जनकपुरधाम- मिथिला क्षेत्रमा पान, मखानको पर्वको रुपमा चिनिने कोजाग्रत पूर्णिमा बुधबार मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मालम्वीहरु भगवानलाई पान, मखान र मिठाईले पूजाआजा गर्ने गर्दछन्।
कोजाग्रत पूर्णिमाको दिन जनकपुरको जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्ने गरिन्छ। महोत्तरीको रतौलीबाट उपहार स्वरुप आएको एक सय एक भार (कोसेली) विभिन्न समाग्रीहरु जानकी मन्दिरमा आउने प्रचलन अनुसार यसपटक पनि आएको छ। कोसेलीमा विभिन्न प्रकारका मिष्ठान, फलफुल, दही, लुगालगायतका समाग्रीहरु रहने गरेको छ। वर्षौंदेखि महोत्तरीको रतौलीबाट कोजाग्रत पूर्णिमाको दिन भार पठाउने परम्परो छ।
कोजाग्रत पूर्णिमाको अवसरमा साँझ भगवानलाई मन्दिरको गर्भगृहबाट बाहिर प्राङगणमा राखेर विशेष नाचगान र पूजा गर्ने परम्परा रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले बताए।
हिन्दू धर्मावलम्वीहरुले कोजाग्रत पूर्णीमाको दिन घरघरमा पनि भगवानलाई पान, मखान तथा मिठाईले पूजा गर्ने गर्दछन्। खासगरी मैथिल ब्राम्हण, कायस्थलगायतका जातिमा यस अवसरमा नवविवाहिताहरुको घरमा माइतीबाट पान, मखान, मिठाईलगायतका सामग्रीसहित भार पठाउने परम्परा छ।
स्वर्गमा समेत नपाउने पान मखान मिथिलामा मात्र पाइने पौराणीक मान्यता छ। भगवान राम ससुराली जनकपुरमा रहेको बेला पूर्णिमाको दिन पान, मखान खाएको जनविश्वास सहित कोजाग्रत पूर्णिमालाई यस क्षेत्रमा विशेष महत्वका साथ हेर्ने गरिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४