाको ढलान पनि सम्पन्न भएको छ। प्रशासकीय भवनको निर्माण कार्य पनि पुरा भएको छ। कन्ट्रोल टावरको ८ तल्लामध्ये ६ तल्लासम्म र पार्किङस्थलको काम पनि सकिएको छ। नाला, ट्याक्सी वे र लिंक वेका काम भईरहेका छन।
आयोजनाको अनुसार बाँकी ५५ प्रतिशत काम मध्ये २५ प्रतिशत विद्यूतिय काम र २० प्रतिशत अन्य सिभील काम बाँकी छ। कुल ६ अरब २२ करोड ५१ लख ३० हजार २ सय २७ रुपैयां ९१ पैसा लागतमा निमार्ण सम्पन्न गरी चिनीया सरकारी कम्पनी नर्थ वेस्टले ठेक्का पाएको हो। अहिले सम्म ५५ प्रतिशत काम सम्पन्न गरिरहँदा ठेकेदार पक्षले ३५ प्रतिशत रकम लगिसकको छ।
सरकारले आयोजनाका निमित्त प्रमुखबाट काम चलाईरहेको छ। लामो अनुभव संगालेका इन्जिनियर ओम शर्मालाई सरुवा गरेसँगै काममा सुस्तता आएको हो। शर्मा हाल निजगढमा छन्। उनको ठाउमा नयाँ प्रमुख पनि आएका छैनन। निमित्तकै भरमा राष्ट्रिय गौरवको आयोजना चलिरहेको छ ।
६ अर्को लगानी
भैरहवामा रहेको गौतमबुद्ध विमानस्थललाई धेरैले भैरहवा एयरपोर्ट भनेर चिन्ने गर्दछन्। घरेलु विमानस्थलको रुपमा रहेको यो विमानस्थलको स्तोरोन्नती गर्ने भन्दै औपाचारिक रुपमा २०७१ साल माघ १ गते बिहीबारका दिन तत्कालिन प्रधानमन्त्री स्वर्गीय शुसील कोइरालाले शिलान्यास गरेपछि एकाएक यो विमानस्थल गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको रुपमा परिचित हुन थालेको हो।
मुलुकको एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग र क्षमताले धान्न नसकेपछी सरकारले वैकल्पीक विमानस्थलको रुपमा भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई स्तोरन्नती गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन सुरु गरेको हो। सन् २०१४ को डिसेम्बर ३१ मा कार्यदेश पाई त्यसै अनुरुप विमानस्थलको स्तरोन्नतीको कामको लागि सन् २०१७ जनु २ भित्र निर्माण सम्पन्न गर्नेगरी टेन्डर आव्हान गरिएको थियो।
मल्टीनेशनल रुपमा आव्हान गरिएको बोलपत्र अनुसार ५ चीनिया र २ स्पेनिस ठेकेदारहरुले बोलपत्र भरे पनि चीनिया ठेकेदार कम्पनी नर्थ वेस्ट सिभील एभीएशन एअरपोर्ट कन्सट्रक्शन ग्रुपले टेन्डर पारी आवश्यक सम्झौता गरी निर्माण कार्य गत ०७१ को माघ १ देखी सुरु गरेको हो। कुल ६ अर्ब २२ करोड ५१ लख ३० हजार २ सय २७ रुपैयां ९१ पैसा लागतमा निमार्ण सम्पन्न गरी नर्थ वेस्टले ठेक्का पाएको हो। त्यसपछि पुनः सन् २०१८ जनवरी १ सम्मको लागि म्याद थप भएको थियो। तर, थपिएको म्यादमा काम सम्पन्न नभएपछि हालसालै २०१९ को जुन २८ सम्म म्याद थप गरिएको छ।
विगत
अहिलेको गौतमबुद्ध विमानस्थल विक्रम सम्बत २०११ सालतिर पुर्व प्रधानमन्त्री डा के आइ सिंह र काशिप्रसाद श्रीवास्तवको पहलमा निर्माण भएको हो। शुरुवातमा भैरहवाको शान्तिनगरमा रहेको विमानस्थल २०२०-०२१ सालताका हालको ठाउँमा स्थानान्तरण भएको इतिहासको जानकार बालकृष्ण भट्टराईले बताए।
भट्टराइका अनुसार तत्कालिन समयमा करिब १० विगाह क्षेत्रफलमा फैलिएको शान्तिनगरको विमानस्थलबाट भैरहवा पोखरा र भैरहवा काठमाण्डौं उडान हुने गर्दथ्यो।
विमानस्थल परिसर कच्ची भएपनि पक्लिहवामा रहेको बिट्रीस क्याम्पले बाहिरी बाटो भने पीच गरिदिएको थियो। पछि ०२१ सालतिर हालको ठाउँमा विमानस्थल स्थानान्तरण भएपछि पुरानो स्थानमा भैरहवा बहुमुखी क्याम्पस, संस्कृत विद्याश्रम र संघीय प्रहरी इकाइ लुम्बिनी कार्यलय स्थापना भएको हो।
तत्कालिन समयमा शान्तिनगरमा विमानस्थल हुँदा भैरहवाबाट पोखरा निर्माण सामाग्री लिएर जाँदै गरेको टकोटा विमान दुघर्टना भएको थियो। त्यो नेपालको इतिहासमा पहिलो विमान दुर्घटना पनि हो।
दश हजार रोपनी क्षेत्रफल
