वामदेव गौतम नेपाली राजनीतिका एउटा चर्चित र लोकप्रिय पात्र हुन् । राजनीतिक उथलपुथलका हरेक घुम्तीमा उनी भाइरल भूमिकामा प्रकट हुन्छन् । उनीसँग अनेक प्रकरण र कान्ड जोडिएका छन्। उनी एउटा पात्र मात्र होइनन्, एउटा प्रवृत्ति हुन् र बेलाबेलामा त्यो प्रकट हुन्छ वामदेव पराकम्पका रुपमा । अनि त्यो पराकम्पले एमाले र अहिले नेकपा मात्र होइन, समग्र राजनीतिलाई नै तरंगित गर्छ ।
काठमाडौं ७ बाट वामदेवलाई चुनाव लडाउने योजना तत्कालका लागि रोकिएको छ। पछिल्लो वामदेव पराकम्प अहिले मत्थर भएको छ। तर रोकिएको हो कि सकिएको हो ? अनुमान गर्न पनि कठिन छ । वामदेवको पछिल्लो पराकम्पलाई बुझ्न विगतका उनका केही प्रकरणहरु हेरौं।
तत्कालीन एमालेभित्र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गोप्य साँठगाँठ भएको भनिएका वामदेव गौतम २०६४ सालको निर्वाचनमा माओवादीका उम्मेदवारबाटै बर्दिया १ मा पराजित भए। त्यो पनि चार हजार भन्दा बढी मतान्तरले। उनी चुनाव हारे लगतै नेपालगन्जबाट जाहाज चढेर राजाधानी आए। हारको गुनासो गर्न उनी तत्कालीन एमाले महासचिव माधवकुमार नेपाललाई भेट्न गएनन्। बरु एयरपोर्टबाट उनी सिधै प्रचण्ड निवास पुगे र आफूले माया गर्ने माओवादीले नै आफूलाई हराएको गुनासो गरे। प्रचण्डले थामथुम पारे। प्रचण्डले पनि गौतम हारेकोमा आफुलाई पनि दुःख लागेको भने र दुवै नेता हिक्कहिक्क गरे अनि गौतम फर्किए।
अनि संविधानसभाको निर्वाचन २०७० मा गौतमले बर्दिया १ छाडे। उनी प्युठान १ तर्फ हानिए । चुनाव जिते र संसदमा छिरे। त्यसपछि उनको प्रचण्डसँग उठबस थप बाक्लियो । कतिपय नेता तथा कार्यकर्ताले गौतमलाई माओवादीबाट एमालेमा काज खटाएका नेताका रुपमा समेत टिप्पणी गरेका थिए। उनको यो शैलीको तत्कालीन एमाले नेताहरु माधव नेपाल र केपी ओलीले सार्वजनिक रुपमा कडा आलोचना गर्ने गरेका थिए।
एमालेको बुटवलमा सम्पन्न पार्टीको आठौ महाधिवेशनमा झलनाथ खनाल र केपी ओली अध्यक्षका उम्मेदवार उठे। कसलाई जिताउने भन्नेमा कांग्रेस र माओवादीभित्र पनि एक खालको चिन्ता र तनाव थियो । माओवादी इतर पक्ष चाहन्थ्यो ,त्यो महाधिवेशनबाट ओली अध्यक्ष होउन्। तर माओवादी नेताहरु चाहन्थे खनाल अध्यक्ष होउन् । वामदेव गौतम पनि त्यो बेला खुलेर खनालको पक्षमा लागेका मात्र होइनन् उनको समूहबाट उपाध्यक्ष चुनाव जिते।
माधव नेपाल नेतृत्वको सरकारविरुद्ध आन्दोलनमा थियो तत्कालीन माओवादी। नेपाल नेतृत्वको सरकार प्रभुले बनाएको भन्दै नेपाल सरकार गिराउन एक साता राजधानी केन्द्रीत आन्दोलनमा थियो माओवादी। यसमा पनि प्रचण्ड गौतमको अर्को साँठगाँठ सार्वजनिक भयो। गौतम नेतृत्वमा तत्कालीन एमालेका ६९ नेताहरुले सार्वजनिक रुपमा विज्ञप्ति प्रकाशित गरेर नेपालको राजिनामा मागेका थिए।
यी सबै घटनाले गौतम जतिसकै बेला जताबाट पनि प्रयोग हुने चन्चल पात्र हुन् भन्ने देखाउँछ। गौतम जसबाट प्रयोग हुन्छन् उप्रति इमान्दार रहन्छन् । उनी टसमस गर्दैनन्। बिगतका घटनाहरुले यसलाई प्रमाणित गरेको छ। कुनै सांसदलाई राजीनामा गराएर आफु उपनिर्वाचन लड्ने योजनापछाडि उनको निजी महत्वकांक्षा मात्र छैन, एउटा डिजाइन नै जोडिएको छ ।
काठमाडौं ७ को रामकहानी
पछिल्लोपल्ट नेकपा नेता गौतमले काठमाडौ ७ बाट निर्वाचन लड्ने इच्छा व्यक्त गरेपछि राजनीतिमा एक किसिमको तरंग उत्पन्न भयो । सो क्षेत्रबाट निर्वाचित सांसद रामवीर मानन्धरगौतमा लागि आफू राजीनामा गर्न तयार रहेको पत्र समेत पार्टीमा बु्झाएका थिए। तर आइतबार बसेको नेकपा सचिवालयको बैठकले राजिनामा दिनु नपर्ने निर्णय गरिसकेको छ। यसबाट गौतमको सासद बन्ने अर्को योजना पनि तत्कालका लागि रोकिएको छ ।
