काठमाडौं- नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ। बैठक एमाले केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।
बैठकका एजेण्डा पार्टीको सचिवालयल बैठकले यसअघि नै तय गरिसकेको छ। केन्द्रीय कमिटी बैठकमा ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा गर्ने एमालेको तयारी छ।
केन्द्रीय कमिटी बैठक आजदेखि तीन दिन (३० गते)सम्म चल्ने एमालेले जनाएको छ।
बैठकमा समसामयिक विषयमा पनि छलफल हुनेछ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेता पनि मुछिएपछि बैठकमा यसबारे पनि छलफल हुनेछ। पक्राउ पुर्जी जारी भए पनि एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छैनन्। रायमाझीको विषयमा पनि बैठकमा छलफल हुने नेताहरू बताएका छन्। रायमाझीलाई एमालेले निलम्बन भने गरिसकेको छ।
सुरूमा बैठक झापाकाे दमकमा बस्ने तय भएकाे थियाे। तर, संसद् बैठकमा सहभागी हुन कठिन हुनेलगायत कारण देखाउँदै बैठक केन्द्रीय कार्यालय च्यासलमै बस्ने एमालेले निर्णय गरेकाे थियाे।