काठमाडौ- राजधानीबाट प्रकाशित बुधबारका अधिकांश राष्ट्रिय दैनिक अखबारहरुले प्रचण्डले प्रदेश २ लाई दिएको चेतावनीलाई मुख्य समाचार बनाएका छन् ।
विजयादशमी, दिपावली तथा छठ पर्वको अवसरमा नेकपा प्रदेश २ कमिटीद्धारा मंगलबार जनकपुरमा अयोजित चियापान कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारले ओभरटेक गर्न खोजे दुर्घटना हुने चेतावनी दिएका हुन् । उनले संघीय सरकारले भन्दा अगाडी प्रदेश २ ले ल्याएको प्रहरी ऐनका विषयमा आपत्ति जनाउदै संघीय सरकारलाई उछिनेर प्रदेश सरकार अघि बढे दुर्घटना हुने चेतावनी दिएका हुन् ।
प्रदेश २ ले प्रहरी ऐन पारित गरेको सन्दर्भमा उनले संघीय सरकारले समयमै प्रहरी ऐन नल्याउँदैमा उछिनेर प्रदेशले हचुवाको भरमा कानुन ल्याउनु गलत भएको टिप्पणी गरेका थिए । उनले प्रदेशहरु निकम्मा भइदिओस् भन्ने धेरैको चाहना छ, त्यो गति तर्फ प्रदेश सरकार अघि नबढोस भनेर समेत सचेत गराएका छनर । उनको चेतावनीले प्रदेश २ नयाँ राजनीतिक तरङ्ग ल्याएको आजका पत्रपत्रिकाले लेखेका छन् ।
यसै विषयलाई मुख्य समाचार बनाउँदै कान्तिपुर दैनिकले प्रदेशलाई दाहालको चेतावनीः ओभरटेक गरे दुर्घटना शीर्षकमा खबर छापेको छ । नागरिक दैनिकले मुख्यमन्त्रीलाई दाहालको चेतावनीः ओभरटेक नगर्नुस् दुर्घटना होला शीर्षकमा खबर लेखेको छ । नयाँ पत्रिका दैनिकले प्रदेश प्रहरी ऐनको विवादः ओभरटेक गरे दुर्घटना हुने प्रचण्डको चेतावनी शीर्षकमा खबर छापेको छ ।
यो विषय बाहेक आजको नयाँ पत्रिकाले नेपाली कांग्रेसमा चलेको सभापतिलाई शक्तिशाली बनाउने बहसका विषयमा मुख्य समाचार छापेको छ । सभापति शक्तिशाली बनाउने प्रस्तावमा पौडेल–सिटौला पक्षको असहमती शीर्षकमा समाचार लेखेको नयाँ पत्रिकाले आफू बाहेकका सबै पदाधिकारी मनोनीत गर्ने गरी सभापतिलाई शक्तिशाली बनाइए नेतृत्व निशकुंश बन्ने उल्लेख गरेको छ ।
सस्थापनको योजना रोक्न पौडेल पक्ष छलफलमा जुटेको छ भने मिश्रित प्रणालीको पक्षमा सुझाब बढेपछि सभापति शेरबहादुर देउवा दबाबमा परेको समाचारमा जनाइएको छ ।
यस्तै नयाँ पत्रिकाले नेपाल प्रहरीले राष्ट्रसंघीय मिसनमा पठाउने महिला प्रहरीको संख्या बढाएर २० प्रतिशत पुर्याएको विषयलाई विशेष महत्वका साथ छापेको छ। काठमाडौंमा विद्युतिय बस गुड्न थालेको खबरलाई पनि उसले पहिलो पृष्ठमा प्रकाशित गरेको छ।
आजको अन्नपूर्ण पोस्ट्ले भने खानेपानीमा मच्चाइएको ब्रह्मलुटलाई मुख्य समाचार बनाएको छ । सत्तारुढ दल नेकपाले एकता नटुंगिँदा विपक्षी बलियो बनेको निष्कर्ष निकालेको र चिनिया जनमुक्ति सेनाले नेपाली सेनालाई दिदै आएको सहयोग ५० प्रतिशतले बढाएको खबरलाई पनि विशेष महत्वका साथ छापेको छ ।
कान्तिपुरले संविधानसंग बाझिएका कानुन अबको साढे ४ महिना भित्र संसोधन गरिसक्नु पर्ने भएपनि सरकारले अझै मस्यौदा नबाएर आलटाल गरेको विषय र काठमाडौंमा बिजुली बस चल्न थालेको विषयलाई पहिलो पृष्ठमा महत्वका साथ छापेको छ । नागरिक दैनिकले विद्युतिय बस चल्न थालेकै विषयलाई मुख्य समाचार बनाउँदै विद्युतिय बसमा प्रधानमन्त्री सरर शीर्षकमा खबर लेखेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४