रुकुम- रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा १७ महिनापछि पुनः उडान सुरु भएको छ । नेपाल वायु सेवा निगमले बुधबारबाट नियमित उडान सुरु गरेको हो ।
हप्ताको दुई पटक बुधबार काठमाडौँ–चौरजहारी–नेपालगञ्ज तथा बिहीबार नेपालगञ्ज–चौरजहारी–काठमाडौँ उडान भर्ने गरी हवाई सेवा शुरु भएको चौरजहारी विमानस्थलका स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले जानकारी दिए ।
उडान शुरु भएको पहिलो दिन चौरजहारीबाट एक बिरामीसहित आठजनाले नेपालगञ्ज सम्मको हवाई यात्रा गरेका छन्। झण्डै डेढवर्षपछि यहाँको हवाई सेवा सञ्चालनमा आउँदा स्थानीय र सर्वसाधारण खुशी भएका छन् । लामो समयदेखि रोकिएको चौरजहारी विमानस्थल पुनः सञ्चालनमा आएपछि रुकुम पश्चिमलगायत छिमेकी जिल्ला जाजरकोट, सल्यान र डोल्पाका नागरिकलाई सहज हुने भएको छ ।
यसअघि नेपाल वायुसेवा निगमसँग पर्याप्त जहाज र पाइलट नभएको भन्दै चौरजहारी विमानस्थलको हवाई सेवा गत वर्षको जेठ अन्तिम सातादेखि बन्द भएको थियो । बन्द हवाई सेवा सञ्चालनका लागि जिल्लाका सरोकारवाला निकाय, स्थानीय सरकार तथा निर्वाचित जनप्रतिनिधिले सम्बन्धित पक्षसँग पहल गर्दै आएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४