काठमाडौं- पछिल्लो समय सुनको मूल्यमा वृद्धि भएसँगै यसको कारोबारमा कमी आएको छ। गत वर्ष बडादशैंमा दैनिक ५० किलो सुनको कारोबार भएकामा यस पटक दैनिक करीब ३० किलो कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो वर्ष घटस्थापनादेखि फूलपातीसम्म सुनको दैनिक माग करीब ५० किलो भए पनि सोहीअनुसारको आपूर्ति भई सन्तुलन कायम भएको थियो। अहिले सोही समयमा बजारमा सुनको मागभन्दा आपूर्ति अत्यधिक रहेको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए।

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मूल्य बढेको तथा नेपाली रुपैयाको अवमूल्यन हुँदै गएकाले पनि सुनको मूल्य निरन्तर बढेको छ। यसको मूल्य क्रमिक रुपमा बढेका कारण सर्वसाधारणको पनि आकर्षण घटेको पाइएको छ।
यस वर्ष बडादशैंको अवधिमा रत्न तथा आभूषणको कारोवार पनि अघिल्लो बडादशैँको तुलनामा ४० प्रतिशतले कम भएको नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष ज्योत्स्ना श्रेष्ठले जानकारी दिइन्। बजारमा छापावाला सुन प्रतितोला ६० हजार कायम भई मंगलबार कारोवार भएको छ। गत बडादशैँमा भने सोको प्रतितोला ५४ हजारमा कारोबार भएको थियो।




प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४