सोमबार, वैशाख २८, २०८३

शंकर कँडेलले न्याय पाउनुहुन्छ : मन्त्री गुरुङ

 |  आइतबार, वैशाख ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३१, २०८०

चितवन- स्व शंकर कँडेलले न्याय पाउने नेपाली कांग्रेसका नेताहरूले बताएका छन्। नेपाली कांग्रेस चितवन क्षेत्र नं ३ ले आज भरतपुर महानगरपालिका–८ स्थित कँडेल निवासमा आयोजना गरेको शोक सभामा बोल्दै कांग्रेसका नेताहरूले यस्तो बताएका हुन्।

National life

सभामा बोल्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले स्व कँडेललाई अन्याय हुन नदिने बताए। उनले भने, ‘परिवारले दिएको किटानी जाहेरीमा रहेका दोषीले उन्मुक्ति पाउने छैनन्।’ किटानीमा उल्लेख भएकाले उन्मुक्ति पाउने गरी छानबिन नहुने उनको भनाइ थियो। नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका मन्त्री गुरुङले अहिलेको अवस्थामा उत्तेजना र भावनामा बगेर नभई गम्भीर भएर छानबिन गरिने बताए।
कँडेलको निधनले चितवनवासीलाई मात्रै नभएर सिङ्गो कांग्रेसलाई क्षति भएको उनको भनाइ थियो। उनको निधनले सिंगो व्यावसायिक क्षेत्रसमेत मर्माहत बनेको भन्दै मन्त्री गुरुङले परिवारको साथमा कांग्रेस रहेको बताए।

सभामा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कँडेलको निधनको विषयमा उठेका कुराहरूमा कानूनसम्मत छानबिन हुने बताए। उठेको विषय कानूनसम्मत तवरले छिनोफानो नहुँदासम्म नेपाली कांग्रेससँगै उभिने बताए। किटानी जाहेरीमा परेका व्यक्तिहरूलाई पक्राउ गर्न सरकारलाई कांग्रेसले दबाब दिइरहेको उनको भनाइ थियो। 

किटानी जाहेरी परेका व्यक्ति अनुसन्धानको दायरामा आउनुपर्छ भन्ने कांग्रेसको मान्यता रहेको उनले बताए। पार्टीलाई केही दिन्छु भनेर हिँडेका व्यक्तिहरूलाई न्याय दिँदै पार्टीमा आएर केही कमाउँछु भन्ने प्रवृत्तिलाई दण्डित गर्ने गरी कांग्रेस लागेको उनको भनाइ थियो। उनले भने, ‘पार्टीभित्र आएर दुई पैसा कमाउन खोज्ने प्रवृत्ति मौलाउँदै गएको यो समयमा शंकरजी जस्ता मान्छे अट्ने ठाउँ बनाउन आवश्यक छ।’ अपराधमा संलग्नहरूलाई कानरूनी दायरामा ल्याउन आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उमा रेग्मी, नेकपा (माओवादी केन्द्र) की पोलिटब्यूरो सदस्य रेनु दाहाल, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, नेपाली कांग्रेस चितवन क्षेत्र नं ३ का क्षेत्रीय सभापति लालबहादुर दवाडी र स्व कँडेलका भाइ युवराज कँडेललगायतले  बोलेका थिए।

व्यवसायी एवं नेपाली कांग्रेसका महासमिति सदस्य कँडेलले यही वैशाख १९ गते आफ्नै कार्यालयमा देहत्याग गरेका थिए। बाउन्न वर्षीय कँडेलले केही महिनाअघि आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको शेयर प्रदीप रुङ्टालाई  बेचेका थिए। शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र सोही कम्पनीका चार्टर्ड एकाउन्टेन्ट जीवन रावलले मानसिक दबाब दिएको उनको सुसाइड नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ।

प्रकाशित: May 14, 2023| 19:12 आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्