०२३ सालदेखी नियमित उडान भर्दै आएको भैरहवास्थित गौतमबुद्ध विमानस्थलको स्वामित्वमा पर्याप्त जग्गा छ। ०६१ साल अघिसम्म ८४ बिगाह ३ कठ्ठा रहेकोमा ०६३ सालमा २ सय १३ बिगाह ४ कठ्ठा १५ दशमलब ७५ धुर थप भएको थियो। हाल थप ५ सय विगाहको मुआब्जा वितरण भईरहेको छ। यसरी निर्माणाधीन गौतमबुद्ध विमानस्थलको जग्गाको स्वामित्व ७ सय ८७ बिगाह ७ कठ्ठा १५ दशमलब ७५ धुर हुनेछ।
अहिलेसम्म पोखरामा ३ हजार ७ सय रोपनी, काठमाण्डौंमा ७ हजार रोपनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सन्चालन भइरहँदा भैरहवामा बन्ने विमानस्थल १० हजार रोपनीमा बन्ने भएको हो। नयाँ थपिएको जग्गामा राडर, सुरक्षा, ह्यांगर, कार्गो, आयल निगमको डिपो, अध्यागमन, मर्मतसम्भार क्षेत्र, क्याटरिंङ, अर्को पार्किंङ स्थल र अझै एउटा टर्मिनल बिल्डिङ बन्नेछन्।
यो क्षेत्रफलले आगामी ५० वर्षसम्म अन्तर्राष्ट्रिय स्तरको उडान भर्ने क्षमता राख्ने विमानस्थल आयोजनाको दाबी छ। दैनिक ८-९ वटा नियमित उडान भरिरहेको गौतमबुद्ध विमानस्थलमा अहिलेसम्म सबैभन्दा ठूलो फोकर हन्ड्रेड १ सय ५ सिट क्षमताको कस्मिक एयरको जहाजले उडान भरेको देखिन्छ।
निर्माणको ठेक्का पाएको नर्थ वेस्ट सिभिल एभिएशन एयरपोर्ट कन्सट्रक्शन ग्रुपले ठेक्का लिई सबकन्ट्रयाक्टरको रुपमा नेपाली ठेकेदार कम्पनी नर्थवेस्ट नेपाल ईन्फा प्रालिलाई २०७२ साउनदेखी आन्तरिक सम्झौता गरी सम्पुर्ण निर्माण कामको ठेक्का दिएको थियो। तर उनीहरुबीच लेनदेनको विवाद हुँदा धेरै समय काम समेत रोकिएको थियो। जसका कारण काममा समेत ढिलाई भयो। नेपाल सरकारले समेत यस विषयमा धेरै चासो दिएपछि अहिले चिनीया कम्पनीले चाइनादेखी नै मजदुर लिएर धमाधम काम गराईरहेको छ ।
स्थानीय हर्षित
गौतबुद्ध विमानस्थल अन्तराष्ट्रिय स्तरको बन्ने कार्य सुरु हुनुमा मुख्यतयाः बुद्ध जन्मस्थल लुम्बिनी भएको देखिन्छ। एडिबीको दक्षिण एशियाली पर्यटन पुर्वाधार विकास आयोजनाले विश्व पर्यटनको केन्द्र लुम्बिनीलाई मध्यनजर गरी भैरहवा विमानस्थलमा लगानी गर्ने आँट गरेको हो ।
विमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाउने कार्यमा एडिबीले ४० दशमलब ५ प्रतिशत, साउदी अरबको साउदी फन्ड (ओएफआइडी) बाट ३० दशमलब ५ प्रतिशत, एडिबीको अनुदान १८ प्रतिशत र नेपाल सरकारको ११ प्रतिशत तथा करसमेत गरी लागत बेहोर्ने गरी निर्माण कार्य सुरु भएको हो ।

नेपालमा अहिले विमानस्थलको चर्चा धेरै हुन थालेको छ। कहिले निजगढ, कहिले भैरहवा त कहिले पोखरा विमानस्थलाई अन्तर्राष्ट्रिय बनाउने भन्ने घोषणा भईरहेका छन्। यसको अतिरीक्त ५ नम्बर प्रदेशमा मात्रै कुरा गर्ने हो भने प्युठानको चाल्नेटार र गुल्मीको सीमिचौरमा पनि घरेलु उडान भर्नेगरी विमानस्थल बनाउने प्रक्रिया शुरु भएको छ।
नेपाल भारत सीमा नजिक भएकोले गोरखपुर लखनऊसम्मका भारतीयहरुले पनि गौतमबुद्ध विमानस्थलाई प्रयोग गर्ने अपेक्षा गरिएको छ। यसरी हेर्दा गौतमबुद्ध विमानस्थलका प्रयोगकर्ता भारतीय र नेपालीगरी कम्तिमा ३३ करोड स्थानीय हुने देखिन्छ।
पर्यटन प्रबर्द्धनमा टेवा
अन्तर्राष्ट्रिय नागरिक उड्यन प्राधिकरण (आईकाउ) को कोड फोर ई का अनुसार ३ हजार मिटर धावनमार्ग भएको विमानस्थलमा बोईंग ७७७ सम्मका जहाजहरु अर्थात चौडाई ५२ मिटर देखि ६४.९९ मिटरसम्मका जहाजहरुले उडान र अवतरण गर्न सक्छन्।
आयोजनाले दाबी गरेअनुसार काम भएमा २०१९ को सेप्टेम्बरमा सिधैं अन्तराष्ट्रिय विमानको उडान र अवतरण हुनेछ। भैरहवाको विमानस्थलमा अन्तर्राष्ट्रिय जहाज आउन थालेपछि यस क्षेत्रको मुहार फेरिनेछ। सामाजिक र आर्थिक रुपमा मात्रै नभई राजनितीक रुपमा पनि सबल र सक्षम बन्न टेवा पुग्नेछ। यहांका पर्यटन क्षेत्र र पर्यटन व्यवसायी मात्रै नभएर सामन्य पान बेच्ने व्यापारीदेखी ठूला-ठूला पर्यटन व्यवसायी प्रत्यक्ष लाभान्वित हुनेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४