काठमाडौं- बुधबार साँझ बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकमा पार्टी केन्द्रीय सदस्य बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने प्रस्ताव आए पनि कुनै निर्णय भएन।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाण पक्राउ परिसकेको अवस्थामा पार्टीले निलम्बन गरेर जानुपर्ने कुरा राखे पनि त्यस विषयमा धेरै छलफल भएन।
सभापति शेरबहादुर देउवाको अस्थायी निवास धुम्बाराहीमा ३ घण्टा चलेको बैठकमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा पूर्व गृहमन्त्रीसमेत रहेका खाण मुछिएको र पक्राउसमेत परेको सन्दर्भमा छलफल भएको थियो।
बैठकमा नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरिसकेको प्रसंग निकाल्दै महामन्त्री थापाले खाणलाई पनि निलम्बन गर्नुपर्ने बताएका थिए। तर सभापति देउवा यसबारे नबोलेपछि बैठकमा आन्तरिक विषयमा छलफल भएको थियो। मुख्यगरी बैठकमा विभाग र भ्रातृ संस्थालाई पूर्णता दिनेबारे छलफल भएको प्रवक्ता प्रकाशशरण महतले बताए।
खाण पक्राउबारे उनले भने, ‘उहाँले अनुसन्धानलाई सहयोग गरिरहनु भएको छ। कतै फरार हुनुभएको छैन। बालकृष्णजीले आफैँले अनुसन्धानलाई सहयोग गर्छु भन्नुभएको छ। अनुसन्धान परिपक्व होस्, पछि पार्टीले कुनै निर्णय गर्नुपरे त्यसैबेला गर्छ।’
पूर्व पदाधिकारी सहित आज पनि बैठक राखिएको छ। आजको बैठकले खाणबारे के निर्णय होला भन्ने चासो धेरैलाई छ।