काठमाडौं– अर्थमन्त्री एवं कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीमाथि पछिल्लो समय भइरहेका टीकाटिप्पणी अनुचित रहेको बताएका छन्।
नक्कली शरणार्थी प्रकरणमा आफ्नै पार्टी वा अरु जुनसुकै दलका नेताहरूको संलग्नता देखिए पनि कडा कारबाही हुनुपर्ने अडानमा कांग्रेस रहेको उनले दाबी गरेका हुन्।
पछिल्लो गतिविधि र पार्टीमा उत्पन्न परिस्थितबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले नक्कली शरणार्थी प्रकरणलाई लिएर सत्ता समीकरण फेरबदल हुने अवस्था नरहेको जानकारी दिए।
नक्कली शरणार्थीको धन्धा चलाएर ठगीमा संलग्नमाथि जुनसुकै पार्टीका मान्छे भए पनि कारबाही गरिनुपर्ने कांग्रेसको अडान रहेको उनले बताए।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वसांसद आङटावा शेर्पासहितले अनुसन्धानमा सघाउने बताएको उनको भनाइ छ। ‘बालकृष्ण खाँणले अनुसन्धानमा सघाउनुहुन्छ। दोषी निर्दोष हुने, निर्दोष दोषी हुने कुरा ठीक होइन।’ कांग्रेस दोषीलाई बचाउनुपर्छ भन्दैन,’ उनले भने।
पत्रकार सममेलनमा नेता महतले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री खाणपत्नी मञ्जुबारे भने पार्टी जानकार नरहेको स्पष्ट पारे।
नक्कली शरणार्थी प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवापत्नी आरजुसमेत मुछिएको अडियो सार्वजनिक भइसकेको छ। तर आरजुले आफू यो प्रकरणमा नमुछिएको दाबी गर्दै आएकी छन्।
प्रहरीले घटनाबारे सूक्ष्म अध्ययन गरिरहेको जनाएको छ। नक्कली शरणार्थी प्रकरणमा आरजुको नाम सार्वजनिक भए पनि आधिकारिक रुपमा पार्टी सभापति देउवा, कांग्रेसले केही प्रतिक्रिया दिएका छैनन्। तर भ्रातृ संस्था नेपाल महिला संघ भने नक्कली शरणार्थी प्रकरणमा आरजुलाई मुछिएको भन्दै रिसाएको छ।