ललितपुर- मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको विद्युतीय बस कुन रुटमा चलाउने भन्ने टुंगो लागेको छैन। बस व्यवस्थापनको जिम्मेवारी पाएको साझा यातायातले बस दर्ता भएपछि नै रुटको तय हुने बताएको छ ।
केही दिनभित्रै बस दर्ता भइसक्ने साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए। उनले भने, “दर्ता भएपछि नै कुन ठाउँमा आवश्यक छ हेरेर त्यो रुटमा चल्नेछ ।” काठमाडौँ उपत्यकाको नगर क्षेत्रमा बस चल्ने उनले बताए।
एशियाली विकास बैंकले पाँच वटा बस लुम्बिनी क्षेत्र विकास कोषलाई अनुदान सहयोगमा दिएको हो । चिनियाँ निर्माण कम्पनी विवाइडीले बस निर्माण गरेको हो। यी बस केही समयका लागि मात्रै काठमाडौँ उपत्यकामा चल्नेछ।
बस व्यवस्थापनको जिम्मेवारी साझा यातायातले लिएको छ। लुम्बिनीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भएपछि बस लुम्बिनी लगिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकामा हामीले नै यी बस सञ्चालन गर्नैछौँ।”
कुल २९ जना यात्रु क्षमता रहेको बस अपाङ्गतामैत्री समेत रहेको पाण्डेयले बताए। यो बसमा ‘लिफ्ट सिस्टम’ हुँदा ‘ह्विलचेयर’ सजिलै चढाउन र ओर्लन सकिने छ। उनले भने, “बस सबै यात्रुका लागि सजिलो खालको छ।”
विद्युतीय बसको प्रयोगले वातावरण सफा बनाउने हुँदा जनस्वास्थ्यमा समेत सकारात्मक असर गर्ने उनले बताए। विद्युतीय बससँगै अरु विद्युतीय सवारीलाई प्रोत्साहन गर्नका लागि नेपाल विद्युत् प्राधिकरणसमेत लागेको छ । बीस ठाउँमा ‘चार्जिङ स्टेशन’ स्थापना गर्न प्रक्रिया थालेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४