काठमाडौमा चुनाव लड्ने वामदेवको योजनाप्रति अध्यक्ष ओली पक्षका नेता तथा कार्यकर्ता नै असन्तुष्ट भएका थिए। ओली निकट मानिएका नेकपा काठमाडौ जिल्ला कमिटीले त गौतमलाई चुनाव लड्न उक्साउनु नियोजित षडयन्त्र भएको भन्दै पार्टीमा लिखि असहमति जनाएको थियो। मानन्धरले राजीनामा दिनुपर्ने पार्टीले निर्णय गरेपछि कृष्णराईले यसको खुलासा गरेका हुन् ।
राईले फेसबुकमा लेखेका छन् ‘माननीय रामवीर मानन्धरको सांसद पदबाट “राजीनामा“ प्रकरणमा काठमाडौंका आम पार्टी कार्यकर्ता खासगरी क.रामवीरलाई सांसद बनाउन महत्त्वपूर्ण योगदान र्पुयाउनु भएका जनता रकार्यकर्ताहरुको सुझावका आधारमा (नेकपा) काठमाडौं जिल्ला पदाधिकारी बैठकले गरेको निर्णयानुसारको सुझाव पार्टीका दुबै अध्यक्षहरु र महासचिवलाई पेस गरेका थियौं ।
हामीले (नेकपा)काठमाडौं जिल्ला कमिटीका लागि प्रस्तावित सदस्य क.रामवीरलाई जनतालाई धोका दिन नहुने भन्दै राजीनामा फिर्ता गर्न र पार्टी सचिवालयलाई पार्टीका बाँकी तल्ला कमिटीहरुको निर्माण छिटोभन्दा छिटो गरेर “समृद्ध नेपाल र सुखी नेपाली“बनाउने योजनामा सबै कार्यकर्ता र जनताको ध्यानाकृष्ट गराउन हतार भएको बेलामा कसैको व्यक्तिगत महत्वाकांक्षा पुरा गर्ने नाममा कुनै हिसाबले गर्नुपर्ने भनेर पुष्टि गर्नै नसकिने उपनिर्वाचन (बेमौसमी बाजा बजाउन नहुने ) गराउन नहुने निर्णय सुझावका रुपमा पेस गर्ने निर्णय गरेका थियौं ।
(नेकपा) काठमाडौं जिल्ला पदाधिकारी बैठकले यो प्रकरण (नेकपा) गठन प्रक्रियालाई पूर्ण बन्न नदिने र जनताले क.केपी ओली सरकारलाई देश बनाउन दिएको दुई तिहाई जनमतको अनादर गर्ने कतैको नियोजित षड्यन्त्र पनि हुनसक्ने प्रति नेतृत्वको गम्भीर ध्यानाकर्षण गराउने समेत निर्णय गरेको थियो
के रोकिएको हो वामदेव पराकम्प?
आइतबार नेकपा सचिवलय बैठकले गौतमका लागि काठमाडौ ७ खाली नगराउने निर्णय गरेको छ । वामदेवलाई अर्को कुनै क्षेत्रमा उपनिर्वाचन लडाउने योजना फेरि अर्को आवरणमा प्रकट हुने आशंका गरिएको छ। ओलीको विकल्पको रुपमा वामदेवलाई अघि सार्ने र एकीकरण प्रक्रियालाई बिथोल्ने डिजाइन अन्तर्गत यो चलखेल भइरहेको नेकपाकै नेताहरु बताउँछन्। यसमा भूराजनीतिक गन्धसमेत मिसिएको छ। खासगरी पछिल्लो समयमा दक्षिण छिमेकी ओलीसँग त्यति प्रशन्न हुन नसकिरहेको अवस्थामा वामदेव पराकम्प गइरहनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
यसअघि पनि वामदेव हुम्ला, दैलेख र बर्दियाबाट उपचुनाव लड्ने चर्चा चलेको थियो । जनस्तरको आलोचना र नागरिक दबाबका कारण वामदेव पछाडि हटेका थिए । तर उनी अझै हरेश खाएका छैनन्
२०७३ साल कातिक १७ गते भारतका तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गर्दा दुईवटा निमन्त्रणापत्र बोकेर आएका थिए। एउटा पत्र थियो नेपालका राष्ट्रपतिलाई भारत भ्रमणको निम्तो। अनि अर्को पत्र थियो पूर्व प्रधानमन्त्रीको हैसियतमा माधवकुमार नेपाललाई भारत भ्रमणको निम्तो। राष्ट्रपतिलाई निम्तो त्यो सामन्य थियो। तर नेपालको निम्तो सामन्य थिएन। त्यस भित्र अनेक क्टिल चालको प्रयास थियो। तत्कालीन एमाले भित्र दक्षिण प्रभाव विस्तारको एउटा डिजाइनका रुपमा त्यसलाई हेरिएको थियो । यस बिषयमा अध्यक्ष ओली र नेपालबीच विवाद मात्र भएन, भनाभन नै चल्यो ।अन्तिममा नेपालले भारत भ्रमण गरेनन् । एमाले भित्र चल्ने त्यो खेलमा थोरै भए पनि धक्का लागेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४