काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै कार्यालय सिंहदरबारमा १० दलीय सत्ता गठबन्धन दलको बैठक बोलाएका छन्।
५ जेठमा पेस गर्न लागिएको सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको हो।
प्रचण्डले सरकारमा रहेका र सरकारलाई समर्थन गरेका १० दलका नेतालाई बैठकमा सहभागी हुन निम्तो दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।
सरकारले ५ जेठमा नीति तथा कार्यक्रम र १५ जेठमा आर्थिक वर्ष २०८०÷८१ को बजेट ल्याउने तयारी गरिरहेको बेला सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो।
गठबन्धनमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा, लोसपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आमजनता पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत आबद्ध छन्।
प्रधानमन्त्री प्रचण्डले पार्टीभित्र, सत्तारुढ दल र प्रतिपक्षसहित सबैको सुझाव समेट्ने गरी आगामी नीति तथा कार्यक्रम ल्याउन लागेकाले बैठक बोलाएको प्रेस सल्लाहकार आचार्यले जानकारी दिए।