काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारी निवास बालुवाटार पुगेर भेटेका छन्।
नागरिक प्रकरणमा सांसद पद गुमेर पुनः नागरिकता सदर गराई १० वैशाखको उपनिर्वाचनमा सांसद बनेका रविलाई प्रधानमन्त्री प्रचण्डले लगातार भेटिरहेका छन्। प्रधानमन्त्री प्रचण्डलाई भेट्न रवि बिहान ८ बजे बालुवाटार पुगेका थिए।
भेटमा सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएकामा प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिएको उनको सचिवालय बताएको छ।
लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भ्रष्टाचारको फाइल खोलेकामा धन्यवाद दिए। लामिछानेको धन्यवाद लिनासाथ प्रधानमन्त्री प्रचण्डले उही पुरानै राग सरकारमा आउन आग्रह गरे। यसबारे लामिछानेले कुनै प्रतिक्रिया दिएनन्।
लामिछानेको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले भने, ‘अरू धेरैका फाइल खोल्छौं। तपाईं पनि सरकारमा आउनुस्। रास्वपा सरकारमा आए काम गर्न झनै सहज हुन्छ।’
सभापति लामिछानेले आफू सरकारमा नभए पनि प्रधानमन्त्रीबाट भ्रष्टाचारविरुद्ध चालिएकामा कदममा साथ दिने प्रतिबद्धता जनाएका छन्।